संसदको ‘बायाँ रो’मा कांग्रेस : रचनात्मक कि लाचार प्रतिपक्ष ?

फागुन २४, २०७४

काठमाडौं, २४ फागुन – पहिलो संविधानसभाको कार्यकाल चलिरहेको समयमा नेपाली कांग्रेसले काठमाडौंको खुल्लामञ्चमा सभाको आयोजना गरेको थियो । सभामा मुख्य वक्ता तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला बोल्ने समयमा हावाहुरीसहित पानी पर्न थाल्यो । पानी पर्न थालेपछि कोइरालाका सहयोगीहरूले उनलाई छाता ओढाउन  खोजे । कोइरालाले छाता ओढ्न मानेनन् । ‘मेरो शरीर इस्पातले बनेको छ, पानीले भिजाउन सक्दैन,’ भन्दै कोइरालाले पानीमा भिज्दै भाषण गरे । आफ्नो शरीरलाई इस्पातसँग दाँज्ने गिरिजाप्रसाद कोइराला केही समयपछि ढले । 

गिरिजाप्रसादपछि कोइराला परिवारका सदस्य सुशील कोइरालाले कांग्रेसको नेतृत्व गरे । सुशील सभापति भएपछि कांग्रेस संविधानसभा चुनावमा पहिलो पार्टी बन्न सफल भयो । उनकै नेतृत्वमा संविधान जारी भयो । पार्टी सभापति रहेकै समयमा सुशीलको निधन भयो । सुशील कांग्रेस सभापति छाडेर राष्ट्रपति बन्न राजी भएनन् । निकटस्थहरूका अनुसार उनी राष्ट्रपति बन्नुभन्दा पनि पार्टी सभापति नै रहिरहन चाहान्थे । ‘कांग्रेसको नेतृत्व शेरबहादुर देउवामा गए प्रजातन्त्र र कांग्रेस दुवै अप्ठेरोमा पर्ने’ सुशीलको चिन्ता रहेको उनको सहयोगीहरूले बताएका थिए । 


देउवाले नेतृत्व सम्हालेपछि कांग्रेस इतिहासकै कमजोर बनेको छ । कांग्रेस कमजोर भएपनि देउवाले तीनवटै तहका चुनाव गराएर संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण भूमिका खेलेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । विगतमा पटकपटक चुनाव गराउन नसकेका कारण देउवामाथि सधैं ‘अक्षम’को आरोप लाग्ने गरेको थियो । देउवा प्रधामनन्त्री भएपछि उनले चुनाव गराउँदैनन् भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका थिए । 
त्यसैले त प्रतिनिधिसभाको पहिलो बैठकमा मंगलवार देउवाले ओलीप्रति कटाक्ष गरे, ‘ओलीजीलाई अहिले पनि चुनाव भएको जस्तो लागेको छैन होला’ भन्दै । चुनावमा कांग्रेस पराजित भएपनि लोकतन्त्र विजय भयो । 

‘बायाँ रो’ मा कांग्रेस

लामो समयपछि नेपाली कांग्रेस फेरि प्रतिपक्षी बेञ्चमा पुगेको छ । २०४८ सालको आमनिर्वाचन पछिको अधिकांश समय नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो । २०५१ सालमा केही समय अनि संविधानसभा निर्वाचनपछि केही समय विपक्षी बेञ्चमा बसेको कांग्रेस अबको पाँच वर्ष संसद्को बायाँतर्फको प्रतिपक्षी रो मा बस्नुपर्नेछ । बेलायती संसदीय व्यबस्थामा प्रतिपक्षी दललाई सभामुखको बायाँतर्फको रो मा राख्ने गरिन्छ । 

आफैंले गराएको चुनावपछि प्रतिपक्षमा पुगेका देउवाले मंगलवार प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको पहिलो सम्बोधनले कांग्रेस संसदमा रचनात्मक भन्दा पनि लाचार प्रतिपक्षको रूपमा सीमित रहने संकेत देखियो । झण्डै १३ मिनेट लामो सम्बोधनमा उनले कुनै खास कुरा गरेनन् । देउवाको भाषण यति पट्यारलाग्दो थियो कि संसदीय दलको नेताको पहिलो सम्बोधनमा कांग्रेसका सांसदहरूले एकपटक पनि ताली बजाएनन् । प्रमुख प्रतिपक्षी दलका नेताको पहिलो सम्बोधन दमदार हुनुपर्दथ्यो, तर वाक् क्षमतामा दुर्बल देउवाले विपक्षीको झल्को दिने भाषण गरेनन् । 

केपी ओली र माधव नेपालप्रति सामान्य कटाक्षबाहेक देउवाको सम्वोधन उही परम्परागत ढर्राको मात्र थियो । देउवाको भन्दा उपेन्द्र यादव र राजेन्द्र महतोको भाषण रुचिकर थियो । 

संसदीय दलको नेता चुनिएपछि देउवाले सरकारको मधुमास अवधि नकुर्ने बताएका थिए, तर कस्ता एजेन्डामा भन्ने बताएनन् । संसदीय व्यवस्थामा सरकारलाई सय दिनसम्म शंकाको लाभ दिने र विरोध नगर्ने परम्परा छ । तर त्यो अवधि कुर्न सकिँदैन भनेर देउवाले संसद्को बैठक अवरुद्ध गर्ने कुरा गरेका हुन् भने त्यो कांग्रेसका लागि महंगो साबित हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठकमा देउवाले सत्तापक्ष कसरी अगाडि बढ्छ त्यसैका आधारमा आफूहरूको भूमिका निर्धारण हुने बताए । तर देउवाले अबको दिनमा कांग्रेसले उठाउने राष्ट्रिय एजेण्डाहरूको विषयमा खासै बोलेनन् । प्रतिपक्षमा रहँदा कांग्रेसले के गर्नेछ भन्ने कुरा देउवाले केही बताएनन् । 

विगतमा यति वर्ष जेल बसेको र त्याग गरेको भन्ने राजनीतिक मापनले अब मुलुक चल्दैन । अहिले मुलुकले खोजेको पार्टी र नेतृत्व भनेको फराकिलो दृष्टिकोणसहित देशलाई ‘ड्राइभ गर्न’ सक्ने दूरदर्शी र क्षमतावान नेतृत्व हो ।

संसदमा प्रतिपक्षको रचनात्मक भूमिका केवल संसद्को बैठक अवरुद्ध गर्नु होइन । अझ संसदीय व्यवस्थालाई आदर्श मान्ने कांग्रेसले त्यो गर्न सुहाउने कुरा पनि होइन । संसदीय व्यवस्थामा संसद्लाई विपक्षको थलो पनि भनिन्छ । उठाउनुपर्ने बिषय धेरै छन्, तर कांग्रेसका लागि ती विषय सामान्य लाग्छन् । भ्रष्टाचार, अनियमितता र जनजीविकाका कुरालाई लिएर संसदमा आवाज उठाउन सकिन्छ । कांग्रेस आफैंले उत्पादन गरेका ‘बाईप्रडक्ट’ भएकोले ती विषय कांग्रेसले उठाउँदैन ।

पहिलो सम्बोधनका क्रममा देउवाले २००७ सालदेखि २०६४ र २०६२/६३ सालको आन्दोलनको नेतृत्व गरेको, शान्ति प्रक्रिया शुरू गरेको, संविधान जारी गरेको र संविधान कार्यान्वयन समेत कांग्रेसको नेतृत्वमा भएको कुरा गरे । यो थाहा नभएर जनताले रुखमा भोट नहालेका होइनन् । त्यही गरेबापत कांग्रेसले लामो समयसम्म सत्तामा बसेर ब्याज खाइरहेको थियो । परिवर्तित सन्दर्भमा त्यस्ता आदर्शवादी कुराले जनताको विश्वास जित्न सकिँदैन भन्ने कुरा बुझ्न सकेन भने कांग्रेस पछि झन् खस्किनेछ । 

विगतमा यति वर्ष जेल बसेको र त्याग गरेको भन्ने राजनीतिक मापनले अब मुलुक चल्दैन । अहिले मुलुकले खोजेको पार्टी र नेतृत्व भनेको फराकिलो दृष्टिकोणसहित देशलाई ‘ड्राइभ गर्न’ सक्ने दूरदर्शी र क्षमतावान नेतृत्व हो । त्याग नै नेतृत्वका लागि मापदण्ड हुन्थ्यो भने समकालीन नेताभन्दा स्वर्गद्वारी आश्रमका सन्तहरूले धेरै त्याग गरेका छन् । 

चुनावमा पराजित भएर रन्थनिएको कांग्रेस अहिले विचारशून्य भएको टिप्पणी सुनिन्छ । यतिबेला कांग्रेससँग राष्ट्रिय एजेन्डा छैनन्, न त ती एजेन्डा बेच्नसक्ने नेतृत्व नै छ । चुनावको नतिजा आएको शुरुवाती दिनमा नेतृत्व परिवर्तनको बहस गरेका युवा नेताहरूका स्वर सुकेका छन् । संसदीय दलको चुनावमा प्रकाशमान सिंहले पाएको भोट हेर्दापनि कांग्रेसीजन नेतृत्व परिवर्तन गर्ने पक्षमा छैन ।

पाँच वर्ष प्रतिपक्षी बेञ्चमा बसेको समयमा कांग्रेसले विगतका कमजोरी सुधार्नु उसका लागि श्रेयष्कर हुनेछ । विगतमा आफूले लिएको गलत नीतिका कारण देशमा धनी र गरीबबीचको खाडल फराकिलो भएको, निजीकरणका नाममा सीमित व्यक्तिलाई पोस्न सरकारी उद्योग कलकारखाना कौडीको भरमा बेचिएका जस्ता गलत नीतिको समीक्षा नगर्ने हो भने कांग्रेस भविष्यमा पनि झन् कमजोर हुँदै जानेछ । इतिहासमा राम्रो काम त प्रजापरिषद्ले पनि गरेको थियो, त्यो पार्टी आज किन लोप भयो ? हुन त यसबारे समीक्षा गर्न कांग्रेसमा ‘पीएचडी’धारी बुद्धिजीवीको कमी पनि छैन !
 

फागुन २४, २०७४ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस