विद्या भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

फागुन २९, २०७४

काठमाडौं २९ फागुन– वाम गठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । 

मंगलवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईलाई पराजीत गर्दै भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी हुन् । 


ADVERTISEMENT

भण्डारीले ३९ हजार २७५ र रार्इले ११ हजार ७३० मतभार प्राप्त गरेको एमाले सांसद रवीन्द्र अधिकारीले जानकारी दिए । 

राष्ट्रपति चयनका लागि मंगलवार भएको निर्वाचनमा संघीय संसदका ३ सय २६ र प्रदेश सभाका ५ सय ३६ गरी ८ सय ६२ जनाले मतदान गरेका थिए ।

स्वतन्त्र सांसद डा बाबुराम भट्टराई सहित प्रतिनिधिसभाका ५ र प्रदेश सभाका १३ सांसद मतदानमा अनुपस्थित थिए ।

भण्डारीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले मतदान गरेका थिए । 

भण्डारी यसअघि ११ कात्तिक २०७२ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
 

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस