स्याङ्जामा फोहरबाट ग्यास, दैनिक १५ सय किलो उत्पादन हुने

फागुन २८, २०७४

स्याङ्जा,२८ फागुन– स्याङ्जा पुतलीबजार नजिक रहेको लिखुङ कालिका एग्रो फर्मअन्तर्गत वायो प्लान्ट उत्पादन शुरु गर्ने अवस्थामा पुगेको छ । यो प्लान्ट वालिङ बजारबाट १२ किलोमिटर र पोखराबाट २५ किलोमिटरको दूरी (बीच)मा अवस्थित छ । 


वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रसँगको सहकार्यमा ५० रोपनी (३० रोपनी प्रयोग भएको) क्षेत्रफलमा २० करोड लगानी गरी युवाहरूले सञ्चालन गर्न लागेको प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेको हो ।
प्लान्ट सञ्चालनका लागि जग्गा नगरपालिकासँग लिजमा लिइएको सीईओ सोभाकान्त ढकालले बताए ।



भौतिक पूर्वाधार निर्माण भइसकेको र उत्पादन परीक्षणमा रहेको ढकालले जानकारी दिए । ३५०० घनमिटर क्षमताको उक्त प्लान्टले दैनिक १५ सय केजी (९० वटा एलपी ग्यास बराबर) ग्यास उत्पादन गर्नेछ । 
ग्यास उत्पादनसँगै यसको अर्को मुख्य उद्देश्य फोहोरबाट बिजुली निकाल्ने पनि हो ।


यसबाट दैनिक ४ सय किलोवाट विद्युत् उत्पादन हुने सीईओ ढकालले बताए । उत्पादिन बिजुली प्लान्टमै प्रयोग हुनेछ, प्रयोगबाट बजेको बिजुली भने स्थानीय स्तरमा वितरण गर्ने कम्पनीको लक्ष्य छ ।
‘यसबाट दैनिक १५ टन अर्गानिक मल पनि उत्पादन हुन्छ, ग्याससँगै उत्पादित मललाई स्थानीय क्षेत्र र पोखरालाई मुख्य बजार बनाएर विक्री गर्ने लक्ष्य राखेका छौं,’ ढकालले भने ।

कच्चा पदार्थका लागि कुखुरा फर्म सञ्चालन गरिएको छ । २ लाख लेयर्स कुखुरा रहेको सो फर्मबाट समग्र कच्चा पदार्थको ६० प्रतिशत उपलब्ध हुन्छ । बाँकी ४० प्रतिशत गाईको गोबर र अन्य कुहिने फोहोरबाट परिपूर्ति गरिने सीईओ ढकालले बताए । यहाँ पोखरा बजारमा दैनिक उत्पादन हुने कुहिने फोहोर पनि प्रयोग हुनेछ ।


प्लान्टले देशमा बढ्दो उर्जा संकट समाधानमा टेवा पु¥याउने ढकाल बताउँछन् । ‘देशमा बढ्दो उर्जा संकटलाई यस्ता बायो ग्याँस प्लान्टले टेवा पु¥याउँछन्, यस्तै अरु पनि बायो प्लान्टहरू खुलेमा ग्यासको संकट समाधानमा सहयोग पुग्नेछ,’ ढकालले भने ।


यस प्लान्टले ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । २५ जना स्थानीय र बाँकी इञ्जिनियरहरू छन् । त्यसमध्ये एकजना स्पेशल इञ्जिनियर (बायो प्लान्टको सफ्ट्वेयर सञ्चालन गर्ने वा मेमरेन सिस्टम सञ्चालन गर्ने), इलेक्ट्रोनिक इञ्जिनियरलगायत छन् ।

अन्य कैयनले अप्रत्यक्ष रोजगारी पाएका छन् । 


सरकारी टोलीद्वारा निरीक्षण
यस बायो प्लान्टको हालै सरकारी टोलीले निरीक्षण गरेको छ ।

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, वैकल्पिक ऊर्जा प्रबद्र्धधन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल तथा वैकल्पिक ऊर्जाका प्राविधिकसहित ७ जनाको टोलीले प्लान्टको स्थलगत निरीक्षण गरेको हो ।

वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले नेपालमा वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदै आएको छ । गोबर ग्यास, बायो ग्यास, हावाबाट बिजुली, पानी घट्टबाट बिजुली, माइक्रो हाइड्रो, सौर्य ऊर्जाबाट बिजुली, बायोमासजस्ता वैकल्पिक ऊर्जाका स्रोतका लागि अनुदानसमेत दिँदै आएको छ ।

केन्द्रले शहरी क्षेत्रबाट निस्कने फोहोर, गोबर ग्यास, सौर्य ऊर्जा, हावाबाट बिजुलीजस्ता वैकल्पिक ऊर्जाका क्षेत्रमा काम गर्दै आएको कार्यकारी निर्देश रामप्रसाद धितालले बताए ।

देशका १८ प्रतिशत बिजुलीको पहुँच नपुगेका ठाउँमा र विकासोन्मुख शहरी क्षेत्र तथा विकासशील शहरी क्षेत्रमा खाना पकाउने ग्यासको समस्या भएकोले त्यसको न्युनिकरणका निम्ति वैकल्पिक बायो ग्यासको लागि विषेश जोड दिइएको धितालको भनाइ छ ।


वेस्ट इनर्जी (फालिएको कुहिने फोहोरबाट निस्किने ऊर्जा)को रूपमा शहरबाजरबाट निस्कने कुहिने फोहोर, गाइबस्तुको गोबर, चिनी मिलबाट निस्कने फोहोर आदिलाई ऊर्जाकोरूपमा विकास गर्नका लागि केन्द्रले ठूलो परियोजना अघि बढाएको छ ।
परियोजनाअन्तर्गत भैरहवानजिकै नवलपरासीको सुकौलीमा प्लान्ट निर्माण सम्पन्न भई उत्पादनसमेत शुरु भइसकेको छ, स्याङ्जाको पुतली बजारनजिकै निर्माण सम्पन्न भएको प्लान्ट उत्पादन शुरु गर्ने चरणमा छ । यस्तै पोखराको मजुवामा निमार्णाधीन अवस्थामा छ, जसको ५० प्रतिशत काम सम्पन्न भएको छ ।

चितवन र धरानमा पनि यस्तै प्लान्ट निर्माणको प्रक्रिया अघि बढेको छ ।

यसको मुख्य उद्देश्य एलपी ग्यासलाई विस्तापित गरी बायो ग्यासलाई अगाडि ल्याउनु र त्यसबाट निस्किने कम्पोस्ट मललाई बढावा दिनु हो । बजारबा निस्कने फोहोरबाट विद्युतीय शक्ति निस्कने र वातारणमा प्रदुषणको मात्रा पनि कम हुने धितालको तर्क छ ।
 

कस्तो हुन्छ प्रक्रिया ?
यो वातावरणमा रहेका कुहिने बस्तुलाई कुहाएर त्यसबाट ऊर्जा उत्पादन गर्ने प्रक्रिया हो । यो मेमरेन टोक्नोलोजीमा आधारित छ । कच्चा पदार्थलाई एकै ठाउँमा जम्मा गरी ठूलो डाइजस्टरमा राखिन्छ र त्यसले ग्यास तथा मल निकाल्दछ । यसरी निस्किने ग्यासलाई माथि बेलुनमा जम्मा गरिन्छ । त्यसपछि ग्यासलाई हाई कम्प्रेस गरी सिलिण्डरमा भरिन्छ ।


कच्चा पदार्थकोरूपमा गाईवस्तुको मल, बङगुरको मल, पोल्ट्री फर्मबाट निस्किएको फाहोरलाई प्रयोग गरिन्छ । साथै बजारबाट निस्किने कुहिने फोहोर पनि यसका लागि उपर्युक्त कच्चा पदार्थ हो ।

विगत २५/३० वर्षदेखि गोबर ग्यासमा जोड दिँदै आएको वैकल्पिक ऊर्जा केन्द्रले ठूला बायो प्लान्ट निर्माणमा पनि प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको केन्द्रका इञ्जिनियर प्रकाश अर्याल बताउँछन् । ‘गोबर ग्यास जस्तै गाईभैँसीको मल र अन्य कुहिने वस्तुबाट उत्पादन हुने भएकाले यसलाई गोबर ग्यासको ठूलो रूप मान्न सकिन्छ,’ इञ्जिनियर अर्यालले भने, ‘तर धेरै कच्चा पदार्थ लाग्ने र व्यवसायिकरूपमा पनि विकास गर्न सकिने भएकाले यसलाई बायो ग्यास प्लान्ट भनिएको हो ।’

यसबाट निकस्ने ग्यास वातावरणीय हिसाबले पनि राम्रो हुने र नेपालजस्तो कृषि प्रधान मुलुकमा कृषिमा व्यवसायिकता ल्याउन सहयोग पुग्ने अर्यालको भनाइ छ ।
यसले फोहोरलाई कच्चापदार्थको रूपमा लिने भएकाले फोहोरबाट प्रदूषण नियन्त्रणमा पनि सघाउँछ । यसले नेपालमा खाना पकाउने ग्यासको मागलाई व्यवस्थापन गर्न पनि सघाउने भएकाले सरकारले प्रोत्साहित गर्दै लैजान सकेमा ग्यासमा आत्मनिर्भर हुन सकिने अर्याल बताउँछन् । 

 

 

 

 

 


 

फागुन २८, २०७४ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस