वैशाख १ गते सरकारले विशेष घोषणा गर्छ : मुख्य सल्लाहकार रिमाल [भिडियो अन्तर्वार्ता]

काठमाडौं, १९ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले आउँदो वैशाख १ गते सरकारले विकास, समृद्धि र सामाजिक परिवर्तनका सन्दर्भमा महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । त्यस्तो घोषणा ऐतिहासिक र दीर्घकालीन महत्त्वको हुने उनको भनाइ छ ।

लोकान्तर डट्कमको भिडियो प्रस्तुति 'लोकान्तर शो'मा विमल गौतमसँग कुरा गर्दै रिमालले कर्णाली क्षेत्रमा अवस्थित पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने राराबाट प्रधानमन्त्री ओलीले  दीर्घकालीन महत्त्व बोकेका केही योजना घोषणा गर्ने दाबी गरे । ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउने सबै कुरा प्रधानमन्त्रीको उक्त घोषणमा समेट्न सम्भव र उचित हुने छैन तर वैशाख १ गतेकै घोषणाबाट सरकारले मुलुकमा गर्न खोजेका आर्थिक समृद्धिको खाका झल्कने योजना सार्वजनिक हुनेछन्,’ रिमालले भने ।

बाहिर प्रचार गरिएजस्तो प्रधानमन्त्री ओलीलाई चीन र भारतबाट एकै मिति र समयमा भ्रमणको निम्तो नआएको रिमालले स्पष्ट पारे ।

‘एउटै मितिमा दुवै छिमेकबाट भ्रमणको निम्तोे आएको र ओलीले भारत भ्रमणलाई पहिलो रोजाइमा पारेको भन्ने खबरमा सत्यता छैन,’ रिमालले भने, ‘चीनबाट पनि भ्रमणको निम्तो आएको छ तर मिति तोकेर आएको छैन । भारत भ्रमणपछि चीनको भ्रमण हुन्छ ।’

हेर्नुहोस्, रिमालसँगको विस्तृत भिडियो अन्तर्वार्ता :
 

चैत १९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस