कसरी जन्मियो चन्द्रमा, जान्नुस् पौराणिक कथा

चैत ३०, २०७४

सुन्दर र चम्किलो चन्द्रमालाई हिन्दू धर्ममा देवताको स्थान दिइएको छ । पूजनीय चन्द्रदेवको जन्मको कथा पुराणहरूमा फरक फरक रूपमा प्रस्तुत गरिएको छ । वैदिक साहित्यमा चन्द्र अर्थात् सोमको स्थान प्रमुख देवताका रूपमा रहेको छ । अग्नि, इन्द्र, सूर्य लगायतका देवहरू जस्तै सोमको स्तुतिका मन्त्रहरूको रचना ऋषिहरूले गरेका हुन् । 

पुराणका अनुसार चन्द्रको उत्पत्ति

मत्स्य एवं अग्नि पुराण अनुसार ब्रह्माजीले सृष्टि रचना गर्ने विचार गरेपछि सबभन्दा पहिला संकल्पको माध्यमले मानसपुत्रको रचना गरे । उनीहरूमध्येका एक मानसपुत्र ऋषि अत्रिको विवाह ऋषि कर्दमकी कन्या अनसूयासँग भएको हो । उनीहरूबाट दुर्वासा, दत्तात्रेय र सोम तीन पुत्र उत्पन्न भए । सोम चन्द्रमाकै अर्को नाम हो । 

पद्मपुराणमा चन्द्रको जन्मको अर्को वृत्तान्त पाइन्छ । ब्रह्माले आफ्नो मानसपुत्र अत्रिलाई सृष्टि विस्तार गर्ने आज्ञा दिनुभयो । यसका लागि महर्षि अत्रिले अनुत्तर नामक तप आरम्भ गर्नुभयो । तपस्याकालमा एक दिन महर्षिका नेत्रबाट जलका केही थोपा चुहिए । ती थोपा अत्यन्त चम्किला थिए । दिशाहरूले स्त्रीरूप धरेर पत्रप्राप्तिको कामना गर्दै ती थोपा पिए जुन उनीहरूको पेटमा गर्भ रूपमा स्थापित भयो । तर त्यस चम्किलो गर्भलाई दिशाहरूले राखिरहन सकेनन् र त्यागिदिए । त्यही त्यागिएको गर्भलाई ब्रह्माले पुरुष रूप दिए जो चन्द्रमाको रूपमा प्रख्यात भयो । देवताहरू, ऋषिहरू र गन्धर्वहरूले उनको स्तुति गरे । उनकै तेजबाट पृथिवीमा दिव्य औषधि उत्पन्न भए । ब्रह्माजीले चन्द्रमालाई नक्षत्र, वनस्पति, ब्राह्मण र तपको स्वामी नियुक्त गरे । 

स्कन्द पुराणका अनुसार देवता तथा दैत्यहरूले क्षीरसागर मन्थन गरेपछि त्यहाँबाट चौध रत्न निस्केका थिए । चन्द्रमा तिनै चौध रत्नमध्ये एक हुन् जसलाई लोककल्याणका लागि मन्थनबाट प्राप्त कालकूट विष पिउने भगवान् शंकरले आफ्नो शिरमा राख्नुभएको छ ।

चन्द्रमाको विवाह दक्षप्रजापतिका छोरीहरू २७ नक्षत्रसँग भएको थियो । सत्ताईस नक्षत्रको भोगबाट एक चन्द्रमास पूर्ण हुन्छ । 

वेबदुनिया


ADVERTISEMENT

चैत ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस