टोंगाको संसद् भवन आँधीमा ध्वस्त

फागुन १, २०७४

काठमाडौं, १ फागुन — प्रशान्त महासागर क्षेत्रमा रहेको देश टोंगाको संसद् भवन मंगलवारको खराब आँधीमा परी पूर्णतः ध्वस्त भएको छ । 

साइक्लोन गिता नामक क्याटेगोरी ४ आँधीले उक्त टापु देशमा व्यापक क्षति गरेको छ । 

बिजुलीका तारहरू लडेका छन् अनि घरका छतहरूलाई चर्को हावाले उडाएको छ । 

आँधी आउनुअघि सरकारले संकटकाल घोषणा गरेको थियो अनि मानिसहरूलाई बस्नका लागि शिविरहरू बनाएको थियो । मानिसहरू सोमवार राति त्यहीँ बसेका थिए । 

‘आँधी डरलाग्दो थियो । चर्को आवाजमा त्यसको आवाज आइरहेको थियो । हामीहरूले छत उडेको सुन्यौं,’ प्रत्यक्षदर्शी मेरी फोनुयाले रेडियो न्युजील्यान्डलाई बताइन् । 

‘मैले मानिसहरूलाई सडकपारि देखें । उनीहरूको घरको छत घरवरिपरि नाचिरहेको थियो र चुँडिनै आँटेको थियो । धेरैजना हिजो राति असाध्यै अत्तालिएका थिए ।’

टोंगामा विगत ६० वर्षमा आएको यो सर्वाधिक खतरनाक आँधी हो । टोंगा १७० वटा टापुहरू मिलेर बनेको देश हो र यो प्रशान्त महासागरमा फिजीको पूर्वपट्टि र न्युजील्यान्डको उत्तरतिर पर्छ । 

टोंगाको संसद् भवन सय वर्षभन्दा पुरानो छ । सांसदहरू अब कहाँ बस्ने हुन् भन्ने टुंगो छैन । 

बीबीसीबाट

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस