३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !

बैशाख १८, २०७५

काठमाडौं, १८ वैशाख– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर बेपत्ता भएको भनिएको तस्करीको सुन अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ । कसैले ३३ किलो सुन भन्छन्, कसैले साढे ३३ किलो । 

केहीले माघ ९ गते नेपाल भित्रिएको भन्छन्, केहीले माघ ७ गते । थुप्रै असमान तथ्यका बीच सत्य कुरा के हो भने, नेपालमा तस्करी गरेर सुन भित्रिएको हो र त्यसका मुख्य नाइको हुन् ‘गोरे’ भनिने चूडामणि उप्रेती । 

झापाको दमक घर भई काठमाडौंको गौरीघाटमा बस्ने चूडामणि कुनै बेला भारतीय सेना अन्तर्गतको गोर्खा रेजिमेन्टका सिपाही थिए । नेपाल प्रहरीका रिटायर्ड हवल्दारका छोरा उनी सिपाहीको जागिर छाडेर सुन तस्करीमा लागे, र नयाँ पहिचान बनाए ‘गोरे’ नामबाट । 

सुन तस्करीको धन्दा चलाउने ‘गोरे’ थिए । तर उनको धन्दाले थुप्रै प्रहरी अधिकारी, प्रशासक र नेताहरू पनि आर्थिक रूपमा मोटाए । 

३३ किलो सुन प्रकरको शुरुवात

चूडामणि उप्रेति ‘गोरे’ले करीब ७ वर्षदेखि सुन तस्करी गरिरहेको तथ्य फेला परेको छ । तर अहिले चर्चामा रहेको प्रकरण भने गत माघ ७ गतेबाट शुरु हुन्छ । 

विश्वस्त स्रोतले दिएको जानकारीअनुसार माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन नेपाल भित्रिन्छ । थाइ एयरवेजका वरिष्ठ प्राविधिक ५५ वर्षीय सानु वनले आफ्नो स्कूटीको डिग्गीमा राखेर ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट कटाउँछन् । विमानस्थल अगाडिको होटल महाराजाअगाडि पुगेपछि स्कूटीको डिग्गीमा रहेको सुनको थैलो अर्को व्यक्तिको जिम्मा लगाएर वन आफ्नो काममा फर्किन्छन् ।

विमानस्थलबाट सुन बाहिरिएको आघा घण्टापछि गोरेलाई फोन जान्छ, ‘सुन हरायो’ भनेर । सुन हराएको सूचना पाएपछि गोरेले वनलाई फोन गर्छन् । वनले आफूलाई भनिएको मान्छेलाई नै सुन हस्तान्तरण गरेको बताउँछन् । 

त्यसपछि गोरेले एक अर्का व्यक्तिलाई फोन गर्छन्, जो उनको धन्दाका मुख्य सहयोगी थिए । उनी थिए डाक्टर भनिने निर्मल गुरुङ । हाल प्रहरी हिरासतमा रहेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङको सालो नाता पर्ने निर्मल गोरेका मुख्य सहयोगी थिए । 

तस्करी गरिएको सुनको बजार व्यवस्थापन गर्नेदेखि प्रहरी, एयरपोर्टका कर्मचारी र नेतासम्म सेटिङ मिलाउने काम निर्मलको जिम्मामा थियो । अहिले उनी फरार छन् । 

सुन बेपत्ता भएको दिनदेखि नै निर्मल बेपत्ता भएको बताइन्छ । सुन हराएको सूचना पाउनेवित्तीकै गोरेले निर्मललाई सम्पर्क गरेका थिए । तर उनको मोबाइलको स्वीच अफ थियो ।
निर्मलसँग सम्पर्क हुन नसकेपछि गोरेले भुजुङलाई फोन सम्पर्क गर्छन् । भुजुङले हप्ता दिनको समय मागेर निर्मलसँग भेट गराउने बाचा गर्छन् । ७ दिनको समय त्यत्तिकै बित्छ । 

त्यसपछि भुजुङकै सल्लाहमा गोरेले वन र सनम शाक्यलाई नियन्त्रणमा लिन्छन् । पहिलो चरणमा नियन्त्रणमा लिएर दुवै जनालाई छाडिन्छ । सनम मोरङ फर्किन्छन् भने सानु नियमित काममा जान्छन् । 

तर सानुमाथि गोरेको टर्चर कम भएन । उनले सानुलाई लगातार फोन गरेर धम्की दिइरहे । जसका कारण उनले माघ २२ गते उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै आत्महत्या गरे । कतिपयले वनको मृत्युलाई हत्या पनि भनेका छन् । तर सीसीटीभी फुटेजमा भने वन एयरपोर्टभित्र गुडिरहेको ट्याङ्करमा ठोक्किन गएको दृश्य देखिन्छ । 

फागुन १६ को त्यो साँझ

काठमाडौंको धापासीमा एउटा गाडी मर्मत गर्ने ठाउँ छ, थ्री मोटर्स ग्यारेज । उक्त ग्यारेज पेन्टर भनेर चिनिने राजन नाम गरेका व्यक्तिले माघ महिनामा २३ लाखमा किनेका थिए । दिउँसो गाडी सफाइ हुने थ्री मोटर्समा साँझ परेपछि भने गोरेको धन्दामा धोका दिनेहरूको ‘धुलाइ’ शुरु हुन्थ्यो । 

गोरेले फागुन १४ गतेतिर सनम शाक्यलाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएपछि उनलाई २ दिनसम्म त्यही ग्यारेजमा राखियो । दिउँसोभरि ग्यारेजको भित्री कोठामा बन्द हुने सनमको साँझ परेपछि गोरेकै निर्देशनमा पिटाइ हुन्थ्यो । 

माघ १६ गते साँझ गोरे नियमित जस्तै थ्री मोटर्समा पुग्छन् । रक्सी पिउँछन् । रक्सीको नशामा भन्छन्, ‘डाक्टरले डुबाउने भयो ।’ 

‘डाक्टरले डुबाउने भयो’ भनेको दिन नै गोरेले सनमलाई मोरङ पुर्‍याइसकेका हुन्छन् । थप यातना दिन उनलाई धरान हुँदै विराटनगरसम्म पुर्‍याइन्छ । उर्लाबारीको प्रगति सामुदायिक वनमा पुर्‍याएर चरम याताना दिइन्छ । 

सनमलाई रुखमा बाँधेर करेन्ट लगाएर यातना दिइन्छ । त्यहाँबाट गाडीमा राखेर सुनसरीको इटहरी पुर्‍याइन्छ । इटहरी पुग्दा गाडीभित्रै सनमको मृत्यु हुन्छ । 

सनमको शव व्यवस्थापन गर्न ५ करोडको बार्गेनिङ

चरम यातानाका कारण समनको मृत्यु भइसकेपछि गोरेले पहिलो फोन प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई गर्छन् । अपराध महाशाखाका सई सञ्जेल नाताले गोरेको भाञ्जा हुन् ।
‘भाञ्जा सनम मरिसक्यो । उसको लास के गर्ने ?’ गोरेले सञ्जेललाई सोध्छन् । सञ्जेल ‘केही गर्छु’ भन्दै फोन राखेर डीएसपी प्रजित केसी र आफ्ना हाकिम एसएसपी दिवेश लोहनीसँग कुरा गर्छन् । सई सञ्जेल, डीएसपी केसी र एसएसपी लोहनीबीच करीब १५ मिनेट छलफल चल्छ । 

सनमलार्इ यातना दिन प्रयाेग गरिएका ब्याट्रीलगायत सामग्री


‘लासको व्यवस्थापन हामी गर्छौं । ५ करोड चाहियो,’ सई सञ्जेलले पुनः फोन गरेर गोरेसँग प्रस्ताव राख्छन् । दुवै पक्षबीच ५ करोडमा बार्गेनिङ चल्छ । अन्ततः २ करोडमा कुरा मिल्छ । 

लास व्यवस्थापनको बार्गेनिङ मिलेपछि अपराध महाशाखाको टोली फागुन १७ गते काठमाडौंबाट मोरङका लागि हिँड्छ । मोरङ पुगेपछि सनमको लास व्यवस्थापन गर्ने अनेक उपाय लगाइन्छ । तर स्थानीय प्रहरीले तस्करको समूहले सनमको हत्या गरेको सूचना पाएपछि वास्तविक हत्यारा (गोरे)लाई जोगाउने प्रयास हुन्छ । 

सनमको हत्या गोरेले नभई तस्करहरूको अर्कै समूहले गरेको भन्ने देखाउन अपराध महाशाखाबाट केही सञ्चारकर्मीलाई फोन नै गरेर विराटनगरको पोखरीयाबाट सनम शाक्यको शव बरामद भएको जानकारी दिइन्छ । केही सञ्चारमाध्यममा फागुन १९ गते विराटनगरको पोखरीयाबाट सनमको शव बरामद भएको समाचार पनि सम्प्रेषण हुन्छ । 

तर मोरङ प्रहरीले फागुन २० गते पत्रकार सम्मेलन गरी ३३ किलो सुन तस्कर (गोरे)को समूहले सनमको हत्या गरेको बताउँछ । सनमको हत्या मोरङ–१ को सोल्टी खोला (प्रगति सामुदायिक वन)को जंगलमा भएको मोरङ प्रहरीले बताउँछ । 

चरम यातनाबाट सनमको मृत्यु भइसकेपछि शवलाई बा१२च ५९६३ नम्बरको स्कारपिओ गाडीमा हालेर नहरै नहर नेपाल–भारत सीमातर्फ लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिन्छ । 

प्रहरीले सनमको शवसँगै काभ्रेको मण्डन देउपुर गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी, मोरङको उर्लाबारी–५ का मोहन काफ्ले र उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो । पक्राउ परेका टेकराज मल्ल सनमको शव राखिएको स्कार्पियो गाडीका चालक हुन् भने मोहन काफ्ले मे१च ५३९८ नम्बरको गाडीका चालक हुन् ।
३३ किलो सुन प्रकरणमा अहिलेसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् । 

सानु वनले एयरपोर्टभित्र आत्महत्या गरे । सनम शाक्यको मोरङमा हत्या भयो । सुन तस्करी प्रकरणमा जोडिएका एक अर्का व्यक्तिको भने प्रहरी हिरासतमै रहस्यमय मृत्यु भयो । 

सुन प्रकरणको छानबिनका लागि भन्दै गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको टोलीले काठमाडौंबाट केहीलाई पक्राउ गर्न निर्देशन दिन्छ । समितिको निर्देशनमा प्रहरीले काठमाडौंबाट एकैचोटी एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिन्छ । जसमध्ये प्रेमलाल चौधरी पनि एक हुन् । 

विगत ३० वर्षदेखि त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा लोडरको रूपमा काम गर्दै आएका चौधरी चैत २९ गते काठमाडौंबाट पक्राउ पर्छन् । पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा पठाइन्छ । तर पक्राउ परेको दोस्रो दिन शुक्रवार बिहान उनी मृत अवस्थामा फेला पर्छन् । 

प्रहरीले उनलाई झुण्डिएको अवस्थामा फेला पारेको भन्दै आत्महत्या गरेको बताएको छ । तर चौधरीका आफन्तले भने उनको मृत्युलाई शंकास्पदरूपमा लिएका छन् । 

कसलाई जोगाउने कसलाई मुछ्ने ? 

३३ किलो सुन प्रकरणमा सबैभन्दा पेचिलो पक्ष हो, यसमा नेपाल प्रहरीका उच्च अधिकारी संलग्न हुनु । अपराधको अनुसन्धान गर्ने निकायका जिम्मेवार अधिकारी नै अपराधिक घटनामा संलग्न हुँदा अनुसन्धानमा कस्तो प्रभाव पर्न सक्छ, जोसुकैले पनि त्यसको अनुमान लगाउन सक्छन् । 
३३ किलो सुन प्रकरणमा अहिलेसम्म प्रहरीका उच्च अधिकारीमा बहालवाला एसपी हिरासतमा छन् । यस्तै पूर्व डीआईजी पनि हिरासतमा छन् । 

एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बयानका लागि बोलाइका छन् भने अर्का एसएसपी फरार छन् । 

फरार हुने एसएसपी श्याम खत्री चैत दोस्रो सातासम्म नियमितरूपमा कार्यालय आइरहन्थे । प्रहरी प्रधान कार्यालयमा दरबन्दीमा रहेका उनी १० दिनको बिदा सदर गराएर अहिले ‘फरार’ छन् । 

उनी यसअघि पनि सुन काण्डमा मुछिएर केही दिन जेल बसी बाहिरिएका प्रहरी अधिकारी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको सुन तस्करीमा खत्रीको संलग्नता देखिएपछि कार्यालयबाटै पक्राउ परेका थिए । 

त्यसका अतिरिक्त अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी जोगाउन पनि अनेक चलखेल भइरहेको गृह मन्त्रालयको छानबिन समितिका एक सदस्य बताउँछन् । 

लोहनीले ‘आफू जेल जाने अवस्था आए अरुको नाम पनि सार्वजनिक गरिदिने’ धम्की दिएपछि प्रहरी भित्रै उनलाई जोगाउन चलखेल भएको बुझिएको छ । यतिसम्म कि लोहनीले आफू जोगिन राजनीतिक नेताको भनसुन समेत चलाएको गृह मन्त्रालयको समितिका सदस्य बताउँछन् । 

तर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा गृह मन्त्रालयको समितिले लोहनीलाई बयानका लागि पत्र काटेको छ । लोहनी बयानका लागि बुधवार मोरङ पुग्नेछन् ।

गोरे कहाँ छन् ? 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त गोरे हुन् । तर अहिले उनी फरार छन् । प्रहरीले गोरेलाई इन्टरपोलमार्फत् पनि मोस्ट वान्टेडको सूचीमा राखेको छ । 

प्रहरीको उच्च स्रोतका अनुसार गत चैत पहिलो हप्तासम्ममा गोरे काठमाडौंमै थिए । तर जब सनम शाक्यका परिवारले प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रधान कार्यालयमा उजुरी दिए, गोरे फरार भए । गोरे काठमाडौंबाट वीरगञ्ज हुँदै जोगबनी नाकाबाट भारत गएको प्रहरी स्रोतले लोकान्तरलाई बतायो । 

भारतीय राज्य सिक्किमका केही व्यापारीसँग राम्रो सम्बन्ध बनाएका गोरे उतै लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ । तर उनलाई पक्राउ गर्न कुनै विशेष टोली भने परिचालन गरिएको छैन ।  

गोरेकी श्रीमतीदेखि प्रेमिकासम्म फरार सूचीमा

३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा प्रहरीले अहिलेसम्म २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बाँकी २१ जना फरार अभियुक्तको सूचीमा छन् । 

फरार अभियुक्तको सूचीमा रहनेमा गोरेसँगै उनकी श्रीमती र प्रेमीका समेत छन् । प्रहरी स्रोतका अनुसार गोरेकी श्रीमती नर्वदा खरेल (निरु) एक फेसन डिजाइजनर हुन् । बसुन्धाराको  इसान हस्पिटलसँगै उनको पसलसमेत छ । तर उनी पनि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

गोरेकी प्रेमिका रक्षा भण्डारी पनि फरार अभियुक्तको सूचीमा छिन् । विगत केही वर्षदेखि गोरेसँगको प्रेममा रहेकी रक्षाले नै सुन तस्करीको सबै हिसाब किताब राख्ने गर्थिन् । गोरे विदेशमा रहँदा रक्षाले नै सुन व्यापारीसँग पैसा उठाएर सुन किन्न पठाउँथिन् ।   

गोरेका भाइ रमेश उप्रेती पनि फरार अभियुक्तको सूचीमा छन् । हाल संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा रहेका रमेश नेपाल सुन पठाउने गर्दथे ।
 

बैशाख १८, २०७५ मा प्रकाशित

प्रशान्त ओझा

लोकान्तरका विशेष संवाददाता प्रशान्त ओझा अदालत, प्रशासन र संवैधानिक निकायको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस