फलोअप : नेता र पुलिसलाई छुट्टै हलमा परीक्षा, विद्यार्थी निष्कासित गरेपछि होहल्ला र नाराबाजी
जनकपुरधाम, ९ चैत-त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षालाई मार्यादित बनाउन केन्द्रबाटै खटिएको टोली जनकपुर आएर परीक्षामा कडाइ गरेपछि विद्यार्थीहरूले विरोध गरेका छन् ।
जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब)मा जारी स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा तथा जनकपुरका विभिन्न कलेजमा सञ्चालित स्नातक तह चौथो वर्षको परीक्षा मर्यादित बनाउन त्रिविका परीक्ष सहनियन्त्रक अखिलेश कुमार सिंह नेतृत्वको टोली जनकपुर आएको हो । केन्द्रबाटै टोली आएपछि परीक्षामा कडाइ गरिएको छ भने अमर्यादित गतिविधि गर्ने परीक्षार्थीलाई धमाधम निष्कासन गरिएको छ ।
परीक्षामा व्यापक कडाइ भएपछि विद्यार्थीहरू विरोधमा उत्रिएका छन् ।
शुक्रवार बिहान स्नातक तह चौथो वर्षको परीक्षामा कडाइ गर्नुका साथै केही परीक्षार्थीलाई निष्कासन गरेपछि विद्यार्थीहरूले परीक्षा फाँटमै आएर होहल्ला गरेको स्थानीय पर्यवेक्षक विनोदलाल कर्णले बताए ।
‘क्याम्पस प्रशासन, केन्द्रीय टोली, स्थानीय टोलीसमेतविरुद्धमा नाराबाजी गर्दै विद्यार्थीहरूको हुलले परीक्षाफाँटमा आएर झडप गर्ने तथा हात हालाहाल गर्ने स्थितिसम्म आइपुग्दा सुरक्षाकर्मीहरूको मद्दतले ज्यान जोगाएँ,’ पर्यवेक्षक कर्णले भने, ‘क्याम्पसमा पढाइ नभएकाले परीक्षा कडाइ गर्नुभएन, चिट चोरी गर्न दिनुपर्यो जस्ता कुरा गर्दै हामीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।’
तर विद्यार्थी नेता रोशन मिश्रले भने, ‘परीक्षा कडाइ हुनुपर्छ भन्ने कुराको आफूहरूले विरोध नगरे पनि निजी कलेजहरूमा परीक्षालाई पैसाको चलखेलमा खुकुलो पारिएको र सरकारी कलेजका विद्यार्थीलाई मात्र कडाइ गरिएको छ ।’ सबै परीक्षा केन्द्रहरूमा एकैनासले परीक्षा सञ्चालन हुनुपर्ने उनको माग छ ।
स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षामा राराब कलेजमा समेत परीक्षामा भेदभाव गरिएको विद्यार्थीहरूले आरोप लगाएका छन् । राजनीति विज्ञान विषयको परीक्षामा धनुषाका प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मले परीक्षा दिइरहेका उनीहरूलाई छुट्टै ब्लकमा राखेर विषेश सुविधा दिइएको विद्यार्थीहरूको आरोप छ ।
संघीय प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक सुभासचन्द्र चौधरीदेखि प्रहरी निरीक्षक शशि तथा नेकपा एमालेका केन्द्रीय सदस्य श्रीप्रसाद साह लगायतका परीक्षार्थीलाई अलग्गै कोठामा राखेर परीक्षा लिइएकोमा विद्यार्थीहरूले आपत्ति जनाएका छन् ।
क्याम्पस प्रमुख तथा केन्द्राध्यक्ष प्रा.डा. विजयलाल दास विगतमा एउटा बेञ्चमा तीनजना विद्यार्थीलाई राख्ने गरिएको र अहिले दुईजना मात्र राख्दा पहिलेकै ठाउँमा नअटेकाले उनीहरूलाई अर्कै कोठामा राखिएको बताउँछन् ।
भीआईपी परीक्षार्थीलाई अलग सुविधा नदिइएको स्थानीय पर्यवेक्षक कर्णको दाबी छ । ‘हामीले एसएसपी चौधरीलाई पनि अन्य सामान्य परीक्षार्थीजस्तै सबैचेक जाँच गरेर परीक्षामा बसाएका थियौँ, अरु विद्यार्थीहरू जस्तै उनको पनि जुत्तासमेत खोलाएर चिट वा अन्य कागजात छ कि छैन भन्ने कुराको चेकजाँच गरेका थियौं,’ उनले भने ।
शुक्रबारको परीक्षामा अमर्यादित गतिविधि गर्ने ३० परीक्षार्थीलाई निष्कासन गरिएको त्रिवि केन्द्रबाट खटिएका पर्यवेक्षक नवोनारायण झाले बताए । परीक्षाहलमा प्रवेश गर्नुअघि चेकजाँच गरेर जान दिइएको तर, चेतावनी दिँदा पनि अमर्यादित क्रियाकलाप गरिरहेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ ।
जनकपुरका निजी कलेजहरूमा पनि परीक्षा मर्यादित बनाउन कडाइ गरिएको त्रिविका परीक्षा सहनियन्त्रक अखिलेश कुमार सिंहले जानकारी दिए । शुक्रबार मात्रै राजर्षीजनक क्याम्पसको परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरिरहेका ३ जना परीक्षार्थीलाई निष्कासन गरिएको छ,’ सिंहले भने ।
आज डेढ घण्टाको मात्र परीक्षा भएकाले सबै केन्द्रमा पुग्न नभ्याएको उनले बताए । आफू जनकपुरको परीक्षा मर्यादित बनाउन कफल नै बाँधेर आएको भन्दै उनले मोडल क्याम्पस परीक्षाकेन्द्रमा पनि पुगेर अमर्यादित गतिविधि नियन्त्रण गरेर छाड्ने बताए ।
परीक्षा विद्यार्थीमाथि गरिएको कारबाही र सरोकारवालाहरूको प्रतिक्रिया भिडियो :
थप समाचार
- सर्वोच्चको आदेशपछि डीआईजीको फाइल खोल्दा गृहमा ‘भुइँचालो’ ! [लोकान्तर खोज]
- कहाँ जान्छ तस्करीको सुन ? तीन वर्षमै समातियो पाँचसय किलो !
- ३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
- प्रधानन्यायाधीश विवादमा नयाँ ‘ट्विस्ट’, कल्याण श्रेष्ठले पराजुलीका कागजात प्रमाणित गरेको खुलासा [कागजात सहित]
- उपमहानगर, गुठी संस्थान र वडा सचिव मिलेर मन्दिरको जग्गा व्यक्तिको नाममा गर्ने प्रयास [खोज]
- मासु खानेहरू होशियार ! पशुपक्षी जाँचै नगरी बेचिन्छ निरोगिताको प्रमाणपत्र [लोकान्तर खोज]
प्रतिक्रिया दिनुहोस