साताको सेयर बजार :  एक अर्बको कारोबार, नेपाल बैंक लिमिटेड अग्रस्थानमा

बैशाख २२, २०७५

काठमाडौँ, २२ वैशाख - धितोपत्र बजारमा यस साता रु एक अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा ६६ दशमलव ६३ प्रतिशत कम हो । 

गत साता १८२ कम्पनीको रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंकले बढेर अन्तिम दिन १३६६ दशमलव १५ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ३३ अंकले बढेर २८८ दशमलव २९ अंकमा आइपुगेको छ । यस साता कुनै पनि ऋणपत्रको कारोबार भएन । 

यस साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु आठ करोड ५९ लाख २० हजार बराबरको शेयर कारोबार भएको छ । 

यस्तै शेयर संख्याको आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ४२ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए । 
 

बैशाख २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस