परिचालित होइन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन

काठमाडौँ, ६ बैशाख – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई परिचालित होइन स्वचालित भएर काम गर्न निर्देशन दिनुभएको छ ।
आज गृह मन्त्रालयमा दोस्रो चौमासिक समिक्षा तथा गृहमन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री बादलले भन्नुभयो, ‘‘बैठक, निर्देशनपछि केही दिन स्वःफूर्त रुपमा कामका लागि परिचालित हुने फेरि निश्क्रिय हुने अहिलेको परिपाटी देखियो । अब परिचालित होइन सधैं सक्रिय भएर आफै स्वचालित भईराख्नुहोस् ।’’
उहाँले कर्मचारीसँग कार्यसम्पादन करार गरेर सोही अनुसार काम गरे नगरेको आधारमा उसको मुल्यांकन गर्ने पद्धतिको विकास गर्न लागिएको जानकारी दिनुभयो ।

गृहमन्त्री बादलले मन्त्रालयको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न  पनि निर्देशन दिनुभयो ।
उहाँले आर्थिक मितव्ययिता कायम गर्न आग्रह गर्दै काम गर्न आवश्यक स्रोत र साधनको भने कमी हुन नदिईने स्पष्ट पार्नुभयो ।
उहाँले गृह अन्तर्गतका निकायको पूजिगत खर्च कम भएको देखिएको भन्दै सो बढाउन आवश्यक गृहकार्य गर्न निर्देशन दिनुभयो ।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, प्रहरी किताबखानाको चालु आर्थिक वर्ष २०७४÷७५को दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरिएको थियो । 
 

बैशाख ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस