केपी ओली, कुलमान र लालबाबु

फागुन १३, २०७४

२४ असोज २०७२ मा केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेको समयमा नेपालमाथि भारतीय नाकाबन्दी कसिँदो थियो । नाकाबन्दीको अवशेष लामो समय बाँकी रहेपनि ओली प्रधानमन्त्री बनेको केही समयपछि भारतीय नाकाबन्दी हट्यो र जनजीवन बिस्तारै सामान्य बन्दै गयो ।

भारतीय नाकाबन्दी हटेपनि काठमाडौंमा अर्को भयावह समस्या बाँकी थियो, एक दशकदेखिको लोडसेडिङ । प्रधानमन्त्री बनेको केही समयमै ओलीले एकवर्षमा लोडसेडिङ हटाउने घोषणा गरे । तर त्यसलाई नेपाली समाजले हँसीमजाकको रूपमा अडायो । तत्काल कुनै ठूलो जलविद्युत् आयोजनाबाट राष्ट्रिय ग्रिडमा बिजुली थपिने सम्भावना नरहेका कारण त्यसबेला एक वर्षमै लोडसेडिङ हटाउँछु भन्नु एक प्रकारको मूर्खता जस्तै सुनिन्थ्यो ।


ADVERTISEMENT

ओलीले सरकार छाडेको तीन महिनामा काठमाडौं लोडसेडिङमुक्त भयो । लोडसेडिङ अन्त्यको श्रेय ओलिपछि प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिए । ओली सरकारको विस्थापनको केही समयपछि कुलमान घिसिङ चामत्कारिक व्यक्तिको रूपमा उदाए । २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि देशको राजधानी काठमाडौंबाट लोडसेडिङ अन्त्य भयो । क्रमशः देशका अन्य भाग पनि लोडसेडिङमुक्त हुँदैछन् । लोडसेडिङ हटाएको श्रेय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लिन खोजेपनि त्यो ओली सरकारको निरन्तरताको प्रतिफल थियो ।

कुलमान आएपछि लोडसेडिङ अन्त्य मात्र भएन, विद्युत् चोरीको पर्दाफास भयो । त्यही संरचना र भएको स्रोतको कुशल व्यवस्थापनका कारण काठमाडौंबाट लोडसेडिङ अन्त्य भयो । लोडसेडिङ अन्त्य हुँदा पनि काठमाडौंवासीले ठूलो राहत अनुभव गरे । लोडसेडिङ अन्त्य काठमाडौंका लागि एउटा सामाजिक क्रान्ति जस्तै भयो । लोडसेडिङको अन्त्यले जेनेरेटर, इन्भर्टर र डिजेलको मूल्यका लागि बाहिरिने वैदेशिक मुद्रा सञ्चिति भयो । कोलाहल, प्रदूषण, अपराधका घटना लगायत बहुआयामिक सामाजिक विषयमा लोडसेडिङ अन्त्यले भूमिका खेल्यो । जेनेरेटर बालेर सेवा सञ्चालन गर्नुपर्ने बैंक, अस्पताल, होटलहरूको लागतमा कमी आयो । लोडसेडिङ अन्त्य गरेका कारण कुलमान नेपाली समाजमा आशाको दियोको रूपमा उदाए । 

लोडसेडिङ अन्त्य हुँदा पनि काठमाडौंवासीले ठूलो राहत अनुभव गरे । लोडसेडिङ अन्त्य काठमाडौंका लागि एउटा सामाजिक क्रान्ति जस्तै भयो ।

काठमाडौंले लोडसेडिङको महामारीबाट मुक्ति पायो तर लोडसेडिङ अन्त्यसँगै अर्को महामारीको शुरूवात भयो, त्यो हो धूलो । ओली प्रधानमन्त्री बनेपछि काठमाडौंले यो महामारीको पनि अन्त्य हुने अपेक्षा राखेको छ । कुलमानले लोडसेडिङ भगाएझैं ओली मन्त्रिमण्डलका सदस्य लालबाबु पण्डितले काठमाडौंको धूलोमाथि धावा बोल्ने संकेत दिएका छन् । निष्ठा र इमानको कसीमा खारिएका लालबाबुले लोकान्तरको स्टुडियोमा आएर नझुक्ने बरू फाँसीमा चढ्न तयार रहेको बताएका छन् । मन्त्रालय सम्हालेको एक हप्तामै उनले सुधारको संकेत दिएका छन्, आइतवार उनले काठमाडौंका केही होटल र अस्पताललाई मापदण्ड पूरा नगरेको आधारमा कारवाही समेत गरेका छन् ।

धूलोको महामारीबाट काठमाडौं उपत्यकामा बस्ने झण्डै ४० लाख मानिस हरेक दिन प्रताडित भएका छन् । राज्यलाई लुटेर कमाउन पल्केका ठेकेदारको लापरवाहीका कारण निर्दोष सर्वसाधारणले हरेक दिन बेकारमा धूलो खाइरहेका छन् । ज्यानमारा धूलोका कारण स्कूले बालबालिकादेखि वृद्धवृद्धासम्म ज्यादै प्रताडित छन् । काठमाडौंमा बस्नेलाई रुघा र खोकी सदाबहार साथी बनेको छ । धूलोको यस्तो भयावह महामारीप्रति राज्यका निकाय आँखा चिम्लिएर बसेका छन् । सडक निर्माणको जिम्मा पाएका ठेकेदारहरूको लापरवाहीका कारण तोकिएको समयमा काम पूरा भएको छैन । फलस्वरूप काठमाडौं धूलोले आक्रान्त छ । चार भञ्ज्याङभित्रको काठमाडौं क्रमशः ‘डस्टमाण्डु’मा परिणत हुँदैछ । यस्तै अवस्था रहिरहे निकट भविष्यमै काठमाडौं शहर विश्वकै प्रदूषित शहरको रूपमा अग्रस्थानमा आउनेछ । त्यो अवस्थामा ५० लाख पर्यटक भित्र्याउने सपना कहाँ पुग्ला ?

काठमाडौंको धूलो नियन्त्रण गर्न लालबाबु र कुलमान जस्तै प्रतिबद्ध व्यक्तिले मात्र गर्न सक्छ । तर मन्त्रालय भागबण्डामा वातावरण मन्त्रालय वनमा गाभिएर माओवादीको भागमा पुगेको छ । लालबाबु जस्ता आशाका किरणलाई वातावरण मन्त्रालय दिएर भविष्यका कर्णधार लाखौं बालबालिकाको फोक्सो जोगाउने अभिभारा ओली सरकारले दिए अबोध बालबालिको आशिक लाग्नेछ ।

काठमाडौंको अस्तव्यस्तता र धूलो नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले सरकारप्रति आक्रोश व्यक्त गर्छन्, यो कुरा घुम्ने कुर्सीमाथि बस्नेले ख्याल गर्दैनन् । सार्वजनिक स्थान, सार्वजनिक यातायात र सामाजिक सञ्जालमा देख्न र सुन्न पाइन्छ काठमाडौंको धूलोको असर । सुन्दा सामान्य जस्तो लाग्ने धूलोको असर कति परेको छ भन्ने कुरा काठमाडौंका अस्पतालमा लागेको लाम हेर्दा पुग्छ । ओली पहिलोपटक प्रधानमन्त्री बनेको समयमा उनले वृद्धभत्ता बढाउने निर्णय गरे । ‘ओलीको जय होस्’ भन्दै बानेश्वरमा धर्नामा बसेका वृद्धवृद्धाले आशिक दिँदै धर्ना स्थगित गरे । काठमाडौंको धूलो मात्र नियन्त्रण भयो भने सारा काठमाडौंवासीले फेरि ‘ओलीको जय होस्’ भन्नेछन् ।

असीमित आकांक्षा

पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीप्रति आशाभन्दा धेरैको आशंका थियो । त्यतिखेर समय प्रतिकूल थियो, त्यस्तो प्रतिकूल समयमा पनि उनले आशंका हटाएर आशा जगाउने काम गरेका थिए । यसपटक ओलीप्रति आकांक्षा धेरै छन्, समय पनि विगतको तुलानामा अनुकूल छ । चौतर्फी अस्तव्यस्तताबीच ओलीले कहाँबाट काम शुरू गर्छन् भन्ने धेरैको लागि कौतुहलको विषय बनेको छ । 

राज्यलाई लुटेर कमाउन पल्केका ठेकेदारको लापरवाहीका कारण निर्दोष सर्वसाधारणले हरेक दिन बेकारमा धूलो खाइरहेका छन् । ज्यानमारा धूलोका कारण स्कूले बालबालिकादेखि वृद्धवृद्धासम्म ज्यादै प्रताडित छन् ।

कार्यालय समयमा कोटेश्वरको जाम ओलीको निजी निवासनजिक कौशलटारसम्म पुग्छ । रत्नपार्कबाट थानकोट पुग्नुभन्दा दिल्ली पुग्न छिटो भनेर यसअघिको संसदीय समितिमा चर्चा भएकै विषय हो । राजधानीको प्रमुख द्वार थानकोट कलंकी क्षेत्रमा सडक भत्काउन थालेको चार वर्ष भयो, तोकिएको समयमा काम पूरा हुन सकेको छैन । राजधानीको ‘लाइफलाइन’ मानिएको पृथ्वी राजमार्गको दुर्दशाले सर्वसाधारणलाई सास्ती भएको छ । अघिल्लो वर्ष नै पूरा हुनुपर्ने सडक निर्माणको काम अहिलेसम्म अधुरो छ । विस्तार हुन लागेको सडकको आसपास बस्नेहरू नारकीय जीवन जिउन बाध्य छन् । तोकिएको समयमा काम नगर्ने ठेकेदार कारवाहीमा पर्दैन, राजनीतिक संरक्षण खोज्छ ।

सरकारी अस्पतालको उस्तै बेहाल छ, सरकारी अस्पतालबाट तलब खाएर चिकित्सकहरू निजी अस्पतालमा काम गर्छन् । निजी अस्पतालले उपचारको नाममा सर्वसाधारणमाथि लूट गरेका छन्, एउटा खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा अर्को खुट्टा चिर्ने काम भइरहेको छ । निजीकरणका नाममा भइरहेको स्वास्थ्यको व्यापारका कारण सर्वसाधारण जनताले सर्वसुलभ उपचार पाउन छाडिसके । शिक्षा क्षेत्रमा उस्तै मनोमानी छ । शिक्षा र स्वास्थ्य मध्यम वर्गको पहुँचमा छैन, सर्वहारा वर्गको कुरा नगरौं । खाद्यान्नमा कालोबजारी, मिसावट र अनियन्त्रित महंगीका कारण सर्वसाधारणको जीवनस्तर झन् झन् कष्टकर बन्दै गइरहेको छ ।  

प्रधानमन्त्री ओलीले चुनावप्रचारका दौरान गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न सके भने उनको दोस्रो कार्यकालमा देशले फड्को हान्नेछ । उनले पटकपटक भन्दै आएका छन्, हामीसँग परीक्षण गर्ने समय छैन । हजार माइलको यात्रा एक पाइलाबाट शुरू हुन्छ । देशमा विकास र समृद्धिको यात्रा राजधानी काठमाडौंबाट शुरू होस् । तोकिएको काम समयमा पूरा नगर्ने र राजनीतिक संरक्षण खोज्ने ठेकेदारमाथि कारबाही गरेर सडकको अस्तव्यस्तता कम गर्नुपर्छ । दण्डहीनताको यो अवस्था कायम रहे पाँच वर्षमा समृद्धि हसिल गर्ने ओलीको सपना अधुरो रहनेछ ।

२०१५ सालमा प्रधानमन्त्री बनेका बीपी कोइरालालाई अहिले पनि स्मरण गरिछ । कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी लगायत सीमित प्रधानमन्त्री मात्र स्मरणीय छन् किनकि उनीहरूले निःस्वार्थ भावले काम गरे । बीपीले पहिलो निर्णयमै प्रधानमन्त्रीको तलब घटाएर लोकप्रियता बढाए । बीपी कोइराला सरकारले किसानका पक्षमा बजेट बनायो । मनमोहनले वृद्धभत्ता र आफ्नो गाउँ आफै बनाऔं अभियान शुरू गरे । भट्टराई प्रधानमन्त्री निवासबाट निस्कँदा सुराही र छाता मात्र लिएर हिँडे ।

ओलीका सामु अर्को इतिहास रच्ने सुनौलो अवसर छ, यसलाई उनले गुमाउने छैनन् भन्ने आशा गरौं । प्रधानमन्त्री ओलीले कुलमान घिसिङ र लालबाबु पण्डित जस्तै एक दर्जन ‘कुलमान’ र ‘लालबाबु’ नियुक्त गर्न सके भने समृद्धि र सुशासनको गन्तव्य टाढा हुने छैन ।

फागुन १३, २०७४ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार