ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य : कोमी

बैशाख ३, २०७५

काठमाडौं, ३ वैशाख–अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रुपमा योग्य नभएको बताएका छन् । महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने ट्रम्प राष्ट्रपति पदका लागि योग्य नभएको कोमीले बताएका हुन् । 

एबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले रुससँग ट्रम्पलाई तर्साउन प्रयोग गर्न मिल्ने सामाग्री भएको हुनसक्ने बताए । अघिल्लो वर्ष ट्रम्पले पदबाट बर्खास्त गरेपछि दिएको पहिलो टेलिभिजन अन्तर्वार्तामा कोमीले यी धारणाहरू राखेका हुन् । 

उनले राष्ट्रपति ट्रम्पले न्यायलाई अवरोध गरिरहेको केही प्रमाण निश्चित रुपमा रहेको उल्लेख गरेका छन् । कोमीले ट्रम्प राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मानसिक रुपमा अयोग्य नभए पनि निरन्तरको झुठोपन र महिलाबारेका धारणाका कारण उनी असक्षम रहेको उल्लेख गरे । 

ट्रम्पले ट्विटरमा कोमीको आलोचना गर्दै उनलाई ‘ठग’ र ‘नराम्रो व्यक्ति’ भनेका छन् । उक्त अन्तर्वार्ता प्रसारण हुनुभन्दा घण्टौं अघि कोमीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले उनले ‘धरै ढाँटेको’ उल्लेख गरेका थिए । 
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस