छात्रासँगै शिक्षिकाहरू समेत बेहोश, तीन हप्तादेखि विद्यालय बन्द

जाजरकोट, १ फागुन – छात्राहरु सहित शिक्षिका सामेत बेहोश हुन थालेपछि जाजरकोटको नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ ।  विद्यालयमा छात्राहरु एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाइ भइरहेको समयमा विद्यार्थीहरु एकाएक काम्ने, कराउने बेहोश हुने गरेपछि पढाइ सञ्चालन गर्न नसकिएको विद्यालयका प्रअ हुमप्रकाश सिंहले बताए । दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।


 कक्षा ५ देखि माथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको छ । विद्यालयमा बिहान केही नहुने, र अपराह्न १ बजेपछि छात्राहरु कराउँदै बिरामी हुने गरेको सिंहले बताए । विद्यालयमा यस्तो समस्या आउँदा धामी र डाक्टर ल्याएर उपचार गर्दासम्म समस्या हल नभएपछि तनाव सिर्जना भएको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणबहादुर खत्रीले जानकारी दिए । 

 विद्यालयमा छात्रासँगै शिक्षिकाहरु समेत बिरामी भएर बेहोश भएको उनले बताए ।
 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस