गच्छदारविरुद्ध खनिए पुराना नेता–कार्यकर्ता, सोधे– कांग्रेसमा सम्मानजनक  स्थान खै ?

बैशाख ३, २०७५

विराटनगर, ३ बैशाख– बिजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताले कांग्रेसमा सम्मानजनक स्थान नपाएको भन्दै तीब्र असन्तुष्टि जनाएका छन् ।  प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअघि गच्छदारले  कांग्रेससँग पार्टी एकीकरण गरेका थिए । 

तर, एकीकरण भएको लामो समय बितिसक्दा पनि एकीकृत पार्टीमा सम्मानजनक स्थान नपाएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । 
 


ADVERTISEMENT

सोमबार विराटनगरमा भेला भएका लोकतान्त्रिका पुराना नेता तथा कार्यकर्ताले  एकीकृत पार्टीमा सम्मानजनक स्थान हुनुपर्नेमा जोड दिए ।  उनीहरुले आफूहरुलाई कांग्रेसमा सम्मानजनक स्थान दिलाउन नसकेको भन्दै तत्कालिन पार्टी अध्यक्ष गच्छदारको चर्को आलोचना समेत गरे । 
विराटनगरको बंगलामुखीको सभाहलमा भएको भेलाले कांग्रेससँग भएको सहमति तत्काल कार्यान्वयन गर्न र  आवश्यक पहल गर्न गच्छदारसँग माग गरेको छ । एकीकरणको समयमा भएको सहमति अनुसार यथासिघ्र सम्मानजनक समायोजनको प्रक्रिया अगाडी बढाउन चालू केन्द्रीय कार्यसमितिको बैठकबाटै निर्णय गर्न समेत उनीहरुले गच्छदारलाई दबाब दिएका छन् । 
तत्कालिन लोकतान्त्रिकका मोरङ जिल्ला  अध्यक्ष भक्तिनाथ माझीले भेला पछि   विज्ञप्ति  जारी गर्दै   पार्टी एकीकरण भएको महिनौं  बितिसक्दा पनि समायोजन हुन नसकेको प्रति असन्तुष्टि जनाउँदै तत्काल पहल गरिनुपर्नेमा जोड दिएका छन्   । 

गच्छदारसमेत सहभागि गराइएको उक्त भेलामा कार्यकर्ताले उठाएको प्रश्नको गच्छदारले 'पार्टी भित्र पहल गर्छु' भन्ने बाहेक कुनैपनि जवाफ दिन नसकेको एक  सहभागिले बताए । 

 

बैशाख ३, २०७५ मा प्रकाशित

सुमन सुस्केरा

सुमन लोकान्तरका लागि प्रदेश नम्बर एकका प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस