आजकलका गीत सुन्दा एकदम रिस उठ्छ : शबाना आजमी

फागुन २३, २०७४

काठमाडौं, २३ फागुन — बलिउडकी प्रतिभाशाली अभिनेत्री तथा स्पष्टवक्ता शबाना आजमीले आजकलका गीत सुनेर आफूलाई एकदम रिस उठ्ने बताएकी छन् । गीतहरूबाट राम्रा शब्द नै गायब भएको उनको भनाइ छ । 

शबाना भन्छिन्, ‘आजकलका फिल्मी गीतमा गतिला शब्द नै हुँदैनन् । हालै एक जवान गीतकार एक संगीत निर्देशकलाई भेट्न गए र आफूले हालै सार्वजनिक भएका तीन फिल्मको गीत लेखेको बताए । संगीतकारले गीत सुनाउनु त भनेपछि गीतकारले सुनाए अनि पो थाहा भयो शब्द नै गतिला छैनन् ।’

शबानाले थपिन्, ‘आजकलका गीतका लाइन सुन्नुस् त । मै तन्दूरी मुर्ग हूं मुझे गटका लो अल्कोहल से... । यस्ता गीत सुनेर मलाई हाँस उठ्दैन, एकदम रिस उठ्छ । यस्तो प्रयोग पनि गर्ने हो ?’

शबानासँग वहीदा रहमान पनि उपस्थित थिइन् । वहीदाले भनिन्, ‘एक दिन लता मंगेशकरजी मलाई भेट्न मेरो घरमा आउनुभयो । मैले उहाँलाई आजकल गीत किन नगाउनुभएको भनी सोधें । उहाँले भन्नुभयो, फेभिकोल से चिपका लो जस्ता गीत लेखिने गरेका छन् । त्यस्ता गीत गाउनु मबाट सम्भवै छैन ।’

एजेन्सी
 


ADVERTISEMENT

फागुन २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस