भारतीय कांग्रेसका नेता भन्छन्– नेपालको राजनीतिबाट भारत पूरै हट्नुपर्छ

काठमाडौं, ११ फागुन — भारतमा विपक्षी दल कांग्रेसका नेता मणिशंकर अय्यरले एनडीटीभीको अन्लाइन संस्करणमा बिहीवार एउटा लामो लेख प्रकाशित गर्दै नेपाललाई भारत र चीनबीचको पुल बनाउनुपर्ने बताएका छन् । 
उनको लेखको भावानुवाद यसप्रकार छ :

२०७२ सालको असोज महीनामा मोदी सरकारले आफ्नो बेइज्जती मात्र गराएन, नेपालमा भारतको राष्ट्रिय स्वार्थलाई पनि ध्वस्त पा–यो । 

उत्तरतिरको छिमेकी नेपालप्रति हामी सुरक्षा र ऊर्जाको आवश्यकतामा निर्भर छौं । यो निर्भरता पारस्परिक छ । 

सुझबुझपूर्ण नेपालनीतिले नेपालका तर्फबाट पनि त्यस्तै दृष्टिकोण राख्न सहायता गर्छ । एक्काईसौं शताब्दीमा दुवै देश बराबर छन् । दुई देशबीचको साझेदारीलाई हामीले थप विस्तार गर्नुपर्छ ।

नेपालसँगको सम्बन्ध हाम्रो विदेशनीतिको सबभन्दा प्रमुख प्राथमिकता हुनुपर्छ । यसलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्नुपर्छ र नेपाली जनताले हामीलाई विश्वास गरून् र हामीसँग एक्यबद्धता गरून् भनी सुनिश्चित गर्नुपर्छ । 

ऐतिहासिक रूपमा हामी आफ्ना स्वार्थलाई प्रवर्द्धन गर्नका लागि नेपाली कांग्रेसमा भर पर्ने गरेका थियौं । तर यसबीचमा हामीले एक राजनीतिक बललाई अर्कोसँग लडाउने काम ग–यौं अनि जासूसी संस्था रअमा बढी भर प–यौं । त्यसैले हामीले साथीलाई शत्रु बनायौं र शत्रुलाई साथी बनायौं । 

‘फुटाऊ र राज गर’ यो साम्राज्यवादी सोचका साथ नेपालको भाग्य निर्धारण गर्न खोज्दा हामीमाथि नेपाली जनताको आशंका र अविश्वास मात्र कायम रह्यो । नेपाली राजनीतिकर्मीको कुरा गर्दा उनीहरूले हाम्रो पैसा लिए अनि आफ्नै अवसरवादी खेल खेलिरहे । 

यी सब कारणले भारत र नेपालबीचको सम्बन्ध खलबलिरहेको भएपनि मोदी सरकारले २०७२ सालको असोजमा नेपालले संविधान जारी गर्ने बेलामा गरेको दुष्कर्मले सबै कुरा भताभुंग बनाइदियो । मोदीले विदेश सचिव एस जयशंकरलाई नेपाल पठाएर संविधानसभाबाट बनेको संविधान घोषणा गर्नबाट रोके । 

यस्तो भद्दा हस्तक्षेपका लागि मोदीका प्रवक्ताहरूले मधेसीको मागलाई बहाना बनाए । पहिलो कुरा त मधेसीका लागि मोदीले डण्डा उठाउनै पर्दैनथियो किनकि संविधानसभामा १३० जना त सभासद त मधेसी नै थिए र तीमध्ये एक दर्जन जतिले त संविधान पारित गर्नका लागि मत दिएका थिए । मोदीले जान्ने भएर पहाडीहरूलाई किन चिढ्याउनुपरेको ?

मोदीको क्रियाकलापबाट नेपाली कांग्रेसमा दाग लागेकाले नेपालीहरूले चुनावमा उसलाई पूरै बहिष्कार गरिदिए । अहिले दुई कम्युनिस्ट गुटहरू विजयी भएका छन् । अझ केपी शर्मा ओली विजेता ठहरिए । उनलाई रअमार्फत मोदी सरकारले हटाएको थियो

अर्को कुरा, नेपाल सरकार आफैंले मधेसीहरूको माग सम्बोधनका लागि संविधान संशोधन गर्ने भनेको थियो । 

नेपालीहरूलाई आफ्नो विषय आफैं सल्टाउन दिन नदिएर अनि बिहारको चुनाव जितिन्छ भन्ने आशाका साथ मोदीले बिहारमा रोटीबेटी सम्बन्ध भएका मधेसीको मुद्दा उठाउन चाहे । तिनै मधेसीको हितका लागि भन्दै मोदीले नेपालमा नाकाबन्दी लगाए जसले गर्दा भूकम्पबाट बौरिरहेका नेपालीहरूले दुःखको सागरमा डुब्नुप–यो । 

अन्ततोगत्वा नेपालमा अनेक हर्कत गरेपनि मोदी बिहारमा बेइज्जतीपूर्वक हारे । नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेपलाई मत्थर पार्ने हिसाबमा शायद मोदीले काठमाडौंमा त्यस्ता राजदूत पठाए जसले स्थानीय, प्रादेशिक र संसदीय चुनावमा सक्रियता देखाएनन् । 

मोदीको क्रियाकलापबाट नेपाली कांग्रेसमा दाग लागेकाले नेपालीहरूले चुनावमा उसलाई पूरै बहिष्कार गरिदिए । अहिले दुई कम्युनिस्ट गुटहरू विजयी भएका छन् । अझ केपी शर्मा ओली विजेता ठहरिए । उनलाई रअमार्फत मोदी सरकारले हटाएको थियो । 

मोदी र उनका नेपाली चम्चेहरूलाई नेपालीहरूले यस्तोसँग त्यागिदिए कि नेपाली कांग्रेस त निर्वाचनमा ध्वस्त नै भयो, मोदीको पछि लागेका मधेसी राजनीतिकर्मीहरू कुना पसे अनि राजावादी हिन्दूवादी तत्त्वहरू निमिट्यान्नै भए । कम्युनिस्टहरूले मधेसमा समेत राम्रो प्रदर्शन गरेका छन् र मोदी, योगी आदित्यनाथ तथा संघ परिवारले मन पराएका तथाकथित मधेसी समूहभन्दा उनीहरूकै प्रदर्शन अब्बल रह्यो । 

अहिले त कमरेड ओली प्रधानमन्त्री बनेका छन् र दुई कम्युनिस्टको एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टीको प्रमुख बनेका छन् । संविधानले नै ओली सरकारविरुद्ध कम्तीमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन रोकेको छ ।  एक दशकअघि राजतन्त्र फालेयता नेपालमा पूरै पाँच वर्ष टिक्ने सरकार बन्ने अपेक्षा धेरैले गरेका छन् । 

यी पाँच वर्षमा मोदी र उनीपछिको भारतीय सरकार ओलीले नेपाललाई पहिलेभन्दा बढी चीनतर्फ ढल्काएको हेर्न बाध्य हुनेछ । मोदीका कारण नेपालमा हाम्रो प्रभाव अहिले सर्वाधिक न्यून छ । 
अब त नेपाली कांग्रेस समेत भारतसँग सम्बन्ध राख्न हिचकिचाउनेछ । त्यसैले नेपालबाट चीनलाई बाहिरै राख्नका लागि हामीले परम्परागत रूपमा राखेको रणनीतिक प्राथमिकतालाई थप सशक्त बनाउन हामीसँग कुनै उपाय छैन । 

यस्तो बेलामा हामीले गर्नसक्ने सुझबुझपूर्ण कुरा के हो भने हामी नेपालको राजनीतिबाट पूरै हट्नुपर्छ अनि काठमाडौंमा रहेका हाम्रा राजदूतलाई गल्फ खेलेर बस्न भन्नुपर्छ । यसले नेपालीहरूलाई भारतप्रति आश्वस्त तुल्याउनेछ र दुई देशबीचका अनेकौं सम्पर्कसूत्रलाई मलजल गर्न सहायता गर्नेछ । चीनले नेपालमा जति बल लगाएपनि भारतसँगको जस्तो सम्बन्ध बनाउन सक्दैन । 

हामी नेपालमा चिनियाँहरूसँग शान्त सहअस्तित्वका साथ बस्न सिक्नुपर्छ । अग्ला हिमालयहरूले नेपाललाई भारतसँग छुट्टिएर आर्थिक तथा सांस्कृतिक आत्महत्या गर्ने अनुमति दिने छैनन् । भारत, चीन र नेपालबीचको त्रिपक्षीय सम्बन्धलाई बुद्धिमत्तापूर्वक अघि बढाउने हो भने हिन्दी–चीनी–नेपाली भाइ–भाइको सौहार्द्र आरम्भ गर्न सकिनेछ ।

समय बित्दै जाँदा हामीले एसियाको पुनरुत्थानका बारेमा नेहरुले दिनुभएको भिजनलाई ब्युँत्याउन सक्छौं । उक्त पुनरुत्थानले भारत, चीन र रक्त सागरदेखि प्रशान्त महासागरसम्म फैलिएको पूरै एसियालाई फेरि मानव सभ्यताको त्यही विकसित अवस्थामा पु–याउनेछ जुन अवस्थामा यो क्षेत्र पाँच हजार वर्षसम्म कायम थियो । साम्राज्यवादको युग तीन सय वर्षअघि आउनुअघिसम्म विश्वव्यापी सभ्यताको पुरोधा एसियाली सभ्यता नै थियो । 

अहिले त सबै साम्राज्यहरूमा सूर्य अस्ताइसकेको छ । अब भारत र चीन सँगै उभिने बेला भएको छ । यसका लागि नेपाल सम्पर्कसूत्र बनोस् ।

अनुवादक : विन्देश दहाल
 

फागुन ११, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस