प्रेस स्वतन्त्रता : पत्रकारका लागि मात्र होइन

बोर्णबहादुर कार्की

बैशाख २२, २०७५

यही ३ मे (वैशाख २०, बिहीवार ) विश्वभरी “विश्व प्रेस स्वतन्त्रता” दिवस मनाईंएको  छ । नेपालमा पनि यो दिवस पत्रकार र मिडिया संबद्ध संस्थाहरूले मनाएका छन् । 

यसरी यो दिवस मनाउँदा यसको अर्थ र मर्म तर्फ त्यति ध्यान गएको देखिँदैन, औपचारिकता मात्र पुरा गर्ने ध्येय देखिन्छ । मुलुकको वर्तमान स्तिथिमा प्रेस स्वतन्त्रताको महत्व र भूमिका निकै बढेको छ । यो अवस्थामा प्रेस स्वतन्त्रताको स्थितिको बारेमा गम्भिरतापूर्वक विचार विमर्श गरेर यसको संरक्षण र संबद्र्धनको लागि विशेष रणनीति निर्माण गर्नु आवश्यक छ ।

प्रेस स्वतन्त्रताका चुनौतिहरूको विश्लेषण गरेर तय गरिने नीतिबाट मात्र प्रेस स्वतन्त्रताको संरक्षण र संबद्र्धन गर्न सकिन्छ भन्ने कुरामा हेक्का राख्नु आवश्यक छ । 

 विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आव्हानमा मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघकै पहलकदमिमा यो दिवस मनाउनुबाट यसको महत्व र गरिमा कति ओजपूर्ण रहेछ भन्ने स्वतः पुष्टि हुन्छ । हरेक वर्ष यो दिवसको नारा नयाँ नयाँ दिने प्रचलन छ । यो वर्षको नारा “शक्तिको निगरानी” मिडिया, न्याय र विधिको शासन रहेको छ ।

सत्तालाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउनमा मिडियाले विशेष भूमिका निभाउनु पर्ने यो नाराको मुख्य मर्म हो । लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका हामीहरूको लागि यो नारा निकै अर्थपूर्ण र उपयोगी छ । पत्रकार र मिडियाहरुले यस्तो भूमिका निभाउन कति सक्षम छन् ? गम्भीरतापूर्वक मनन् गर्नु आजको आवश्यकता हो । राजकीय सत्तालाई जिम्मेवार र उत्तरदायी बनाउन मिडियाको साथै न्यायपालिकाले पनि भूमिक निभाउनु पर्ने यो नाराको सन्देश हो । मिडिया र न्यायपालिकाको सहकार्यमा राजकीय सत्ताको निगरानी जति बढि गर्न सक्यो उत्ति लोकतान्त्रिक अभ्यास सफल हुने सन्देश यो नाराले बोकेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस पत्रकार र मिडियाको लागि मात्र सरोकारको विषय होइन । यो दिवसको सबभन्दा बढि महत्व आम नागरिकको लागि हो । तर प्रेस स्वतन्त्रता पत्रकार र मिडियाको लागि मात्र हो भन्ने भ्रमपूर्ण सोचले यसको महत्वलाई ओझेलमा पार्दै आएको छ । हरेक वर्ष हुने प्रेस स्वतन्त्रता दिवसमा आम नागरिकको त्यति चासो नहुनुले यही कुराको पुष्टी हुन्छ ।

विशेषतः राजनीति र सामाजिक सचेतना र जागरण कम भएका देशहरूमा प्रेस स्वतन्त्रताप्रति आम नागरिकको कम चासो र सरोकार रहेको पाइन्छ । नेपाल पनि यही श्रेणीमा पर्दछ । पत्रकार र मिडियाले यो दिवस आफ्नो मात्र पेवा दिवसको रूपमा बुझ्ने आम नागरिकले आफ्नो पनि दिवस हो भन्ने कुरालाई आत्मसात नगर्ने विडम्बनापूर्ण स्थिति छ । यो दिवसलाई आम नागरिकको दिवसको रुपमा स्थापित नगरेसम्म प्रेस स्वतन्त्रताको प्रयोग र अभ्यास परिणममुखी हुन गाह्रो छ । 

सूचना प्राप्त गर्ने नागरिकको नैसर्गिक हक हो । वर्तमान विश्वमा यो हकलाई अस्वीकार गर्ने देशहरू छैनन् भन्दा हुन्छ । नागरिकलाई सूचना पुर्‍याउने माध्यम र साधन पत्रकार र मिडिया हुन् ।

आम नागरिकमा सहज रुपमा सूचना प्रवाह गर्ने पत्रकार र मिडियाको लागि प्रेस स्वतन्त्रताको हक अनिवार्य हुन्छ । प्रेस स्वतन्त्रता नागरिकलाई सुसूचित गर्ने पत्रकार र मिडियालाई प्रदत्त हक, अधिकार हो ।

स स्वतन्त्रताको लागि भौतिक सुरक्षा गौण बनेको छ भने पेशागत र व्यवसायिक सुरक्षा प्रमुख बनेको छ

आम नागरिकको लागि यो अधिकारको प्रयोग गर्दा प्रेस स्वतन्त्रताको सदुपयोग हुन्छ भने मिडिया र पत्रकारले आफ्नो निहित स्वार्थको लागि प्रयोग गर्दा प्रेस स्वतन्त्रताको सदुपयोग हुन्छ ।

प्रेस स्वतन्त्रताको हक आम नागरिकको लागि भन्दा पत्रकार र मिडियाको लागि हो भन्ने गलत बुझाई हामीहरूकहाँ अहिले पनि पर्याप्त छ । यो भ्रमपूर्ण बुझाइलाई नसच्याई प्रेस स्वतन्त्रताको प्रयोग र अभ्यासले सही दिशा र गति लिन सक्दैनन् । विश्व प्रेस स्वतन्त्रताको दिवसको उपलक्ष्यमा यो कुरालाई आत्मसात गर्न जरूरी छ । 

पत्रकार र मिडियाले आम नागरिकलाई सुसूचित गर्ने दायित्व निभाउनको लागि उनीहरूको भौतिक, पेशा र व्यवसायको सुरक्षा अनिवार्य हुन्छ । असुरक्षित पत्रकार र मिडियाले प्रेस स्वतन्त्रताको भयरहित रुपमा सदुपयोग गर्दै आम नागरिकलाई सूचना पु¥याउन सक्दैनन् । यस सन्दर्भमा पत्रकार र मिडियाको सुरक्षाको प्रश्नमा गम्भिर हुन आवश्यक छ । मुलुकमा भएको १० वर्षे द्वन्द्वकालमा पत्रकार र मिडियाहरू भौतिक रुपमै असुरक्षित रहे ।

राज्य र विद्रोही पक्षको दवाव र आतंकमा पत्रकार र मिडिया असुरक्षित हुँदा प्रेस स्वतन्त्रता अस्वाभाविक रुपमा कुण्ठित भएको कुरा सर्वविधितै छ । अहिले परिस्थिति बदलिएको छ । प्रेस स्वतन्त्रताको लागि भौतिक सुरक्षा गौण बनेको छ भने पेशागत र व्यवसायिक सुरक्षा प्रमुख बनेको छ । पत्रकारहरूको पेशा र व्यवसाय दिन प्रतिदिन असुरक्षित हुँदै गएको छ ।

ठूला मिडियाका लगानीकर्ताको निगाह र दयामा पत्रकारहरूको पेशा निर्भर रहेको छ । पत्रकारिताका मुल्य, मान्यता र नैतिकताका आधारमा पत्रकारिता पेशा गर्ने पत्रकारहरू किनारा लाग्ने स्थितिबाट पनि यही कुराको उजागर हुन्छ । पत्रकारको भौतिक सुरक्षाको प्रश्नलाई प्रमुख बनाएर पेशागत असुरक्षालाई जसरी छोप्ने गलत अभ्यास हुँदै आएको छ, यसबाट समस्या झन जटिल हुँदैछ । प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा यसतर्फ ध्यान जानु आवश्यक छ ।

 प्रेस स्वतन्त्रता र मिडियाको सुरक्षा अन्तर सम्बन्धित कुरा हुन् । मिडिया सुरक्षित नहुँदा प्रेस स्वतन्त्रताको प्रयोग र अभ्यास उद्देश्यमुलक र परिणाममुखी हुँदैन । हाम्रो देशमा अधिकांश मिडियाहरू सानो लगानिका छन् । यस्ता मिडियाहरुमा पत्रकारहरू आफै लगानी कर्ता छन् । यस्ता मिडियाहरू अर्थिक रुपमा जीवन मरणको दोसाँधमा छन् । ठूलो लगानीका मिडियाहरूको बढ्दो प्रभुत्व र एकाधिकारले यी साना लगानिका मिडियाहरू टिक्न नसक्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

एकातर्फ साना लगानीका मिडियाहरू यसरी टिक्न नसक्ने अर्कोतर्फ अपारदर्शी र निहित स्वार्थबाट अभिप्रेरित लगानीबाट सञ्चालित मिडियाले आम नागरिकलाई सही सूचना दिन नसक्ने स्थितिले प्रेस स्वतन्त्रताको दुरूपयोग बढ्दै गएको छ । ठूला लगानीका मिडियाहरू जनता र राष्ट्रप्रतिभन्दा लाभ र हानीबाट बढि निर्देशित भैरेको स्थितिले जनहित ओझेलमा पर्दै गएको छ ।  यसबाट मिडिया जनता र राष्ट्रको लागिभन्दा लगानीकर्ताको अनुचित लाभको लागि हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । साना लगानीको मिडियालाई बचाउने र ठूला लगानीका मिडियाहरूलाई जनता र राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बनाउन सकिए मात्र प्रेस स्वतन्त्रताको सही रुपमा सदुपयोग हुने छ ।

 केही वर्ष यता सम्पादकीय स्वतन्त्रता संकटग्रस्त हुँदै गएको छ । सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रता एउटै सिक्काका दुईटा पाटा हुन् । सम्पादकीय स्वतन्त्रता बिनाको प्रेस स्वतन्त्रता अर्थहिन हुन्छ । लगानीकर्ताको स्वार्थ र निर्देशन अनुसार सम्पादकले समाचार सामाग्री सम्प्रेषण गर्नु पर्ने, नगरेमा सम्पादक पदबाट हात धुनु पर्ने दुरभाग्यपूर्ण स्थिथिको गोलचक्करमा हाम्रो पत्रकारिता क्षेत्र फसेको छ । ठूला मिडियामा लामो समय सम्म कार्यरत अनुभवी, सक्षम, योग्य र इमान्दार सम्पादकहरूले पदत्याग गर्नु पर्ने बाध्यता यसका उल्लेखनीय उदाहरणहरू हुन् । लगानीकर्ताको भरिया बन्ने प्रबृत्तिले नत सम्पादकीय स्वतन्त्रता बच्न सक्दछ, नत   प्रेस स्वतन्त्रता नै ।

अनुचित लाभको लागि मिडियामा लगानी गर्नेहरुले सम्पादकहरूलाई संचालित गर्ने र लगानिकर्तासँग मिलेर अनुचित लाभ लिन सम्पादकीय स्वतन्त्रता मालिकको पाऊमा चढाउने बढ्दो प्रबृत्ति प्रेस स्वतन्त्रताको लागि निकै चुनौतिपूर्ण बनेको छ । यस्तो गम्भीर समस्याप्रति कम चर्चा गर्ने, कम सरोकार देखाउने प्रबृत्तिले पत्रकारिता क्षेत्रलाई अस्वाभाविक रूपमा प्रदुषित बनाउँदै छ । 

लोकप्रियताको लागि पत्रकार र मिडियाहरूले भ्रमपूर्ण समाचार सामाग्री सम्प्रेषण गर्दा प्रेस स्वतन्त्रतामा चुनौतिहरू थपिएका छन्

प्रेस स्वतन्त्रताको संरक्षण र संबद्र्धनको लागि न्यायपालिका, पत्रकार र मिडियाको सहकार्य अनिवार्य शर्त हो । केही वर्ष यता पत्रकार मिडिया र न्यायपालिका विचको द्वन्द्व बढ्दै गएको छ । मिडिया र न्यायपालिका विचमा रहेको “भैसीदेखी जोगी डराउने, जोगी देखी भैंसी डराउने” मनोविज्ञानले यही कुराको संकेत गर्दछ । न्याय र विधिको शासन स्थापित गर्ने न्यायपालिका र जनतालाई सूसुचित गर्ने मिडिया बीच सहकार्यको साथै एकअर्कामा नियन्त्रण र सन्तुलन (ऋजभअप बलम द्यबबिलअभ) को आवश्यक हुन्छ । यो सिद्धान्त मुल्य, मान्यताको गलत अभ्यासले प्रेस स्वतन्त्रता संकटग्रस्त हुँदै गएको छ ।

यस्तै गरी यस्तो लोकप्रियताको लागि पत्रकार र मिडियाहरूले भ्रमपूर्ण समाचार सामाग्री सम्प्रेषण गर्दा प्रेस स्वतन्त्रतामा चुनौतिहरू थपिएका छन् । पत्रकार र मिडियाहरू जिम्मेवार र उत्तरदायी नभएसम्म प्रेस स्वतन्त्रतामा थपिदै गएका यस्ता चुनौतिहरूको सामना गर्न सम्भव हुँदैन । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा पत्रकारिता क्षेत्रमा देखा परेका यी समस्याहरूको समाधान गर्न  विलम्ब गर्न नहुने स्थिति छ । संकटग्रस्त हुँदै गएको “प्रेस स्वतन्त्रता” को संरक्षण र संबद्र्धनको प्रश्न जति चुनौतिपूर्ण छ, त्यति नै औसरयुक्त पनि छ । 

(लेखकः वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हुनुहुन्छ)
 

बैशाख २२, २०७५ मा प्रकाशित

बोर्णबहादुर कार्की

कार्की वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस