भक्तपुर नगरले बनायो स्थानीय पाठ्यक्रम,  कक्षा १ र ६ मा  पढाइ

बैशाख ३, २०७५

भक्तपुर, ३ बैशाख-भक्तपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेकोे छ ।भक्तपुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि नै सबै विद्यालयमा अध्यापन थाल्न नगरभित्रका ९२ वटा विद्यालयका प्रधानाध्यापकलाई पाठ्यक्रमको नमुनासहित निर्देशन दिएको छ, राजधानी दैनिकमा खबर छ  ।

स्थानीय पाठ्यक्रम तयारी समितिले नगरप्रमुखलाई आइतबार पाठ्यक्रम हस्तान्तरण गरेलगत्तै नगरपालिकाले नमुनाका रूपमा कक्षा १ र ६ मा पाठ्यक्रम लागू गर्न भनेको हो । सय पूर्णांकको सो पाठ्यक्रम लागू गर्न नगरप्रमुख सुनील प्रजापतिले निर्देशन दिएका छन् । कार्यदलले स्थानीय सामाजिक, इतिहास, खेलकुद र प्रविधि समेटेर ११ वटा इकाइमा पाठ्यक्रम तयार पारेको छ ।


आइतबार नगरप्रमुख प्रजापतिले पाठ्यक्रमको नमुना बुझ्दै विद्यालयलाई पठनपाठन थाल्न निर्देशन दिएका हुन् । ‘दुई महिनामा पाठ्यक्रम तयार गरी हामीले प्रयोग गरेका हौं,’ नगरप्रमुख प्रजापतिले भने । २६ माघमा कार्यदल गठन गरिएको थियो ।

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस