सामूहिक बलात्कारमा परेकी आठ वर्षीया बालिकालाई इजरायलबाट आर्थिक सहयोग

फागुन २९, २०७४

इजरायल २९ फागुन– पर्साको पटेवासुगौली गाउँपालिकाकी एक बालिकालाई इजरायलबाट आर्थिक सहयोग गरिएको छ । 

गएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात मार्च ८ तारिखका दिन सो गाउँपालिकाकी सामुहिक बलात्कारमा परेकी आठ वर्षीया ती बालिकालाई नेकपा (एमाले) को प्रवासी संगठन प्रवासी नेपाली मञ्च इजरायलले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 


१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रवासी नेपाली मञ्च इजरायलको महिला विभागद्वारा आयोजना गरिएको कार्यक्रमबाट सो रकम संकलन गरेको प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष तीर्थ गौतमले बताए । 
सामुहिक बलात्कारमा परेर स्वास्थ्य अवस्था गम्भीर भएकी ती बालिकाको काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  
पीडित बालिकाको उपचारमा राहत पुगोस् भनेर संकलित रकम एमाले पोलिटब्युरो सदस्य तथा प्रवास विभाग प्रमुख सांसद बिन्दा पाण्डेमार्फत हस्तान्तरण गरिएको अध्यक्ष गौतमले जानकारी दिए । सो रकम बालिकाको रेखदेखमा सक्रिय रहेको संस्था रक्षा नेपालकी दुर्गा पाण्डेलाई उपलब्ध गराइएको हो । 

मञ्चले एउटा अबोध बालिकालाई बलात्कृत गर्न पछि नपर्ने मानवरुपी नरपिचासुलाई हदैसम्मको कारवाही गरिनुपर्ने र बालिकाको अध्ययन लगायतका खानबस्नको ब्यवस्था गर्न नेपाल सरकारसमक्ष माग गर्दै उनको स्वास्थ्य उपचारका लागि सक्दो सहयोग गरिदिनहुन विभिन्न संघसंस्था तथा ब्यक्तिलाई अनुरोध गरेको छ ।  
 

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस