दुर्घटनाग्रस्त विमान पहिले पनि रनवेबाट चिप्लिएको पत्ता लाग्यो

काठमाडौं, २९ फागुन — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको यूएस–बांगला विमान पहिले पनि नीलफामारीस्थित सईदपुर विमानस्थलमा चिप्लिएको हुनसक्ने ढाकाट्रिब्यून पत्रिकाको अन्लाइन संस्करणमा छापिएको छ । उक्त घटना सन् २०१५ को सेप्टेम्बर ४ मा भएको थियो । 

उक्त घटनामा यही बम्बार्डियर ड्याश ८ क्यू४०० विमान परेको थियो । यसको पुछारमा रहको नम्बर एस२–एजीयूबाट पहिचान खुलेको हो । 

ढाका जानका लागि उड्न लाग्दा यो विमान चिप्लिएको थियो । त्यतिखेर विमानमा ७४ यात्रु थिए तर कुनै हताहतीको खबर आएको थिएन । 

विमानका पाङ्ग्राहरू अड्किएका थिए जसले गर्दा यो पार्किङ बेमा अवतरण गर्न असमर्थ भएको थियो अनि घाँसतिर चिप्लिएको थियो । 

घटना हुनेबित्तिकै इन्जिनीयरहरूलाई एउटा हेलिकप्टरमा राखेर ढाकाबाट ल्याइएको थियो । उनीहरूले विमानको प्राविधिक मर्मत गरेका थिए । घटनामा विमानका चक्काहरू क्षतिग्रस्त भएका थिए । 

ढाका ट्रिब्यूनले सन् २०१५ को उक्त घटनाको समाचार अन्य पत्रिकाका समाचारसँग जुधाएर हेरेको थियो अनि त्यसका तस्वीरहरूलाई पनि विभिन्न कोणबाट नियालेको थियो । ती सबैबाट विमानको पहिचान पुष्टि भएको हो । 

यसबारेमा यूएस–बंगला एयरलाइन्सका महाप्रबन्धक कामरुल इस्लामलाई सम्पर्क गर्दा उनले रिसाउँदै यी दाबीहरूलाई अस्वीकार गरे । 

उनले भने, ‘यो पूर्णतया गलत दाबी हो । हाम्रो बदनाम गर्नका लागि मानिसहरू जानजान गलत सूचना फैलाइरहेका छन् । काठमाडौंमा दुर्घटनाग्रस्त विमानमा यसअघि कुनै पनि प्राविधिक समस्या थिएनन् ।’

ढाका ट्रिब्यूनबाट

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस