राजमार्ग यातायात व्यवसायीको दाइजो होइन

बैशाख ९, २०७५

दमक बजारमा एकजना कपडा व्यापारीका छोराले भारतबाट विहे गरेर बुहारी ल्याएका रहेछन् । तिनको घरमा सधै झैझगडा हुने । कपडा किन्न पुगेका ग्राहकहरूले समेत एकछिन झगडा सुन्नै पर्ने । 

सेतो रंगको एकथान सुतिको कुर्ता किन्न म तिनको दोकानमा पुगेको थिएँ । किनमेलकै बीचमा झगडा सुन्नुपर्ने बाध्यता आइलाग्यो ।


कुरो बुझ्दै जाँदा ती बुहारीले भारी मात्रामा दाइजो ल्याएकी रहिछन् । उनका श्रीमानचाहिँ आफ्ना बा–आमाले जे भन्छन्, त्यही खुरुखुरु मान्दा रहेछन् । 

आफूले माइती घारबाट ल्याएको दाइजोको सुन, पैसा प्रयोग गरेर घर, घडेरी र व्यापार बढाइएको बुहारीको ठहर थियो । छोरालाई कब्जामा लिएर आफूलाई नोकरको जस्तो व्यवहार गरेको बुहरीको आरोप थियो ।

ससुराले भन्दा रहेछन्, ’बुहारी भात पकाऊ, रोटी पनि बनाऊ ।’ बुहारी जवाफमा भन्ने  रहेछिन्, ’किन पकाउने मैले? मैले थुप्रै दाइजो ल्याएको छु, आरामले सुतेर खाने हो, काम गर्ने हैन । काम गर्ने मान्छे खोजे हुन्छ ।’ 
चिया पकाउभन्दा दाइजोकै कुरा । लुगा धुने सवालमा पनि दाइजो कै कुरा । भाँडा माझ्ने, घर सफा गर्ने विषयमा पनि दाइको कै कुरा ।

समस्या के रहेछ भने, एक्ली बुहारी, तर परिवार ठूलो । शुरुवातको चरणमा कामको चापले बुहारी लखतरान परेकी रहिछन् । बाहिर गएर खाना खान सिन्डिकेट, सहयोगीकारूपमा घरेलु कामदार राख्न सिन्डिकेट । तनाव सहन नसकेर दाइजोको निहुँमा सधैँ झगडा हुने ।

दाइजो विषय जस्तो भएको छ, यो ’यातायातको सिन्डिकेट पनि ।’

मैले धेरैपटक सार्वजानिक यातयातमा चढेर यात्रा मात्र गरेको छैन, अनौठो अनुभव पनि गरेको छु । 

खासगरी नेपालको सन्दर्भमा यातयातको सेवा कस्तो छ त्यो देशी–विदेशी सबैलाई अवगत नै छ । सबै कुरा लेख्दा उदेक लाग्छ । 

यो लेखमा यातयात सिन्डिकेटको विषयमा केही तर्क गर्ने प्रयास गर्नेछु । सबैभन्दा पहिला केही अनुभवहरू राख्न चाहन्छु । 

पहिलो अनुभवः

गत वर्षको असारमा म पोखराबाट काठमाण्डौ आँउदै थिएँ । सकडको छेउमा हात हल्लउदै ठिङ्ग उभ्भिएँ । तनहुँ पुगेपछि बसभित्र कचकच शुरुवात भयो। कचकच भाडाको विषयमा थियो।

मेरो आडमा एकजना दिदी बस्नुभएको थियो। उपचारको लागि उहाँ महिनामा तीनपटक काठमाडौं जाने–आउने गर्नुहुदो रहेछ । उहाँले आफूलाई पोखरा–काठमाडाै‌को बस भाडा दर थाहा भएकाले धैरै पैसा नमाग्न अडान लिएकी थिइन् । सवारी स्टाफ (खालसी) जंगी पारामा कड्कियो। झोक्किँदै उसले भन्यो, ’भाडा दिन नसक्ने मान्छे हिँडेर जानुहोस्। भाडा दिनुहोस्, नत्र झर्नुहोस्।’

पिठ्यूँ सुकेर पाइन्ट पनि अडिन नसकेका ती ट्यापेजस्ता देखिने खलासीको अमानवीय हर्कत देखेर रिस उठे पनि म चुपचाप बसिरहेँ । केहीबेरमा कुरा मिल्ला भन्ने अपेक्षा थियो।

त्यो सहचालक केटा त झन् कडा भएर निस्कियो, र भन्यो, ’तपाई झर्नुहोस्, हामीले तपाईंजस्तो घाँमड मान्छे बोक्न बस चलाएको हैन ।’

जम्मा पँचासरूपैयाँको तलमाथिको विवादमा सुनसान राजमार्गको किनारमा चालकले बस रोके । अनि ती दिदीलाई बसबाट निकाल्ने प्रयास हुन थाल्यो।

चलचित्रमा गुण्डाको पंजाबाट नायिका जोगाउन अचानक राजेश हमाल ठूलो आवाज निकालेर गर्जे जस्तै म गर्जिएँ । बसमा रहेका अन्य यात्रुहरू मुखुमुख गरे ।

मैले भने, 'यी दिदीलाई बसबाट निकालेर देखा, मै तेरो बसमा आगो लगाएर देखाइनँ भने कुत्ताको छोरा।’ साले यो तेरो सुसुरालीले दाइजो दिएको राजमार्ग हो? यात्रुसँग झगडा गर्छस् ?

गाडीका स्टाफको ओठ/मुख सुक्यो ।

सवारी चालकले, ’सर प्लिज माइण्ड नगर्नुहोस्,’ भन्न थाले।

बस नम्बर टिपेर महिला हिंसाको उजुरी गर्छु भनेपछि तिनको सातोपुत्लो उड्यो ।

यो बसका सवारी चालक र खलासीको किन यति धेरै हिम्मत भयो त ? जब कि तिनले दर्जनौँ यात्रुको अगाडी महिला यात्रुको हुर्मत काडिरहेका थिए। त्यो आँट कसरी पलायो?

किनभने ति दिदी बसबाट झरेर अर्को बसमा चढ्ने सम्भावना कम थियो। लामो दुरीमा चल्ने बस अन्तिम थियो त्यो। सीमित बस छुट्ने, त्यो पनि खचाखच भरिने । खलासीसँग झगडा गर्दै यात्रा गर्नुको विकल्प अरु के छ र?

यस्तै झगडा सेवामूलक यातयात भनिएका साहुजीका बसहरूमा दैनिकरूपमा देखिन्छन् ।

अझ मुस्ताङको हकमा कुरा गर्ने हो भने त परार सालसम्म सीमित व्यक्तिले सञ्चालन गरेको सवारीबाहेक अन्य सवारी साधनहरूलाई प्रवेश निषेध थियो । तिनको दादागिरी कतिसम्म थियो भने व्यक्तिका सना निजी कार पनि त्यहाँ पुग्न बन्देज थिए । 

खैर जे होस्, लम्बेतान हल्लाखल्लामा परेको एउटा आक्रामक शैलीको जुझारु बस गोंगबु बसपार्कमा आइपुग्यो। बाझाबाझमा परेकी ती दिदी मुसुक्क हाँसेर बिदा मागिन् । मैले पनि टाटा बाइबाइ गरेँ । बसको पछाडि लेखिएको थियो ’फेरि भेटौँला ।’

दोस्रो अनुभव

विजनेश पार्टनर भेट्न धरान जानुपर्ने थियो । दुई साल अगाडिको कुरा । तर धरान कहाँबाट जाने थाहा थिएन । 

पूर्वीनेपालमा यातयात सेवामा थुप्रै कहलिएका समितिहरू नि छन् । त्यो मैले सुनेको थिएँ । अग्नि यातायातको बस देखेँ, गोंगबु बसपार्कमा ।

आफू त फिरन्ते मान्छे, ठूलै झोला बोकेको थिएँ । बसपार्कमा एकजना भाइले च्याप्प हात समाते। चोर आयो भनेर एकछिन डराएँ । तर त्यो चोर नभई यात्रुहरू बटुलेर बससम्म पुराउने दलाल रहेछ । यात्रुहरू जम्मा गरेको कमिसन खाने केटा रहेछ । 

हात नै पकडेर बसभित्र लगियो मलाई, र सिटमा राखियो कारबाही स्वरूप ।

मानौँ कि मैले कुनै अपराध गरेँ, र प्रहरीले पक्रेर भ्यानमा लगेको छ । 

मैले सोधेँ, ’यो बस धरान जान्छ कि जाँदैन ? म धरान हिडेको हुँ।’ 

ती भाइले निकै जोशिलो पारामा भने, ’जान्छ–जान्छ दाइ धरान नै जान्छ । के चिन्ता गरेको यार दाइ? हैट.. हामी छौँ नि । तपाईलाई भनेको ठाँउमा पुर्‍याए भएन?’
मैले ’हो, त्यो त हुन्छ’ भने । 

लामो बाटो तय गरेको बस अनेकौँ घुम्ती र उकाली ओराली छिचोल्दै कता–कता गुडिरह्यो।

एक ठाउँमा पुगेपछि बसको सहचालक भाइ आयो । र भन्यो ’दाइ इटहरी चोक आइपुग्यो, झर्नुहोस्।’ मलाई लाग्यो इटहरी चोक भनेको धरानको बस बिसौनी होला।

बसको सहचालक फेरि बोल्यो ’दाइ उता पारीपट्टिको लाइनमा जानुहोस्, त्यहाँ धरान जाने बस जत्ति पनि पाइन्छ, फालाफाल हुन् छ। यहाँबाट डेढ, दुई घण्टमा धरान पुगिन्छ।’
अनि तिमि चाँहि कहाँ जाने त? मैले सिधे।

’काँकडभिट्टा’ उ बोल्यो।

’अनि मलाई धरान पुराउछु, भनेको ठाँउमा झार्छु भनेको हैन?’ म रिसाए।

हैन,हैन,हैन,हैन भन्दै जिद्दि गरेर त्यो बस काँकडभिट्टा लाग्यो। 

तिनले ससुरालीबाट दाइजो लिएको बस खुसीको उन्मादमा जस्तो ट्याँट्याँटुँटुँ गर्यो। म ईटहरी चोकमा जिल खाँए।

आखिर यिनीहरू यो हदसम्मको गैरजिम्मेवार किन भए ? 

किनभने म र म जस्ता यात्रुहरूको लागि यिनीहरू नै अन्तिम विकल्प थिए । बसहरू सिमित थिए।

तेश्रो अनुभव

थाईल्याण्डबाट दुईवटा सुटकेसमा सामान किनेर ल्याएको थिए । लत्तकपडाहरू थिए । हातेझोला जस्तो एउटा सुटकेस जहाजमा सजिलै अटाएको थियो। अर्को सुटकेसको लागि पैसा तिर्नु परेको थिएन । ति झोलाहरू ३० किलो भन्दा कमका थिए।

घर जाने बस खोजे । एसीको सुबिधा भएको र वाईफाई पनि भएको डिलक्स बस फेला पर्यो । अन्य बसहरूको भन्दा भाडा चर्को नै थियो । तर पनि ठिकै छ, सुविधाको कुरा हो भन्ने भयो। फेरि रातमा माइक्रो नचल्ने, जीप नजाने, ट्याक्सी महंगो। यो बस नै अन्तिम विकल्प थियो।

अन्तिम विकल्पकोरूपमा खडा भएको त्यो बस ‘लास्ट’ बस थियो । यसभन्दा अगाडि एउटा बस गैसकेको थियो। अरु बस थिएनन्।

बसका सहचालक भाइले बसको डिक्किमा सुटकेस राख्यो। विस्तारै बस गुड्यो। थानकोट काट्यो।

केही बेरपछि मैले वाइफाईको पासवर्ड मागे।

गाडीको स्टाफले बडो निराशाको भाव देखिने गरि बोल्यो ताकि म भावुक हुँ र उसलाई प्रति प्रश्न नगरु । सायद प्रश्नहरूको थुप्रोले खलासी थाकिसकेको थियो ।

भन्यो,’ हेर्नुहोस् न दाइ वाइफाईको तार आजै बिहान हल्लिएर चुडिँयो। ग्यारेज जान भ्याइएन। बल्ल भोलि बनाइन्छ।

मैले भने’ भाई वाइफाईको तार ग्यारेजमा जोड्ने हैन नि।’

’ए हो र?’ भन्दै उ अचम्मित अनुहार लगाएर मेरो अगाडिबाट हिड्यो । 

यो डिलक्स बासमा प्रचारको नाममा वाइफाई सुविधा भएको कुरा मैले बुझे । र चुपचाप बसे।

गर्मीमहिना थियो। बस तातिरहेको थियो। बस भित्र एसी चलाउने मागहरू जोडतोडका साथ उठिरहेका थिए।

मैले पनि भने,भाइ एसी चलाउ न ।

’झ्याल खोल्नुहोस् न दाइ कस्तो मिठो हावा चलेको छ।’ ति खलासी भाइ झन् भलादमी तरिकाले प्रस्तुत हुन थाले।

’बाहिर हावा चलेको छ। मलाई थाहा छ। हावा कति मिठो छ,त्यो तिमिले मलाई सिकाउने हैन। बस भित्र छु। झ्याल किन खोल्ने? झ्याल खोल्न चाहान्न।’ मैले भने।

आखिरिमा यो बसमा एसी सुबिधा नि रहेनछ । तर टिकटमा त एसी र वाइफाईको समेत सुबिधाजनक यातयातको पैसा जोडिएको हुन्छ ।

गन्तब्यमा पुगेर बसबाट ओर्लने बेलामा समेत सुबिधाजनक यातयातले सुबिधा दिन छाडेन । खालसी भाइले निकै प्यारो भावमा भन्यो, ताकि म झर्को मानेर चर्को नबोलुम्।

खलासी बोल्यो, ’दाइ तपाईको सुटकेस ठूलो रहेछ । कुन देशबाट आउनु भएको हो ? उचाल्न पनि गारो भयो। सुटकेसको अलग्गै पैसा लाग्छ, ७ सय दिनुहोस्।’

म जुन देशबाट आए नि तिम्लाई किन चाहियो? छिटो झोला झिक, हतार छ। 

’हैन ७ सय त दिनुहोस्।’ त्यो खलासीले कडा अडान लियो।

टिकट लिने बेलामा यस्तो कुरा त कसैले बताएनन् त भाइ? समानको पैसा लाग्छ भनेको भए पैसा नलाग्ने बसमा आउने थिए । अथवा पोखरासम्म जहाजमा आउन नि सक्थे। जहाजमा यति सुटकेसको पैसा लाग्दैनथ्यो।’ मैले भने।

म खल्तिमा पैसा खासै बोक्दिन। चियापानिको लागि हल्का बोक्छु । 

म झुके । विनम्र भए । अनि भने, ’मसँग पैसा छैन भाइ, मलाई माफ गर। अर्को जुनिमा तिमीसँग भेट भएछ बने यो जुनिको बाँकि रकम चुक्ता गरौला।’

त्यसपछि के भयो? कस्ता–कस्ता साइको मान्छे भेटिन्छन् यार भन्दै त्यो खलासी चिया पसलमा छिर्यो। अब म के बोलु? के गरु? मसँग कुनै विकल्प नै थिएन, प्रतिवादको। 

यति मात्रै भनिदिए हैट!!!

सिन्डिकेटको जगजगी

नेपाल केही यस्ता चिजहरूमा एलिट वर्गहरू र केही धनी वर्गहरूको हालिमुहाली चल्दै आएको छ। श्रमजीवि पत्रकारहरूको हवला दिएर दलका झोलेहरूले पत्रकारहरूको पेशागत हकहितका लागि खडा भएको संगठनमा सिन्डिकेट चलाएका छन् । 

नेपालको लेखन, साहित्यमा पनि ठूलै सिन्डिकेट छ । झुर कितावाको हौवा पिटेर, कमसल लेखकलाई ठूलो भनिएको पुरस्कारले सम्मान गरिन्छ । यी विषयहरूमा धेरै चर्चा नगरौ।

तर स्कूलहरू हेर्नुहोस्, बोर्डिङ् स्कूल होस् वा तिनका कलेजहरू आज मनपरी भर्ना शुल्क र मासिक शुल्क उठाईएको छ । गरिब निमुखाहरूले आफ्ना छोराछोरी पढाउन नसक्ने अवस्थामा पुगिसके । माफियाहरूको शैक्षिक ब्यबस्थाका कारण यो देशमा २ खाले नागरिक उत्पादन भइरहेका छन् । 

स्वाथ्य क्षेत्रमा त्यस्तै किसकिमको ब्रम्हलुट छ । मेडिकल कलेजको कुरा सबैले बुझेकै छन्, त्यहाँ लुटैलुट छ । सरकारी अस्पतालमा डाक्टरहरू बस्दैनन् । ती रेफर डाक्टर भएका छन् । तिनको आफ्नै नीजि अस्पताल छ । 
निजी मेडिकल र अस्पतालमा उपचार गर्न नसकेर बिरामीहरू चन्दा मागेर उपचार गर्न बाध्य छन् । झ्यालबाट हामफालेका छन् । तर माफियाहरूको आफ्नै धन्दा छ । यिनीहरूको कनेक्सन माथिसम्म छ । नेपालमा माथि भनेको के हो? सबैलाई अवगत छ ।

यतिबेला यातायातमा भइराखेको सिन्डिकेटको बारेमा आन्दोलन, बहस तथा सरकारको तर्फबाट कडा निर्णयहरू आइरहेका छन् । सरकारले त यातयातको सिन्डिकेट खारेज नै गरिसकेको बताएको छ । यदी यो निर्णय ब्यबहारमा लागू भयो भने जनहितका लागि सरकारले गरेको महत्त्वपुर्ण निर्णय हुनेछ यो । यो निर्णय नेता र तिनका आसेपासेहरूको लागि आत्मघाती हुन नि सक्छ तर आम नागरिकको लागि निकै ठूलो लाभको काम हो।

यो निर्णयलाई पालाना गर्नु, गराउनु असल नागरिकको कर्तब्य हुनेछ । यातयात व्यवसायीहरू यो देशका नागरिक हुन् कि हैनन् ? सरकारको निर्णय पालना गर्ने तिनको कर्तव्य हैन र ? 

राजमार्ग कसैको ससुरालीले दिएको दाइजो होइन । राज्यले जनताको करबाट अरबौ लगानी गरेर निर्माण गरेको सडकमा निजीकरंण गर्न मिल्दैन । सडक कसैको कमाइ खाने भाँडा पनि होइन ।  यातायात सेवामुलक नभई व्यापार हो भने सबैले व्यापार गरिखान पाउनुपर्छ । कुनै अमुक समितिले दादागरी देखाउन मिल्दैन। 

नयाँ रुटमा सवारी चलाउन ५ लाख भन्दा धेरै रकमको चलखेल चल्छ । १५ लाखको सवारी साधन चलाउने काम गरीखाने वर्गले कसरी रुट पाउने? के सवारी रुट पनि ससुराली कै दाइजो हो ?

यातयात व्यवसायीहरूको समिति नाफा मुलक संस्था हो भने राज्यलाई कर तिर्नु पर्यो, सेवा मुलुक हो भने यातयात सेवा व्यबस्थित र प्रभावकारी बनाउन सरकारले चाल्ने कदममा बिरुद्ध आन्दोलन गर्नु भएन । यदी आन्दोलन भयो भने बसहरू कब्जामा लिनुपर्छ । 

अंग्रेजी मै भन्न मन लाग्यो,  गो अ हेड गभरमेन्ट
 

बैशाख ९, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस