वृद्धाश्रममा आँसु बगाउँदै आमा, भन्छिन्- 'छोरीले एउटा कोठा दिए भत्ता खाएर बाँच्थें'

बैशाख ३, २०७५

काठमाडौं, ३ वैशाख- बिहान १० बजे पशुपतिस्थित वृद्धाश्रममा पुग्दा खाना खाने समय भएको थियो । आश्रममा रहेका सबै वृद्धवृद्धाहरू खाना खाँदै थिए । खाना खान नसक्नेलाई त्यहाँ आउने स्वयंसेवकहरूले खाना खुवाइदिँदै थिए । आश्रममा खाना नखाइ एक वृद्धा टोलाइरहेकी थिइन् ।

‘आमा आरामै हुनुहुन्छ ? खाना खानुभएको छैन ?’


ADVERTISEMENT

‘हजुर आरामै छु नानी ।’ टोलाइरहेकी उनले जवाफ दिइन्, ‘राम्रोसँग खानाखान सक्दिनँ, एकछिनमा दूध खान्छु, ल्याइदिसकेका छैनन् ।’

आज आमाको मुख हेर्ने दिन । आश्रममा कहिलेकाहीँ भेट्न आउने गरेकी छोरी आज पनि आउँछिन् कि भनेर उनी बाटो हेर्दै टोलाइरहेकी थिइन् । एकछोरा र एक छोरीकी ७० वर्षीया आमा धनमाया जंघमले १० वर्षदेखि वृद्धाश्रममा बस्दै आएको बताइन् ।

छोराछोरीको बिहेपछि आफूले काम गर्न सक्दासम्म उनी घरमै बसिन् । जब आफूले काम गर्न नसक्ने भइन्, तब उनी वृद्धाश्रममा आइन् । परिवारमा दुःख देखेर आफूले बुढेसकालमा स्याहार नपाउने बुझेर आश्रम आएकी उनलाई अहिले घर फर्कने रहर छ ।

‘घरमा हेलाँ भएर आएको होइन, घरको दुःख देखेर, मेरा लागि घरमा राम्रो छैन भनेर म आफैँ आएको थिएँ । यहाँ पनि दिक्क लाग्छ । दाताले सहयोग गरेको समयमा त राम्रोसँग खान दिन्छन्, अरु समयमा त खासै राम्रो छैन,’ उनले सुनाइन् ।

छोरा शारीरिक अपाङ्ग भएकाले उनलाई भेट्न आउन सक्दैनन् । छोरी भने कहिलेकाहीँ भेट्न आउँछिन् । छोरी भेट्न आउँदा उनलाई पनि छोरीसँगै जान मन लाग्छ, तर ज्वाँइले छोरीलाई भेट्न आउँदासमेत गाली गर्ने गरेको थाहा पाएकी उनले आफ्नो चाहनालाई मनमै दबाएर राखेकी छन् ।

‘छोरीले एउटा कोठा मात्रै दिए पनि मलाई सरकारले भत्ता दिन्थ्यो, म त्यही भत्ताले बाँच्न सक्थेँ । तर के गर्नु, ज्वाइले भेट्न आउन समेत दिदैनन् रे ! छोरी लुकीलुकी भेट्न आउँछे । कसरी लैजान सक्थी र मलाई !’ लोकान्तरकर्मीसँग यसो भन्दै गर्दा उनले आँसु थाम्न सकिनन् ।

पशुपति वृद्धाआश्रममा उनीजस्तै धेरै आमाहरु बस्छन्  । बिहानको समय भएकाले सबै खाना खाँदै थिए । 

आश्रमको भित्रपट्टि ४ जना युवतीसँग चिटिक्क परेर बसेकी लक्ष्मीदेवी थापा हँसिलो चेहरामा गफ गर्दै थिइन् । आश्रममा सबैभन्दा चिटिक्क र खुसी देखिने थापाको जन्म र रगतकै नाता पर्ने आफन्तहरू छैनन् । सानैमा आमाबुवा बितेपछि उनलाई धर्ममा लागेकाहरुले हुर्काए । उनले बिहे गरिनन् । बुढेसकाल लागेपछि आश्रममा आएर बस्न थालिन् ।

‘पहिला आउँदा त एक्लै कुनातिर बत्ति कातेर बस्थेँ । अरुको आफन्तहरू आएको, बोलेको देख्दा दुःख लाग्थ्यो,’ शुरुमा आश्रममा आएको समय सम्झदै उनले भनिन्, ‘मेरो पनि आफन्त भएको भए भेट्न आउँथे होला जस्तो लाग्थ्यो, अनि आँखाभरि आँसु हुन्थ्यो ।’

२१ वर्ष आश्रममा बिताएकी उनले अहिले धेरै छोराछोरी पाएकी छिन् । आश्रममा स्वयमसेवकको रूपमा कार्य गर्न आउनेहरू उनलाई आमा भन्छन् । उनको मीठो बोल्ने शैलीले उनलाई सबैले आमाको रूपमा माया र सम्मान दिन्छन् ।

‘२१ वर्ष भयो यो आश्रममा बसेको । शुरुमा आउँदा भन्दा अहिले धेरै राम्रो भएको छु । यहाँ नै धेरै छोराछोरी पाएकी छु, धेरै खुसी छु,’ उनले भनिन्, ‘आज आमाको मुख हेर्ने दिन बिहानैदेखि धेरै छोराछोरीले सम्झिरहेका छन् । अहिले त धेरै रमाइलो लाग्छ ।’

बैशाख ३, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार