काञ्ची कामाकोटी पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको निधन

काठमाडौं, १६ फागुन — काञ्ची कामाकोटी पीठका शंकराचार्य श्री जयेन्द्र सरस्वतीको बुधवार बिहान निधन भएको छ । उहाँ ८३ वर्षको हुनुुहुन्थ्यो । 

जयेन्द्र सरस्वतीलाई श्वासप्रश्वासमा समस्या आएकाले अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भयो । काञ्चीपुरमको निजी अस्पतालमा उहाँको निधन भएको हो । 

सन् १९३५ को १८ जुलाईमा जन्मनुभएका जयेन्द्र सरस्वती काञ्ची मठमा ६९औं शंकराचार्य हुनुहुन्थ्यो । सन् १९५४ मा उहाँ शंकराचार्य बन्नुभएको थियो । काञ्ची मठले अनेकौं विद्यालय र आँखा अस्पताल चलाएको छ ।

सन् २००४ मा काञ्चीपुरम मन्दिरका व्यवस्थापकको हत्या मामिलामा जयेन्द्र सरस्वतीको नाम आएको थियो । सन् २०१३ मा उहाँलाई सफाइ दिइएको थियो । सन् २००४ मै उहाँ यस मुद्दामा दुई महीनाका लागि न्यायिक हिरासतमा राखिएको थियो ।

काञ्ची मठ काञ्चीपुरममा स्थापित एक हिन्दू मठ हो । यसको मठाधीश्वरलाई शंकराचार्य भनिन्छ । काञ्ची कामाकोटी पीठका ६९औं शंकराचार्य जयेन्द्र सरस्वती यस पदमा बस्नुअघिको नाम सुब्रह्मण्यम थियो । उहाँ चारै वेदका ज्ञाता हुनुहुन्थ्यो । 

सन् २०१० मा जयेन्द्र सरस्वतीले दाबी गरेअनुसार, अटल विहारी वाजपेयीको सरकार हुँदा अयोध्या विवाद समाधान हुन लागेको थियो र त्यस उद्देश्यले एक कानून पनि बनेको थियो ।

एजेन्सी
 

फागुन १६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस