चीनलाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने कुरा गरेको हुनसक्छ : डा. भट्टराई [भिडियो अन्तर्वार्ता]

चैत २८, २०७४

काठमाडौं, २८ चैत-पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीनले अगाडि सारेको 'बेल्ट एण्ड रोड इनिसिएटिभ' (बीआरआई)को अवधारणालाई रोक्न भारतले काठमाडौंमा रेल ल्याउने कुरा गरेको हुनसक्ने टिप्पणी गरेका छन् ।

‘चीनले बीआरआई परियोजनामार्फत् युरोप र दक्षिण एसियाका मुलुकलाई जोड्ने अवधारणा ल्याएको छ, भारतले कुनै न कुनै बाहानामा यसलाई रोक्न खोजिरहेको छ,’ लोकान्तर डटकमको कार्यक्रम ‘लोकान्तर शो’मा अन्तर्वार्ता दिँदै डा. भट्टराईले भने, ‘चीन यता प्रवेश गर्न खोज्ने र भारत अनेक बहानामा रोक्न खोज्ने गरिरहेका छन्, हामीले दुवै छिमेकीलाई सन्तुलनमा राख्दै आफ्नो राष्ट्रिय हितको स्वार्थ पूरा गर्न लाग्नुपर्छ ।’


ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण व्यक्तिगत सम्बन्ध सुधारमा उपलब्धिपूर्ण भए पनि मुलुकले कुनै उपलब्धि हाँसिल गर्न नसकेको उनको टिप्पणी छ ।

साथै भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता सिद्धान्तभन्दा स्वार्थकेन्द्रित रहेकोले टिकाउ नहुने जिकिर गरे । ‘दुई पार्टीको चरित्र र पात्रको प्रवृत्ति हेर्दा त्यति टिकाउ होला जस्तो देखिँदैन, एकाध वर्षमै विवाद शुरु हुने देख्छु,’ उनले भने ।

भट्टराईले कांग्रेस पनि सुधारको पक्षमा नदेखिएको बताए । ‘कांग्रेसले शीतयुद्धकालीन शब्द प्रयोग गरेर तर्साउन खोजिरहेको छ, वामपन्थी भनिएका पार्टीको कार्यक्रम र चरित्र नहेरी कांग्रेसले अधिनायकवादको कुरा गर्नु दुर्भाग्यपूर्ण छ,’ उनले भने । भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता आगामी दिनमा झन् टड्कारो बन्ने दाबीसमेत गरे ।

अहिले भट्टराई प्रतिनिधिसभामा आफ्नो पार्टीबाट एक्लो सांसद छन् । स्कूले जीवनदेखि प्रथम हुँदै पहिलो पंक्तिमा रहने गरेका र प्रधानमन्त्रीसमेत भइसकेका भट्टराईलाई संसदको पछिल्लो सीट ‘ब्याक बेन्च’मा बस्दा कस्तो अनुभव भयो त ?  

 

 

चैत २८, २०७४ मा प्रकाशित

सुशील पन्त

लोकान्तरका समाचार संयोजक सुशील पन्त समसामयिक राजनीति र  संसदीय मामिलामा कलम चलाउँछन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस