भूमण्डलीकृत पूँजीवादको पछि लागेका प्रचण्डबाट समाजवादी क्रान्ति हुँदैन : आहुति [अन्तर्वार्ता]

फागुन १८, २०७४


नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने निर्णय गरेलगत्तै माओवादीमा वैचारिक र सैद्धान्तिक बहस चलाउँदै आएका प्रभावशाली नेता विश्वभक्त दुलाल ‘आहुति’ले एमालेसँगको एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन् । नयाँ संगठन निर्माण गर्दै नयाँ खालको समाजवादी व्यवस्थाको लागि अघि बढ्ने बताएका आहुतिसँग लोकान्तरका लागि ईश्वर अर्यालले पार्टी एकता लगायत समसामयिक विषयमा कुरा गरेका थिए । प्रस्तुत छ कुराकानीको सार : 

एकाएक पार्टीको निर्णयबाट असहमत हुनुको मुख्य कारण के हो ?

हेर्नुस्, म एकाएक यो निर्णयमा पुगेको होइन । अघिल्लो वर्षको मंसिरदेखिनै पार्टीमा मैले फरक मतको अभ्यास गर्ने क्रममा निरन्तर लेख्दै र पार्टी नेतृत्वलाई खबरदारी गर्दै आइरहेको छु । जब अध्यक्ष प्रचण्ड नेतृत्वको पार्टी दलाल पूँजीवादी अभ्यासतर्फ लाग्यो, त्यतिबेलादेखि नै क्रान्तिलाई नयाँ ढंगले अगाडि लैजानुपर्छ भन्ने उद्देश्यसहित ‘महाबहस’को थालनी गर्नुपर्छ भनेर मैले नेतृत्वलाई निरन्तर झकझक्याइरहेको थिएँ ।

तर जब पार्टीले एमाले जस्तो दलाल पूँजीपतिको पार्टीसँग एकताको निर्णय ग–यो, मेरो पार्टीबाट अलग्गिने निर्णय एकाएक जस्तो देखिएको हो ।

तपाईंले भनेको महाबहस भनेको कस्तो बहस हो ?

अहिले लेनिनको युग नै फेरिएको छ । लेनिनको युग चाहिँ एकाधिकार पूँजीवादको युग थियो । त्यो १९१७ देखि १९५० सम्म रह्यो । मार्क्सकालीन पूँजीवाद भनेको प्रतिस्पर्धात्मक औद्योगिक पूँजीवाद थियो । एकाधिकार पूँजीवादले राष्ट्रिय पूँजीलाई खान आउँथ्यो । अनि राष्ट्रिय पूँजीपति वर्ग रिसाएर त्यसको विरुद्ध लड्थे । तर १९५० पछि चाहिँ विज्ञान प्रविधिमा यति धेरै विकास भयो कि अब चाहिँ बहुराष्ट्रिय संगठित पूँजीवाद आयो । संसारका सयौं देशका पूँजीपतिहरू एकसाथ मिले । यसलाई बहुराष्ट्रिय भूमण्डलीकृत पूँजीवाद भन्न मिल्छ ।

विज्ञान प्रविधिमा आएको विकासको कारणले के भयो भने एक क्लिकमा सयौं मशिनहरू अपरेट हुने स्थिति आइसकेपछि श्रमिकहरूलाई दिनुपर्ने ज्याला सबै पूँजीपतिले नाफाको रूपमा लिन पाए । औद्योगिक क्षेत्रबाट मजदूरहरू विस्थापित भएर सेवा क्षेत्रतर्फ जान थाले ।

नेपालबाट करीब ४५ लाख मान्छे बाहिर गएकोमा केही प्रतिशतबाहेक सबै सेवा क्षेत्रमा काम गर्छन् । उत्पादनको मूल काम चाहिँ मशिन अर्थात् विज्ञान प्रविधिले गर्न थाल्यो । हामी नयाँ युगमा प्रवेश गरेका छौं भन्ने महत्त्वपूर्ण प्रमाण यही हो । हामी लेनिन या माओको युगमा छैनौं । यदि त्यसो हुन्थ्यो भने एकाधिकार पूँजीपतिहरू आफ्नो बजार विस्तारका लागि लड्थे र विश्वयुद्ध हुन्थ्यो, त्यसो पनि भएन ।

अब कोही लड्दैनन्, सबै मिल्नेवाला छन् । नेपालमा राष्ट्रिय पूँजीपति वर्ग नै छैन । सबै दलालीकृत भए । राष्ट्रिय पूँजीपतिवर्ग हुन्थ्यो भने एकाधिकार पूँजीपति वर्गले त्यसलाई खान खोज्थ्यो र लडाईं हुन्थ्यो, जसलाई क्रान्तिको नाम दिन सकिन्थ्यो । यो भनेको नेपालमा बिलकुलै नयाँ परिस्थिति विकास भएको छ र मैले संकेत गरेको ‘महाबहस’ यसैको बारेमा हुनुपर्छ भनेको हो ।

एमालेसँगको एकता समाजवादी क्रान्तिका लागि हो भनेर प्रचण्डले स्पष्टीकरण दिइसकेका छन् नि !

शान्तिप्रक्रिया पछि प्रचण्ड लगायतका नेताहरूको संगत फेरियो । उहाँहरू आधारभूत मजदूर वर्गबाट टाढा रहनुभयो । वहाँ बिहान पाँच साढे पाँच बजे उठ्नुहुन्थ्यो, एक घण्टा वहाँको एक्सरसाइज हुन्थ्यो । त्यसपछिको एकघण्टा वहाँ गायब ! पूरै व्यापारीहरूलाई समय दिनुहुन्थ्यो ।

नेता कार्यकर्ताहरूलाई भेट दिन गाह्रो मान्नुहुन्थ्यो । के भेट्नु, दिनदिनै एकैखालको कुरा ग–या छ, पार्टी बिग्र्यो भनेको छ, उही विचार र उही सिद्धान्तको कुरा छ । वहाँ यस्ता कुरा गर्ने नेता कार्यकर्ताहरूसँग टाढिन खोज्नुहुन्थ्यो । जसले वैचारिक छलफललाई छोडेर दलाल र नाफाखोर पूँजीपतिहरूसँग आर्थिक लेनदेनको बारेमा मात्र छलफल गर्छ, उसले समाजवादी क्रान्तिको नेतृत्व गर्ला भन्ने सोच्नु मूर्खता हो ।

माओवादी आर्थिक अराजकतामा फस्यो भन्न खोज्नुभएको ?  

जसले वैचारिक छलफललाई छोडेर दलाल र नाफाखोर पूँजीपतिहरूसँग आर्थिक लेनदेनको बारेमा मात्र छलफल गर्छ, उसले समाजवादी क्रान्तिको नेतृत्व गर्ला भन्ने सोच्नु मूर्खता हो ।

संसदीय राजनीतिमा प्रवेश गरिसकेपछि प्रचण्डको संगत राष्ट्रिय अन्तर्राष्ट्रिय दलाल पूँजीपति वर्गसँग हुनु केही हदसम्म स्वाभाविक हो । तर माओवादी पार्टीका आधारभूत मजदुर वर्गसँग वहाँले पहिला जसरी सम्बन्ध राख्नुभएको थियो, त्यो सम्बन्धलाई वहाँ र वहाँको टीमले अहिले बिल्कुलै त्यागिदियो ।

पहिला त बाबुरामजी र प्रचण्डजी पनि सँगै बस्नुहुन्थ्यो नि, तर व्यापारीहरूसँग असुली जस्ता अर्थसंकलनमा विभिन्न गुटहरू यसरी हाबी भए कि सबैले छुट्टाछुट्टै डील गर्न थाले । सँगै बसेको त्यही घरमा दुईवटा फरक फरक डील कसरी हुनु ? त्यसपछि न वहाँहरू छुट्टाछुट्टै बस्न थाल्नुभएको हो । अनि आर्थिक अराजकताले प्रश्रय पाउन थालेपछि हामीजस्ता विचार र सिद्धान्तको पैरवी गर्नेहरू पर्गेलिन शुरू भयौं ।

अहिले पनि हेर्नुस् न, एक कल फोन छैन । के भो तपाईंलाई, किन असहमति प्रकट गर्नुभो भनेर सोध्न त सकिन्थ्यो नि । वास्तवमा अहिले वहाँलाई शान्ति छ ।

एमालेसँगको एकता प्रक्रियामा तपाईंसँगै असहमति जनाएर माओवादी त्याग्ने निर्णय गरेका गोपाल किराँती र लोकेन्द्र विष्टसँग तपाईं मिल्न लागेको हो ? 

गोपाल किराँतीजी हामीसँग हुनुहुन्न । वहाँले माओवादी आन्दोलनको पुनर्गठन गर्छु भन्दै हिँड्नुभएको छ तर मेरो विचारमा त्यो सम्भव छैन । मरेको मान्छे ब्युँताउन सकिन्छ ? वहाँ नयाँ प्रचण्ड बन्ने दिशातर्फ जानुभो । आजै (बुधवार) मात्र पनि नयाँ विद्यार्थी संगठन घोषणा गर्नुभो उहाँले भन्ने सुन्नमा आएको छ ।

तर लोकेन्द्र विष्ट मगरसहित धेरै अन्य नेता र कार्यकर्ताहरू पनि हामीले शुरू गरेको ‘महाबहस’ प्रति सकारात्मक हुनुहुन्छ । अघि मात्र एमालेका क्षेत्रीयस्तरीय केही नेता आउनुभएको थियो । वहाँले अघि बढ्नुस्, हामी सघाउन तयार छौं भन्नुभएको छ । देशैभर एकैपटक संगठन विस्तारका लागि हामीसँग अहिले पनि सय डेढसय संख्यामा नेताहरू हुनुहुन्छ । 

अनि नेत्रविक्रम चन्द विप्लव र वैद्य माओवादी समूहहरूसँग तपार्इंको कार्यगत एकता या पार्टी एकता नै हुनसक्ने सम्भावना कत्तिको छ ? 

हाम्रो संयुक्त मोर्चा बन्नसक्ने सम्भावना छ । तर किरणजीले अब नयाँ ढंगबाट जानुपर्छ भनेको भन्यै हुनुहुन्छ । मेरो विचारमा वहाँले पुरानो ढर्राको कार्यदिशा त्याग्नुपर्छ ।

इतिहासमै कम्युनिस्ट पार्टी भनिनेहरू पहिलोपटक बहुमतमा छन्, लगभग दुईतिहाइ जनताको मत प्राप्त छ । जनताले माओवादी केन्द्र र एमालेको एकीकृत नयाँ पार्टीलाई धेरै नै विश्वास गरेको अवस्था छ । यस्तो बेलामा तपाईं अलग्गिएर जनताको भावनालाई कसरी समेट्न सक्नुहुन्छ ? 

पहिलो कुरा त यी कम्युनिस्ट होइनन् तर आफूलाई कम्युनिस्ट हुँ भनेर देखाउन अलि अलि मेहेनेत गरेजस्तो देखिन्छ । तर यिनीहरू सच्चिएर पार्टी कार्यकर्ता र भोटरहरूको विशाल फौजलाई समाजवादी उत्पादन सम्बन्धसँग जोड्नेतर्फ जाने हो भने हामी त्यहीँभित्र रहेर वैचारिक बहस गर्न तयार नै हुन्थ्यौ नि । तर त्यस्तो देखिएन ।

आधारभूत मजदूर वर्गलाई दोहन गरेर कमाएको पैसाको पार्टीमा हालीमुहाली हुने स्थितिसम्म यिनीहरू र यिनीहरूको कार्यकर्ताहरू सच्चिएलान् भनेर सोच्न सकिँदैन ।

आधारभूत मजदूर वर्गलाई दोहन गरेर कमाएको पैसाको पार्टीमा हालीमुहाली हुने स्थितिसम्म यिनीहरू र यिनीहरूको कार्यकर्ताहरू सच्चिएलान् भनेर सोच्न सकिँदैन । अबको आवश्यकता भनेको भूमण्डलीकृत रूपमा रहेको दलाल पूँजीपति वर्गलाई विस्थापन गर्नको लागि त्यही स्तर या त्यसभन्दा उच्च ढंगले विज्ञान प्रविधिको प्रयोग गरेर नयाँ समाजवादी क्रान्ति अघि बढाउन हामीले नयाँ संगठन निर्माण गर्न लागेका हौं भन्ने कुरा जनतालाई बुझाउने हो भने कुनै अवरोध आउँदैन ।

नयाँ पार्टीको घोषणा कहिलेसम्म गर्नुहुन्छ ? त्यो कम्युनिस्ट बिउ जोगाउने तहसम्म मात्र सीमित हुनेछ या फेरि सत्तासँग सम्झौता गरेर पदीय भागबण्डामा सामेल हुनुहुन्छ ?

अहिलेको प्रश्न बिउ जोगाउने भन्ने होइन । नयाँ बिउ रोप्ने र त्यसलाई फलाउने फुलाउने हो । हामी हाम्रो उद्देश्यप्रति दृढ रहनेछौं र निरन्तर समाजवादी क्रान्तितर्फ अघि बढ्नेछांै । बिउ जोगाउन भनेर त किरणजीहरू लागिरहनुभएको छ । आशा छ, वहाँ पनि हाम्रै कार्यदिशामा आउनुहुनेछ । केही दिनमा तपाईंहरूले हाम्रो डकुमेन्ट पाउनुहुनेछ । त्यसैको आधारमा हामी अघि बढ्छौं ।
 

फागुन १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

थप समाचार