'बुद्धले बुद्धत्व भारतको बोधगयामा होइन, कपिलवस्तुमै पाएका हुन्'

“गौतम बुद्धको जन्म मात्र नभै बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको सन्देश सहित गत वैशाखमा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । बुद्धले भारतको बोधगयामा होइन, कपिलवस्तुमा बुद्धत्व पाएको यथेष्ट प्रमाणहरु छन् । बोधगयामा त बुद्धले घोषणा मात्र गरेका हुन् । यो ऐतिहासिक तथ्यलाई ढाकछोप गर्नु हुदैन भनी तत्कालीन सरकारले अन्तर्राष्ट्रिय सम्मेलन गरेको हो ।”– दोलखाको गौरीशंकर बहुमुखि क्याम्पसमा अगस्ट २०१६ मा आयोजित एक कार्यक्रमका प्रमुख वक्ताका रुपमा पूर्व संस्कृति एवं पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वव्यापी महत्व राख्ने अत्यन्तै संबेदनशिल बिरोधाभाषपूर्ण  कुरा बताए । हालसम्म बुद्धले ध्यान गर्ने, ज्ञान प्राप्त गर्ने र महापरिनिर्वाण लिने काम भारतमा भएको मान्ने गरिएको छ ।

बुद्ध सर्क्युटको प्रसंग उठन थालेको करीब आधा दशक भैसक्यो । यो प्रसंगले कुनै पनि बेला अनपेक्षित गति लिन सक्छ । बुद्ध सर्क्युटले त्यस्तो गति लिनु अगावै यदि बुद्धले बुद्धत्व नेपालमा प्राप्त गरेको भन्ने माथिको प्रसंग सही नै हो भने यस्लाई नेपाल सरकार, नेपाली बुद्धिजीवि र संचारकर्मीको संयुक्त प्रयास मार्फत निर्णयक मोड दिन ढिलाई गरिनु हुन्न । २०१५ को डिसेम्बरमा म नेपाल रहँदा चीनका पूर्व राजदूत एबं अभियानका बिस्व कार्य समितिका सल्लाहकार टंक कार्कीसंगको लामो कुराकानीको सिलसिलामा उहाँले बुद्ध सर्क्युटमा स्वयम्भूलाई छुटाउनै नहुने कुरामा जोड दिनु भएको थियो । यो अवस्थामा बुद्ध सर्क्युटमा नेपालका कम्तीमा पनि लुम्बिनी, कपिलवस्तु र स्वयंभू पर्नेछन ।

दुई बर्ष अघि वुद्ध जयन्तीको अबसर पारेर नेपालमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनका लागि तात्कालिन सरकारले पहिला “Buddha and Buddhism was born in Lumbini Nepal” नारा मन्त्रिपरिषद्बाट पारित गरेकोमा यस्लाई असान्दर्भिक भएकोले सच्याउनु पर्ने सुझाबका कारण पछि “Lumbini, Nepal; Birthplace of Lord Buddha & fountain of Buddhism” को रुपमा पारित गरियो ।

पहिलो नारा अहिलेसम्मको परिस्थितिमा बिबादास्पद र आपत्तिजनक मानिनु स्वाभाबिकै थियो । Buddha born in Nepal नाराले विश्वव्यापी रुपमा प्राप्त गरेको लोकप्रियताकै आधारमा त्यो किसिमको नारा सरकारी स्तरबाट पारित गरिनु राम्रो होइन । यदि त्यसो होइन र बुद्धले बुद्धत्व नेपालमा नै प्राप्त गरेका हुन भने पहिला त्यो मान्यतालाई स्थापित गरिनु पर्ने हुन्छ वा कम्तीमा पनि त्यस्को लागि ठोस योजनाका साथ बिशेष प्रयासको थालनी हुनुपर्छ । मन्त्रिपरिषदबाट गरिने निर्णयलाई सामान्य रुपमा लिन सकिन्न । मन्त्रिपरिषदबाट पछिल्लो पटक पारित गरिएको निर्णय निकै ओजिलो देखिन्छ पहिलोको तुलनामा । सरकारी स्तरबाट गरिने निर्णय यसरी हल्का रुपमा आउनुलाई राम्रो मान सकिन्न ।

राष्ट्र संघका महासचिब मुन र चिनिया रास्ट्रपति आउने भनिएको उक्त अन्तराष्ट्रिय सम्मेलनमा ती दुबैको अनुपस्थिति रह्यो । यी दुईको  उपस्थितिले नि:सन्देह नै उक्त अन्तराष्टिय सम्मेलनको उद्धेस्य प्राप्ती कार्यमा उत्प्रेरकको भूमिका निर्बाह गर्दथ्यो, तर सो हुन सकेन ।

२०१६ मा तात्कालिन प्रधानमन्त्री केपी ओलीलाई अभियानका तर्फबाट बिस्व शान्तिका प्रतिक बुद्धको मूर्ति विश्वमा शान्ति स्थापना गर्ने अभिप्रायले स्थापित राष्ट्र संघमा स्थापना गर्नका खातिर राष्ट्र संघका महासचिब बान्की मूनलाई संबोधन गरी पत्र लेखिएको थियो नेपाल सरकार मार्फत पठाउन ।

वैशाखमा नेपालमा आयोजना गरिएको अन्तराष्टिय सम्मेलनमा राष्ट्र संघका महासचिब बान्की मुन नेपाल आउने कुरा थियो र त्यही बेला नै राष्ट्र संघमा बुद्धको मूर्ति स्थापना गर्ने बिषयमा कुराकानी गर्ने भन्ने प्रधानमन्त्रीको सन्देश आयो । त्यस अघि पनि अभियानका बिस्व कार्य समितिका सल्लाहकार एबं युनिसेफका दूत राष्ट्र संघमा जाने बेला हाम्रो पत्रको आधारमा एउटा आधिकारिक पत्र राष्ट्र संघ पठाउन आग्रह गरियो । त्यस्लाई पनि गंभीरतापूर्बक नलिएपछि प्रधानमन्त्रीको उक्त सन्देश आउने बित्तिक्कै राष्ट्र संघका महासचिब नेपाल आउनु भए पनि उहाँ अर्को अन्तर्राष्ट्रिय कार्यक्रमबाट समय निकालेर आउने भएकोले समय एकदमै कम हुने र आधिकारिक रुपमा अगाडि बढ्न हाम्रो चिट्ठीको आधारमा एउटा आधिकारिक पत्र तयार पारिराखनु पर्ने कुरामा मेरो जोड थियो । लिखित रुपमा पत्र हस्तान्तरण गरिंदा मात्रै सो कार्यले आधिकारिकता पाउने भएकोले नै समयमा नै तयारी अवस्थामा रहन हाम्रो सुझाब थियो । महासचिब मून आखिर आउन सकेनन, तर यत्ति महत्वपूर्ण कार्यलाई कुनै उपायले अगाडि बढाउने कार्य सरकारबाट हुन सकेन ।

बुद्धको जन्म मात्र नभै बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको सन्देशसहित उक्त अन्तर्राष्ट्रिय सम्मेलन भएको भन्ने कुरा अहिलेसम्म मानी आएको मान्यताभन्दा बिल्कुलै फरक कुरा भएकोले यदि यो सही नै हो भने उक्त सम्मेलन गरेर मात्रै नेपाल पक्ष मौन बस्न कदापी मिल्दैन र सुहाउँदैन पनि । किनकि यस्को बिस्वब्यापी अर्थ र महत्व छ । यो सम्बन्धमा प्रमाण सहित अगाडि आउनु पर्छ र विश्वव्यापीरुपमा रुपमा यस्लाई स्थापित गर्न लागि पर्नुपर्छ । यस्को लागि बोलेर र एउटा सम्मेलन गरेर मात्रै पुग्ने होइन भगिरथ रुपमा बिभिन्न किसिमका प्रभाबकारी गतिबिधिहरु गरिनुपर्ने हुन्छ यसबारेमा विस्वब्यापी रुपमा फरक मान्यता स्थापित भैसकेकोले ।

बुद्धको जन्मस्थल भएको कारण लुम्बिनीको बिकासको लागि राष्ट्र संघ मार्फत प्रो केन्जो टांगेले तयार गरेका गुरु योजनाले झन्डै चार दशक पुग्ने बेलासम्म पनि पूर्णता नपाउँदै पुन: राष्ट्र संघ मार्फत नै प्रो क्वाक योङ हूनले अर्को गुरु योजना तयार पारिसकेका छन । लुम्बिनी क्षेत्रको जे जस्तो महत्व छ त्यस्मा बुद्धत्व समेत नेपालको कपिलवस्तु जिल्लामा भएको यो नयाँ प्रसंगले यो क्षेत्रको महत्व अझ बढाउनेछ, तर यो कुरा प्रामाणिक रुपमा आउनुपर्छ । लुम्बिनी क्षेत्रको बिस्वब्यापी महत्व त्यस बेला अझै बढ्नेछ र यो क्षेत्रको गुरु योजना मुताबिक बिकास गरी उपयुक्त बातावरण तयार गर्न सकिएको खण्डमा नेपालको पर्यटन उद्योग मात्रैले पनि नेपालको कायापलट गर्ने मात्रै नभएर विस्व शान्तिमा समेत यस्ले ठुलो योगदान पुर्याउने कुरामा सन्देह छैन । तर यस्तो महत्वपूर्ण कुरा प्रामाणिक रुपमा नभएर सरकारी स्तरबाट यसरी आक्कलझुक्कल आउनु अत्यन्तै अशोभनीय हुन्छ ।

सरकारी स्तरबाट यस्तो आधिकारिक मान्न अनकनाउनु पर्ने बिबादास्पद प्रसंगलाई उठाउनुभन्दा अभियानका तर्फबाट सात देशका रास्ट्रपति र प्रधानमत्रीहरुलाई केही प्राबिधिक कारणले गर्दा ती देशमा भएका पाठ्य पुस्तकहरुमा विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थलमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण र ती देशका जनताको मानब अधिकार हननको प्रतिरक्षाको लागि सच्याइनु पर्ने आग्रह गरी तयार पारिएको छ: पेजको अनुसन्धात्मक प्रतिबेदन एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई अभियानका तर्फबाट बिस्व संयोजक रामकुमार श्रेष्ठले हस्तान्तरण गर्नु भएपस्चात अभियानको प्रतिबेदनलाई आधार मानेर नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत ती देशमा पठाउने काम भैसकेकोले त्यो कार्यको फलोअप गर्ने र यस्तै कामलाई सरकारले अभियानसंग मिलेर निरन्तरता दिने हो भने यस्ले सहजै बहुआयामिक र दीर्घकालिन महत्व राख्ने र दिने कुरामा सन्देह छैन ।

पुरातात्विक र ऐतिहासिक प्रमाणका आधारमा नेपालको लुम्बिनी नै वुद्धको जन्मस्थल हो भन्ने कुरामा शंका छैन र पनि केही प्राबिधिक कारणले गर्दा वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम भने कायमै छ धेरै देशको पाठ्य पुस्तक, राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका संग्राहलय, बुद्ध मन्दिर र पुस्तकहरुमा नै यसबारे गलत जानकारी राखिएका कारण । यस्ले गर्दा विस्वमा वुद्धको जन्मस्थल बिषयमा सही कुरा गलत र गलत कुरा सही जस्तोको रुपमा स्थापित छ । र, यो बिषयमा सहीलाई सही र गलतलाई गलत रुपमा स्थापित गर्न नै धेरै काम गर्न बाँकी हुँदा त्यसतर्फ गरिनु पर्ने मूलभूत काम कुरोतर्फ भने ध्यान र प्राथमिकता नदिएर सरकारी स्तरबाट नै यसरी बिबादास्पद कुरालाई ठोस प्रमाण र योजना बिना नै अगाडि बढाइनुलाई सान्दर्भिक भन्न सकिन्न ।

(श्रेष्ठ,लुम्बिनी-कपिलवस्तु विश्व अभियान विश्व संयोजक हुन्)

बैशाख १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार