महेन्द्रनगरमा आधुनिक सुविधासहितकाे व्यवसायिक भवन बन्ने

महेन्द्रनगर, ६ चैत– भीमदत्त नगरपालिकाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरकाे सब्जीमण्डीमा व्यवसायिक भवन बनाउन गुरु योजना बनाएको छ । नगरपालिकाले सितारा परामर्शदातालाई गुरु योजना बनाउने जिम्मेवारी दिएको थियो ।

परामर्शदाताले विभिन्न पक्षसितका छलफल र सुझावका आधारमा गुरु योजना बनाएर  नगरपालिकालाई हस्तान्तरण गरिसकेकाे छ । गोल मार्केटको बाल उद्यान र व्यवसायिक भवनको संयुक्त गुरु योजना बनाएको छ । 

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले व्यवस्थित र नमूना सहरीकरणका लागि गुरु योजना बनाएर व्यवसायिक भवन र बाल उद्यान बनाउन लागिएको बताए । ‘अहिले गुरु योजना बनाएका छौं, स्रोत  जुटाएर छिटो निर्माण सुरु गर्छौ,’ नगर प्रमुख विष्टले भने । 

स्थानीय तह निर्वाचनमा नगर प्रमुख विष्टले व्यवस्थित सहरीकरण र भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले गोल मार्केटमा बाल उद्यान र सब्जीमण्डीमा व्यवसायिक भवनको गुरु योजना तयार गरिएको जानकारी दिए ।

‘यी दुबैको संयुक्त गुरु योजना बनाएका छौ’ उनले भने,‘अब त्यसै अनुसार अघि बढ्छौ, बजेट जुटाएर निर्माणतिर जान्छौं ।’ सब्जीमण्डीमा निर्माण हुने व्यवसायिक भवनका लागि ५३ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

चार तले व्यवसायिक भवनमा सपिङ्ग युनिट, कफी हाउस,  किड्स जोन, पार्किङ्ग क्षेत्र लगायतका संरचना निर्माण हुने गुरु योजनामा उल्लेख गरिएको छ । ‘यो भवनको भुँई तलामा पार्किङ्ग स्थल हुनेछ,’ इन्जिनियर ऐरले भने ।

यसैगरी बाल उद्यानका लागि ३४ लाख खर्च अनुमान गरिएको छ । उद्यानमा ब्याडमिन्टन कोर्ट, खुला मैदान, मनोरञ्जन स्थल, घुम्ने ट्रयाक लगायतका पूर्वाधार निर्माण गरिने गुरु योजनामा उल्लेख गरिएको छ । बाल उद्यानको एक स्थानमा वृक्षारोपण गरी मनोरम स्थल बनाइने उल्लेख गरिएको छ ।

चैत ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस