राष्ट्रपतिको सपथ आज अपरान्ह ४ बजेको लागि तय

काठमाडौं, ३० फागुन– दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीको सपथ बुधबारका लागि तय भएको छ । बुधबार अपरान्ह ४ बजेको लागि सपथग्रहणको कार्यक्रम तय भएको शीतल निवास स्रोतले लोकान्तरलाई जानकारी दियो ।  
भण्डारीलाई राष्ट्रपति भवन शीतलनिवासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ दिलाउनेछन् । संविधानमा राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ दिलाउने व्यवस्था रहेको छ । 

राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्  । 
निर्वाचनमा उनले  ३९ हजार २७५ मतभार प्राप्त गरेकी थिइन् । 


यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त  गरिन् । 
उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो । 

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए ।  कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए । 
भण्डारी राष्ट्रपतिमा निर्वाचित भएसँगै मंगलबार साँझ नै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारी शीतल निवास पुगेर  विजयी प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई ज्ञापन गरेको थियो । 
राष्ट्रपतिको  कार्यकाल पाँच वर्षको हुनेछ । 
 

फागुन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस