सिरिया हमला : अमेरिका र रुसको सैन्य प्रतिस्पर्धा

बैशाख ५, २०७५

रुसको चर्को दबाब र सैन्य प्रतिकार गर्ने चेतावनीको बेवास्ता गर्दै अमेरिकी नेतृत्वका गठबन्धन देशहरूले सिरियाली सत्ताविरुद्ध क्षेप्यास्त्र हमला गरेका छन् । अमेरिका, फ्रान्स र बेलायतले सिरियाली सत्तामाथि गरेको पछिल्लो हमलाको समर्थन र विरोधमा कुटनीतिक वाकयुद्ध अझै रोकिएको छैन, न त त्यो तत्कालै रोकिने गुञ्जायस नै छ । हमलाको सैन्य परिणामलाई लिएरसमेत रुस र अमेरिकी गठबन्धन बीचको विवाद रोकिएको छैन ।

सिरियामाथिको अमेरिकी हमला सिरियाली सत्तालाई लक्षित भए पनि प्रत्यक्ष सन्देशचाहिँ रुस र इरानलाई हो, जसको मद्दतले नै ७ वर्ष लामो बहुआयामिक युद्धको सामना गरिरहेको बसर अल असद नेतृत्वको सिरियाली सत्ता टिकिरहेको छ । हमलाको अर्को सांकेतिक चेतावनी उत्तर कोरियाको जीवनरेखा मानिएको चीनलाई पनि हो । वार्ता या युद्ध जेसुकै रोजेर भए पनि उत्तर कोरियाले बढाइरहेको आणविक खतराबाट छिटो मुक्त हुने रणनीतिक चाहना राखेको अमेरिका सिरियामा प्रतिगोटा ९ करोड नेपाली रूपैयाँभन्दा बढी मूल्य पर्ने टोमाहक क्षेप्यास्त्र प्रहार गरी चीनलाई समेत सांकेतिक चेतावनी दिएको छ ।

अमेरिकाले उत्तर कोरियाले छिटोभन्दा छिटो अमेरिकी सामरिक स्वार्थको सम्बोधन नगरे चीनकै सहायता रहे पनि सैन्य कारबाहीको विकल्प खोज्ने सन्देश दिन चाहिरहेको छ । त्यस्तै रुसले क्रिमियामाथि कब्जा गरेपछि झस्किएको अमेरिका चीनले पनि त्यही बाटो रोजेर ताइवान नियन्त्रणमा लिएको हेर्न चाह“दैन । निकै सावधानीका साथ गरिएको सैन्य हमलाको उद्देश्य सिरियाली सत्ता परिवर्तन या सैन्य हताहतिभन्दा पनि आफ्नो कारबाहीलाई जतिसुकै प्रयास गरे पनि या जुन देशको सुरक्षा छाताभित्र रहे पनि कसैले रोक्न सक्दैन भन्ने सन्देश दिनु हो । हमला सैन्य उपलब्धिभन्दा विश्वको नेतृत्व आफ्नो नियन्त्रणमै रहेको देखाउन लक्षित छ ।

यता रुस र अमेरिकाबीच बढ्दो तनावले तेस्रो विश्वयुद्धको त्रास र अड्कलबाजीहरू चर्चाको विषय रहे पनि वास्तविक यर्थाथको धरातल त्यस्तो छैन । कसैले पनि जित्न नसक्ने, तर भयाभह क्षतिको जोखिम रहेको प्रत्यक्ष सैन्य भिडन्तमा महाशक्ति देशहरू जानाजान धकेलिने अवस्था नै रह“दैन । तर पनि उनीहरू आफ्नो सामरिक अभिरुचीलाई परिपूर्ति गर्न हरतबरबाट लागिरहने हु“दा दुघर्टना निम्तिने र निश्चित आक्रमण–प्रत्याक्रमणको जोखिम भने कायमै रहन्छ ।

रुसको तुलनामा अमेरिकी सैन्य संरचना अत्याधुनिक र छरितो छ, जसले एकैसाथ धेरै देशविरुद्ध युद्धमोर्चाहरूमा जान सक्ने गरी युद्धकार्य रणनीति र उपस्थिति जनाएको छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सैन्यले खाली निसानाहरूमा अत्याधुनिक तथा निकै महंगा क्षेप्यात्रहरू प्रहार गर्नु तथा आफ्नो सुरक्षा छाताभित्र रहेको र आफ्ना सैन्य उपस्थिति रहेको देश सिरियामाथि पश्चिमा देशको सैन्य हमलाका बखत रुस मुकदर्शक बस्नुले दुवै देश जोखिम मोल्न तयार नभएको देखिन्छ । निश्चय नै सिरियामाथि पश्चिमा देशहरूले गरेको हमला रुसले रोक्ने प्रयास गर्न सक्थ्यो, तर सफलता भने हासिल गर्न सक्दैन्थ्यो ।

रुसका लागि हमला रोक्न खोज्नु भिडन्तको जोखीम मोल्न तयार हुनुपर्ने अवस्था थियो । अमेरिकी सेनाले आफ्नो कारबाहीलाई बाधा/अबरोध पुर्‍याउनेमाथि निसाना लगाउने चेतावनी दिइसकेको थियो भने, आफ्नो रणनीतिक इकाइहरूलाई परिस्थिति बिग्रिए ठूलै युद्धका लागि तयारी हालतमा राखेको थियो । अमेरिकी नौ सैन्यले सिरियामाथि पर्सियन खाडी, लाल सागर र भूमध्यसागरबाट क्षेप्यास्त्र प्रहार गरेको थियो, जसको सिधा संकेत रुसले रोक्न खोजे आक्रमक कारबाही थाल्ने सांकेतिक कदम थियो ।

अमेरिकाले सिरियाली सत्ताविरुद्ध आफ्नो कारबाहीको स्पष्ट रेखा तोकिसकेको छ, जसमा ऊ जस्तोसुकै चूनौतीको सामना गरेर भए पनि प्रतिबद्धता पूरा गराइछाड्ने जस्तो देखिन्छ । रुसले आफ्ना सैन्य केन्द्रहरू तथा उपकरणहरूमाथि अमेरिकी हमला भएमा त्यसलाई लज्जास्पद् धक्काको रूपमा लिएर मुकदर्शक भएर नबस्ने स्पष्ट छ । तर पनि अमेरिकाविरुद्ध उत्रन उसका लागि धेरै सैन्य सीमाहरू र थोरै विकल्पहरू मात्र रहेका छन् । रुसले निश्चित जवाफी कारबाहीबाहेक लामो सैन्य युद्धमा अमेरिकाको प्रतिरोध गर्नसक्ने सार्मथ्य नराख्ने यर्थाथ हो । पश्चिमा देशको सैन्य अभियानलाई अवरोध गरेमा रुसमाथि ठूलो संकट आइलाग्नेमा ऊ सचेत थियो ।

रुसको प्रमुख मनसाय नै हाल कायम रहेको अघोषित अमेरिकी सैन्य घेराबन्दीबाट मुक्त हुने र आफ्ना निश्चित रणनीतिक स्वार्थहरूमा अमेरिकाले हात नहालोस् भन्ने हो । अमेरिका भने रुसी राष्ट्रपति पुटिनको सोभियत संघ पुनस्र्थापना गर्ने महत्वकांक्षाबाट अघि बढिरहेको र आफ्नो विश्वव्यापी नेतृत्वलाई क्षयीकरण गर्न उद्दत रहेको मान्दछ । युक्रेनको क्रिमियालाई आश्चर्यजनकरूपमा आफ्नो भूमीमा गाभेपछि रुसलाई अमेरिकाले धेरै हदसम्म एक्ल्याइदिएको छ भने उसलाई लगाम लगाउन रुसनजिक रहेका युरोपेली देशहरूमा आफ्नो सैन्य उपस्थिति बढाउनुका साथै रुसी क्षेप्यास्त्रको त्रासबाट आफ्ना साझेदारहरूलाई निश्चिन्त पार्न क्षेप्यास्त्र प्रतिरोधी प्रणाली जडान गर्ने र रुसी सैन्य क्षमतलाई संकुचनमात्र होइन, निष्प्रभावी बनाउन चाहन्छ ।

रुसको तुलनामा अमेरिकी सैन्य संरचना अत्याधुनिक र छरितो छ, जसले एकैसाथ धेरै देशहरूविरुद्ध युद्धमोर्चाहरूमा जान सक्ने गरी युद्धकार्य रणनीति र उपस्थिति जनाएको छ । अमेरिकी सेनाका सबै सैन्य विभागहरू युद्धकार्यका लागि सामरिकरूपमा सक्षम रहेका छन् । अमेरिकी नौ सैन्यको उपस्थिति धेरै बृहत् र लगभग विश्वका सबै रणनीतिक समुद्री मार्गहरूमा पुग्नसक्ने गरी तैनाथ छन् । तर रुसी सैनिकको समुद्रमा खासै पहु“च छैन । त्यसैले उसले सिरियाली समुद्रमा आफ्नो सीमित नौ सैन्य अखडाहरू राखेको छ र भूमध्यसागरमा पहु“च बढाउने महत्वकांक्षा अघि सारेको छ । अमेरिकाले आफ्नो देशबाहेक अन्य देशहरूमा ८ सय स्थानमा सैन्य अखडाहरू राखेको छ भने ४ हजार भन्दा बढी आफ्नै देशभित्र सैन्य अखडाहरू रहेका छन् । तर रुसका एक दर्जन पनि सैन्य अखडाहरू देशबाहिर छैनन्, भएका सबै अखडाहरू युद्धकार्य संरचनामा छैनन् ।

रुसी सत्तामा पुटिनको आगमनपछि मात्र रुसी सेना आधुनिकीकरणको शुरुवात भएको हो । तर पनि अझै लक्ष्यभन्दा धेरै तलनै छ । उसले अमेरिकाविरुद्धको नया“ मोर्चाका रूपमा मिडियाबाजी र साइबर युद्धलाई प्राथमिकतामा राखेको छ । यता अमेरिकी सैन्य भने द्रुत तथा निरन्तर लामो समयसम्म युद्ध लड्न सक्ने गरी तैनाथ गरिएको छ भने युद्धका लागि जल र आकाशमा लगभग पूर्ण स्वतन्त्रताको उपयोग गर्न पाएको छ । आफ्नो भूमीबाहिर रहेका रुसी सैन्य इकाइहरूले सीमितबाहेक अन्यले युद्धकालीन संस्थागत जिम्मेवारीहरू स्वतन्त्ररूपमा पूरा गर्न सक्दैनन्, तर अमेरिकी सैन्य इकाइहरू छुट्टाछुट्टै तैनाथ रहे पनि संसारका कुनै पनि कुनामा युद्ध लड्न सक्षम र एकैसाथ धेरै युद्धहरूमा सहभागी हुनसक्ने गरी तैनाथ गरिएको छ ।

यदि असद सत्ताविरुद्धको लडाइँलाई अमेरिकाले प्रतिष्ठाकै विषय बनायो भने त्यो पतन हुने पक्का छ, तर उसले अफगानिस्तान र इराकबाट पाठ सिकी अर्को देशमा त्यही रूपमा जान नचाहेको देखिएको छ । तर पनि उसले आफ्नो स्वार्थ र सैन्यमाथि सिरियाली सत्ता या उसका साझेदारहरूले आफूविरुद्ध हमला गरेमा सिरियाली सत्तानै परिवर्तन गर्नसक्ने गरी रणनीतिक स्थानहरूबाट आफ्नो सैन्य अखडाहरू हटाएको छैन । अर्कोतर्फ पूर्वी सिरियाले भूगोल र मुख्य पेट्रोलियम भण्डारहरू अमेरिकी स्थानीय साझेदार कुर्दिस लडाकुहरूको कब्जामा छ । सिरियाली संकटको राजनीतिक समाधानमा पनि रुस र अमेरिकाबीच मतभेद बल्झिए देशको सर्वभौमिकता नै संकटमा पर्नेछ ।

परिस्थिति जतिसुकै बिग्रिए पनि अमेरिका र रुस एकआपसमा सैन्य भिडन्त गरेर अर्को भयाभह विश्वयुद्ध निम्त्याउन चाहँदैनन् । विश्व सैन्य, कुटनीति र प्रविधिमा अति महाशक्ति स्थान बनाएको अमेरिका रुसलाई थप एक्ल्याउने अभियानलाई तीव्रता दिइरहेको छ । रुस भने निश्चित भूगोलहरू जस्तै– युक्रेन र सिरियामा अमेरिकासँग प्रत्यक्ष मुकाबिला गर्न सक्षम रहे पनि विश्वव्यापीरूपमा अमेरिकाविरुद्ध गतिविधि गर्ने मनसाय राख्ने या उसले विश्वव्यापी नेतृत्वमा परिवर्तन ल्याई आफू स्थापित हुने क्षमतासम्म पुगेको छैन ।

यदि अमेरिका–रुस घात/प्रतिघातकै बाटोबाट अघि बढेमा विश्वव्यापी हतियारको होड र छद्म युद्धहरूले विश्वको सन्तुलनलाई नराम्ररी खल्बल्याउनेछ ।

विश्वको रणनीतिक भू–भाग र समुद्री मार्गमाथि नियन्त्रण जमाइरहेको अमेरिकाका लागि सिरिया ठूलो रणनीतिक महत्त्वको स्थान होइन, तर पनि आफ्नो उपस्थिति छाडेर रुस र इरानलाई मार्ग प्रशस्त गरी उनीहरूको प्रभाव बढाउन भने चाहँदैन । ७० प्रतिशतभन्दा बढी खर्च एक्लैले धानिरहेको तथा संसारकै २८ वटा शक्तिशाली सैन्य गठबन्धन रहेको उत्तर एट्लान्टिक सन्धि सँगठन (नेटो)को नेतृत्व लिइरहेको अमेरिकाले यदि कुनै देशविरुद्ध युद्धमा उत्रेमा सबै साझेदार देशहरूको एकैसाथ साथ पाउनेछ  । रुसको भने कुनै पनि भरपर्दो साझेदार छैनन्, युद्धमा सीमित कमजोर देशहरूको कुटनीतिक साथ पाए पनि लडाइमा भने एक्लिनुपर्नेछ ।

अमेरिकाको अर्थतन्त्रको आकार रुसभन्दा १० गुणा ठूलो छ, सैन्य खर्चका हिसाबमा रुसभन्दा अमेरिका ८ गुणाले बढी छ । रुसले गर्ने सैन्य खर्चको तुलनामा नेटोले १० गुणाबढी खर्च गर्दछ । अमेरिकाआवद्ध देशहरू यूरोप र नेटोमात्र होइन खाडीदेखि एशियासम्मका समृद्ध देशहरूले तत्कालै सहायता गर्नेछन्, तर रुसका साझेदारहरू सम्पूर्ण रूपमा उसैसँग आश्रित छन् । अस्थिर, परनिर्भर तथा कमजोर देशहरू आन्तरिक मामिला समाल्नै मुस्किल हुने हु“दा उसलाई सैन्य मद्दत गर्नसक्ने अवस्थाभन्दा टाढा छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कसैले अनुमान नै गर्न नसक्ने चतुर अन्तर्राष्ट्रिय खेलाडी भएको यर्थाथ कसैबाट छिपेको छैन, तर पनि उनलाई धेरै सीमाहरूले रोकेका छन् । देशको खस्क“दो आर्थिक अवस्था, आधुनिक भइनसकेको सैन्य बल, छिमेकीहरूसँगको तिक्ततापूर्ण सम्बन्ध र यूरोपेली देशहरूको अमेरिकासँग बढ्दो सुरक्षा साझेदारीले उनलाई एक्ल्याउ“दै लगेको छ । यता अमेरिका भने व्यक्तिभन्दा संरचना र व्यवसायिकताबाट चलेको अति महाशक्ति मुलुक रहेकाले त्यहाँ हुने निर्णयमा व्यक्ति हाबी हुने अवस्था रह“दैन र दुघर्टनाको जोखिम सधैँ कम रहन्छ ।

सन् २०१५ देखि श्रृंखलावद्ध आतंकवादी हमलाको सामना गर्न बाध्य भए पनि आफ्नो स्थापित गोपनियताको मान्यताबाट यूरोपेली देशहरू अमेरिकासँगको सुरक्षा निर्भरता बढाउ“दै लगेका छन् । यूरोपेली सैन्य शक्ति फ्रान्स विगतमा अमेरिकाँंग फरक मत राख्ने, उसँगको संयुक्त कारबाही गर्न हिच्किचाउने तथा रक्षा मामिलामा आफूलाई पृथक राख्ने देश हो, तर अहिले परिस्थिति बदलिएको छ । मध्यपूर्वदेखि अफ्रिकासम्म सैन्य उपस्थिति रहेको फ्रान्स विस्तारै अमेरिकासँग रक्षा मामिलामा निर्भर हुन थालेजस्तो देखिएको छ ।

रुसले निश्चितरूपमा अमेरिकासँग आफ्नै भूगोल जोडिएको स्थानमा बाहेक प्रतिस्पर्धा गर्न नसके पनि उसका रणनीतिक स्वार्थहरूमा अवश्य नै धक्का पुर्‍याउन तथा अमेरिकी नीतिमाथि खतरा पुर्‍याउन भने सक्षम छ । अमेरिका संलग्न रहेका देशहरूमा उसले विरोधी समूहलाई सहयोग गर्ने तथा अमेरिकासँग दुस्मनी राख्ने देशहरूमा अत्याधुनिक शस्त्रअस्त्र बिक्री वितरण गरिदिए रुसले अमेरिकालाई हैरानीमा पार्न सक्नेछ, तर त्यसको मूल्य भने रुसका लागि पनि निकै महंगो पर्नेछ । यदि रुसले यस्तो विकल्प रोजेमा अमेरिकाले युरोपभर अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणाली र क्षेप्यास्त्र प्रतिरोधी प्रणाली जडान गरेर रुसी हवाई शक्ति र क्षेप्यास्त्र निष्प्रभावी पारिदिनेछ । यदि अमेरिका–रुस घात/प्रतिघातकै बाटोबाट अघि बढेमा विश्वव्यापी हतियारको होड र छद्म युद्धहरूले विश्वको सन्तुलनलाई नराम्ररी खल्बल्याउनेछ ।

@pramodsedhain

बैशाख ५, २०७५ मा प्रकाशित

प्रमोदराज सेढाईं

पत्रकार सेढाईं अन्तर्राष्ट्रिय राजनीति र प्रतिरक्षा मामिलामा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस