सिंगापुरका दुई कम्पनीले उत्तर कोरियालाई अवैध रूपमा विलासी सामान पठाएको खुलासा

काठमाडौं, २९ फागुन — संयुक्त राष्ट्रसंघले तयार पारेको एक प्रतिवेदनमा सिंगापुरका दुई कम्पनीले प्रतिबन्धलाई उल्लंघन गर्दै उत्तर कोरियालाई विलासी सरसामान पठाएको खुलासा भएको छ । 

उक्त प्रतिवेदन मस्यौदा लीक गरिएको हो । अन्तिम प्रतिवेदन सुरक्षा परिषद्समक्ष पेश गरिएको छ र यही हप्ता प्रकाशित हुने सम्भावना छ । 

सिंगापुर सरकारले यो विषयका बारेमा आफूलाई थाहा भएको र सम्भावित अपराधका बारेमा भरपर्दो सूचना भए नभएको विषयमा अनुसन्धान शुरू गरिएको बताएको छ । 

राष्ट्रसंघ र सिंगापुर दुवैले उत्तर कोरियालाई विलासी वस्तु बेच्न प्रतिबन्ध लगाएका छन् । 

विगत दुई वर्षमा उत्तर कोरियाविरुद्धको विश्वव्यापी प्रतिबन्ध झन् कसिएको छ । यसबीचमा प्योङयाङले लगातार आणविक परीक्षण गरिरहेको छ अनि क्षेप्यास्त्र परीक्षण पनि जारी राखेको छ । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच अभूतपूर्व वार्ता हुन लागेको स्थितिमा राष्ट्रसंघीय प्रतिबन्ध कायमै रहेको छ । 

सिंगापुरका कम्पनीहरूले गरेको उल्लंघन प्रमाणित भएमा एसियाभरि यस्ता कति उल्लंघन भएका होलान् भनी प्रश्न उठ्ने विश्लेषकहरू बताउँछन् । 

बीबीसीबाट
 

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस