एमाले-माओवादी एकता : यसरी हुँदैछ सहमति

काठमाडौं, १ फागुन- पार्टी एकता अन्तिम चरणमा पुगेको चर्चा भइरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार पुनः छलफल हुने भएको छ । साँझ हुने छलफलको स्थान भने तय भइनसकेको माओवादी स्रोतले बतायो ।

सामूहिक नेतृत्व गर्नेगरी प्रचण्ड र ओलीबीच सोमवार धेरै विषयमा सहमति भएको दुई दलका नेताहरुले जनाएका छन् । दुवैजना अध्यक्ष या दुवैजना सहअध्यक्ष रहने गरी पार्टी एकताको तयारी भएको बताइएको छ ।

सरकारको नेतृत्व ओली र पार्टीको काम प्रचण्डले गर्नेछन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने विषयमा समेत दुई नेताबीच सहमति भइसकेको छ ।

मंगलवार दिउँसो पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले एकताको निर्णय मंगलवार नै टुंगिने बताएका थिए । एमाले अध्यक्ष ओलीले नेपालको राजनीतिक परिवर्तनमा माओवादी सशस्त्र जनयुद्धको भूमिका स्वीकार गरेकोेले पार्टी एकता सहज बनेको प्रचण्डले बताए ।

‘फेरि एउटा महान अभियानको नेतृत्व गर्ने अवसर आएको छ, यो अवसरलाई संस्थागत गर्न र गुम्न नदिन सबैलाई अपिल गर्छु । बरु त्यसको सक्रियातपूर्वक नेतृत्व गरौं,’ प्रचण्डले भने, ‘नेतृत्व दिनुपर्छ भनेर पाइने होइन, आफ्नो सक्रियता, क्षमता, त्याग र तपस्याद्वारा लिनुपर्ने कुरा हो ।’

साथै उनले जनयुद्ध दिवसकै दिन एकता प्रक्रिया टुंग्याउने आफूहरुको कोशिस रशेको बताए । माओवादीले जनयुद्ध शुरु गरेको दिनका अवसर पारेर फागुन १ मा जनयुद्ध दिव मनाउने गरेको छ ।

‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको ऐतिहासिक महत्त्व र भूमिका छ भनेर ओलीजीले पनि स्वीकार्नुभएको छ,’ उनले भने, ‘आजकै दिन पार्टी एकतालाई टुंग्याउन सकियो भने मलाई खुशी हुन्छ भनेर मैले भनेको छु, हाम्रो कोशिस छ सकेसम्म आज नै टुंगोमा पुगोस् ।’

नेतृत्वमा ७०/३० को रेसियोमा समायोजन गर्ने दुई नेताहरुबीच मोटामोटी सहमति भएको छ । एकसय जनाको केन्द्रीय समिति बनाउने र त्यसमा एमालेका ७० र माओवादी केन्द्रका ३० जना रहने गरी छलफल भइरहेको स्रोतले बतायो ।

‘नयाँ सरकार बन्नुअगावै पार्टी एकता टुंगाउने तयारी छ,’ माओवादीका एक नेताले भने ।

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस