सरकारमा दुईतिहाइको कसरत : यस्तो तयारीमा प्रम ओली

फागुन १०, २०७४

काठमाडौं, १० फागुन-  प्रधानमन्त्री केपी ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः आजै (बिहीबार) विस्तार गर्ने योजना बनाएका छन्।

एमाले अध्यक्ष ओली माओवादी केन्द्रको साथ लिएर फागुन ३ मा प्रधानमन्त्री बनेका थिए। त्यसयता सरकार गठनका लागि तयारी गरे पनि मन्त्रालयको भागबन्डा, संख्या र आकांक्षीको दबाबका कारण उनलाई सकस परिरहेको छ। प्रधानमन्त्री ओली सकभर उपेन्द्र्र यादव नेतृत्वको संघीय फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा छन्। त्यसका लागि उनले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहेका छन्।


ADVERTISEMENT

सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै यादवलाई बोलाई सरकारमा आउन संयुक्त आग्रह मात्रै गरेनन्, बुधबार दुई पार्टीका प्रतिनिधिबीच औपचारिक छलफल नै गराएर सरकारमा आउन प्रस्ताव राखेका छन्।

सरकार विस्तारमा उपेन्द्रको पार्टीको निर्णयसमेत ओली अहिले पर्खेर बसेका छन्। यादवले सकारात्मक प्रतिक्रिया दिए मन्त्रिपरिषद्को संख्या केही तल–माथि गरेरै भए पनि सरकारमा ल्याउने तयारीमा ओली रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

फागुन १०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस