बर्दीवाला ‘सुन तस्कर’ आरोपितको फ्लाइङ् किक

नेपाली चलचित्रका अभिनेता निखिल उप्रेतीले जस्तै ‘फ्लाइङ्’ किक हान्न खोज्दा हाम्रो गाउँका लाट्टी गोरेले खुट्टा भाँचेका थिए । गाउँलेहरूका तर्कअनुसार तिनको घुँडा नै फुक्लिएको थियो । तिनी घरको छानाबाट उडेर बारीको कान्लामा टक्क अडिन चाहन्थे । स्वैरकल्पनाको फगत जिनिसभित्र लाट्टी गोरेको सपना आँधीहुरीले उडाएर लग्यो । खैर, यो अंकमा त्यतातिर चर्चा नगरौं ।

शहरमा जसको चर्चा छ

आँखामा आक्रोशको ज्योति धपधपी बालेर परेलीहरू झिमिक्क पार्दै दिवेश लोहनीले विराटनगरमा अदालत परिसरमै पत्रकारमाथि लात्ती प्रहार गरे । मानाैं कि यिनी बलिउडका होनहार हिरो हुन्, छायाँकनको लागि केही दिनअगाडि मात्रै नेपाल आएका हुन् । भिडियोमा देखाइएको बहुचर्चित अचम्मको दृश्य अवलोकन गर्दा यस्तो लाग्छ, यी हिरोलाई यो भूमिको सबैथोक मन प–यो तर पत्रकार मन परेन ।

पत्रकार मन परेन भन्दैमा लात्ती हान्ने ? फोहरी शब्दका वाण संयोजन गरेर मुख छाड्ने ? त्यहाँ महिला पत्रकार पनि थिए होलान, बिचरा लाज माने होलान् । बलिउड स्टाइलमा हिरो पारा दिने को हुन् यी मनुवा ? यिनको नलीखुट्टीमा यतिधेरै दम कहाँबाट आयो, भगवान् ? लोकवासीलाई च्यालेन्ज दिन फ्लाइङ् किक हानेकै हुन् त ? यिनी मार्सलआर्टका हुन् कि तेक्वान्दोका ?

दृश्यावलोकन गर्दा तपाईंहरूले नि गम खानुभएको होला – “हुलहुज्जतमा समातिएका लोहनी विप्लव माओवादीका आन्दोलनकारीजस्ता थिए जसले भौतिक हमला गर्न लात्ती चलाउन नि सिकेको हुन्छ । कतिपयको मनमा लागेको हुनुपर्छ – “डिप्रेसनको बिरामी हो, बिचराले जे ग–यो, त्यो होशमा गरेन ।

तर तपाईंहरूको अनुमान गलत हुनेछ ।

लोहनी त नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक हुन् । अझ भन्ने हो भने ‘एसएसपी’ साहेब हुन् । यिनले राज्यको कानून पालना गर्ने, गराउने कसम खाएर जनताको पसिनाबाट जीविका चलाएका थिए । आफूलाई जनताको सेवामा समर्पित गरेका थिए । प्रहरी संगठनलाई मर्यादित तथा अनुशासित बनाउने एउटा महत्त्वपूर्ण पदमा थिए । उनले यस्तो हर्कत आफ्नो घरमा श्रीमतीसँग देखाएको भए कसलाई मतलब हुन्थ्यो र ? 

लोहनीको लात्तीमा सिङ्गो नेपाल प्रहरीको अनुशासन देखिन्छ । यिनले तालिममा आफू के सिके र सकल दर्जाहरूलाई कस्तो संस्कार दिए होलान् ? कल्पना गर्न सकिन्छ । सम्मानित अदालत तथा पत्रकारलाई सम्मान गर्न नसक्ने बडेहाकिमले के चाहिँ गरेनन् होला ? हाकिम हुँदाबित्तिकै जवानहरूलाई, ‘ए फल्नाका छोरा, एक कप कफी बनाएर ले,’ भनेजस्तो हैन नि सार्वजनिकस्थल । 

शरीरमा बर्दी छैन भनेर जे नि गर्न मिल्दैन । खास भन्ने हो भने हामी सबै बर्दीविनाका प्रहरी समेत हौं । सरकारी वकिलहरूका अनुसार लोहनीले सुन दलालहरूसँग केवल साँठगाँठ मात्रै गरेनन्, सनम शाक्यका  हत्याराहरूलाई उम्काउने प्रयास पनि गरे । त्यसको सत्यतथ्य छानबिन त होला, तर यिनलाई पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा अर्को मुद्दा चलाउनुपर्छ । 

बहुचर्चित ३८ क्विन्टल सुन प्रकरणमा ककसको संलग्नता छ ? गोरे भनेर चिनिने चूडामणि उप्रेती (सुन डन) जोगबनी नाका हुँदै कसरी भाग्यो ? सुन तस्करीका सहयोगी भनिएका सनम शाक्यको हत्या कसले ग–यो ? शाक्यको हत्यामा कोको संलग्न छन् ? शाक्यको शवलाई लुकाउनका लागि केकस्ता प्रयासहरू गरिए ? यी लोहनी महानगरीय अपराध शाखाको प्रमुख हुँदा उनको भूमिका के थियो ?
यी सबै खुराफाती गतिविधिहरूमा संलग्नलाई पाता कसेर छानबिन होस्। 

दाइलाई सक्दिनँ, भाउजूलाई राख्दिनँ

निधारमा पसिनाको समुद्र बगाएर साउदी अरबबाट श्रम गरी फर्केको मजदूरले ल्याएको पाँच तोला सुन च्याप्प समातिन्छन् । अनि निराश पारिन्छन् तिनका श्रीमती र चेलीबेटीहरूलाई । साइकलमाथि चढाएर मुश्किलले ल्याएको १५ किलो चामल, १० किलो दाल र पाँच किलो चिनी रक्सौल र जोगबनी नाकामा च्याप्पै समातिन्छन् । र भोकै पारिन्छन्, समातिनेका कलिला लालाबालाहरू ।

यहाँ १० किलो हैन, १५ किलो हैन, ३६ किलो पनि हैन । कति होला त? लामो श्वास तानेर मुटु दरो बनाउनुहोस् । हो, यहाँ ३८ क्विन्टल सुन निकै कडा सुरक्षा व्यवस्था छ भनिएको मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्बौं राजस्व नोक्सान हुनेगरी अवैधानिक रूपमा सजिलैसँग भित्रिन्छन् । चेकजाँचको जिम्मा पाएको प्रहरीले च्याप्पै समात्दैनन् ।

आज सुन नसमात्ने प्रहरीले भोलि अत्याधुनिक हतियार पनि त नसमात्ला । खैरो हेरोइन र कोकिन नसमात्ला । शायद सुनसँगै हतियारसमेत तस्करी भइरहेको पो छ कि ? शंका गर्ने ठाउँ भेटिएको छ । जब च्याप्पै समाउनुपर्ने हातहरू पैसामा बिक्छन्, तब नसमात्नुपर्ने चीज समातिइरहेको हुन्छ । समात्नुपर्ने चीज भने छाडिइरहेको हुन्छ । बिकाउ आँखा यस्तो हुन्छ कि देख्नुपर्ने कुरा देखिरहेको हुँदैन, नदेख्नुपर्ने कुरा चाहिँ झन् छिटो देखिरहेको हुन्छ ।

यति ठूलो परिमाणको तस्करीको सुन देख्दैनन् विमानस्थलका प्रहरी र कर्मचारीहरू । तर सुटकेसमा राखेको राँगोको सुकुटी, कोकाकोलाको बोतलमा राखेको गाईको घिउ, केही प्याकेट सुर्ती र चुरोट, राम्रा ब्रान्डका मोबाइल तथा घडीहरू, क्यामराहरू, चकलेटहरू त अलग्गै देख्छन् । देख्न त यिनीहरूले एलसीडी पनि देख्छन् तर एलसीडीको इन्ची लामो हुने भएका कारण खल्तीमा लुकाउन भने सक्दैनन् ।

गौरवशाली प्रहरी संगठन यो हदसम्म नाघेर बिक्ला, शक्तिको दुरुपयोग गर्ला भनेर सात हंसमा एक हंस पनि सोच्न सकिने विषय थिएन । खै कसले हो एउटा गीत लेखेको थियो : ‘सेता सेता कपडामा काला काला मान्छेहरू ।’ ठीकै लेखेको रहेछ । ‘सत्य सेवा सुरक्षणम्’ भित्रको यो नालायक कुरूपता अहिलेसम्म देखिएको थिएन । हो, तिनले दुईचार लाख घूस चाहिँ खान्थे । 

सुडान घोटालापश्चात् सुन प्रकरण

जनताको सुख, शान्ति तथा अमनचयन कायम गर्ने जिम्मेवारीमा रहेका प्रहरीका उच्च तहका अधिकारीहरू नै राज्यको अर्थप्रणालीलाई कमजोर बनाउने गरी सुन तस्करीमा संलग्न हुनुले सत्य सेवा सुरक्षणमको मूलमन्त्र अँगालेको मुस्कानसहितको प्रहरी संगठनकै मर्यादा, अनुशासन तथा आचरणमाथि गम्भीर प्रश्न उठेको छ । विगतको नजीर हेर्दा बहुचर्चित सुडान घोटालामा तीन पूर्वआईजीपी नै दोषी देखिए । 

ती पूर्वआईजीपीहरूलाई सर्वोच्च अदालतले कारावास पठाएको थियो । त्यसपछि सुन प्रकरणले फेरि प्रहरीको भूमिका र अनुशासनसम्बन्धी विषयलाई सतहमा ल्याएको छ । चार वर्षयता नेपालमा संगठित रूपमा सुन तस्करी भएको छ, जसमा कुनै न कुनै रूपमा प्रहरीको सहयोगी भूमिका देखिन्छ । चारसय २१ पटक विभिन्न परिमाणमा सुन तस्करी हुँदा प्रचलित भन्सार दरअनुसार १ अर्ब ५९ करोड ६० लाख बराबरको राजस्व छली भएको छ । 

यो राज्यको लुटमा राज्यकै महत्त्वपूर्ण अंग प्रहरीको भूमिका अग्रस्थानमा देखिनु पीडाको विषय हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रूपमा भइरहेको सुन तस्करीमा सघाएको आरोपमा पक्राउ परेका सात प्रहरीमध्ये एक प्रहरी जवान विष्णुबहादुर खड्काले मिडियासमक्ष भनेका छन् : ‘सुन आउनेबेला डीआईजी र एसएसपी विमानस्थलकै अफिसमा कुरेर बस्ने गर्नुहुन्थ्यो ।’ यो त सुडान घोटाला भन्दा पनि खतरनाक कुरा भयो । लिखित बयानमा उनले पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल र डीएसपी सञ्जय राउतको नाम लिएका थिए । 

सुन भरियाहरूको ओसारपसार त सामान्य नै लागेको हो । अपराधलाई कम गर्ने हो पूरै नियन्त्रण गर्न त सकिँदैन । तर सुन तस्करीका लागि थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका कर्मचारीले विमानस्थलमा विशेष खालको भ–याङ बनाएको कुरा बाहिर आएको छ । के हाम्रो विमानस्थलको ग्यारेज तस्करहरूको शेल्टर हो ? एयरलाइन्सका कर्मचारीहरूको नैतिकता यही हो ?

सुन तस्करलाई सघाउन एयरलाइसन्का कर्मचारीहरू बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, कपिलराम पुरी, हेमन्त गौतम, पुण्यप्रसाद लामा, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारू, राजन थापा संलग्न भएको भनिएको छ । मानौं कि विमानस्थल तस्करहरूको वासस्थान भएको छ ।

रहस्यको रामलीला

घटनाक्रमलाई नियालेर हे–यो भने तस्करीको सञ्जाल लर्तरो छैन भन्ने पक्का हुन्छ । लर्तरो नभएको तस्करीको जालोमा लहरो तान्दा पहरो जाने त निश्चित नै भयो । अब यहाँनेर एउटा सवाल उब्जिन्छ गोरेका उपर । गोरे उपनामले चिनिएका यी नामी तस्कर चूडामणि उप्रेती २० पुस २०७३ मा बरामद भएको ३३ किलो सुनतस्करीमा समेत फरार अभियुक्त थिए । यो कुरा जान्दाजान्दै राज्यको मानो खाएका अध्यागमन र गुप्तचर विभागका कर्मचारीले के केराको रुख हेरेर बसेका थिए ? जबकि गोरे विमानस्थलबाटै पटकपटक विदेश आवतजावत गरेको अध्यागमनको रिपोर्ट छ ।

मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थललाई शान्तिसुरक्षा दिने भनिकन राज्यकै मानो खाएका डीआईजीको नेतृत्वमा तीनसय ७ प्रहरी तथा कर्मचारीहरू तैनाथ छन् । जहाजसम्मै पुग्ने अनुमति उनीहरूलाई हुन्छ । कर्मचारीहरूले आवतजावत गर्ने बाटोमा सीसी क्यामेराको निगरानी हुन्छ । सीसीक्यामरा मोनिटर गर्ने प्रहरीले सुन किन देखेनन् ?  विमानस्थलमै इन्धनको ट्याङ्करमा ठोक्किएर मरे भनिएको आरोपितबारे किन अनुसन्धान भएन ?

सबैभन्दा रहस्यको कुरा त, त्यो ३३ किलो सुन कोसँग छ भन्या ?

नयाँ चार्ल्स शोभराजहरू

संसारकै प्रख्यात अपराधी चार्ल्स शोभराजले कुनै जमानामा नेपालको विमानस्थलबाट हात्ती छिराइदिन्छु भनेका थिए । शायद यो कुरा तिनले मजाकको रूपमा उद्घोष गरेका थिएनन् । तिनै अपराधीलाई समातेर जेलमा कोच्न सफल नेपाल प्रहरी जस्तो राज्यको कानून पालना गर्ने र गराउने पवित्र भूमिका सम्हालेर जनधनको सुरक्षा गर्नुपर्ने संगठनभित्र बर्दीवाला चार्ल्स शोभराज जन्मिनु लज्जास्पद विषय हो ।

सम्मानित अदालतको प्रक्रियामा भएको विषय ठानेर डरलाग्दो सुन तस्करीको असम्मानित मामिलालाई केवल तपसिलको सन्दर्भ ठान्न सकिन्न । गहिरो ढङ्गले चीजहरूको अध्ययन गर्नुभयो भने, अर्बौं राजस्व छलेर कति भयानक तरिकाले शक्तिको दुरुपयोग गरेर राज्य लुटको आतंक मच्चाइएको छ ? मानिसहरू कसरी रातारात मालामाल बनिरहेका छन् ? त्यो प्रस्ट रूपमा अनुमान गर्न सकिन्छ । 

भन्न त गृहमन्त्री मिस्टर क्लाउड (रामबहादुर थापा बादल) ले भनेकै थिए : ’यहाँ टनका टन सुन तस्करी भइरहेछ । तर उनको यो कुरालाई खिस्सिटिउरीको रूपमा बुझियो । सस्तो लोकप्रियताको कमाउने बहानामा लालबाबु पण्डितको पथ समात्न खोजे पनि भनियो । तर बूढाले चाल पाइसकेका रहेछन् । लहरा तान्दा पहरा जान्छ भने जस्तै सुन तस्करीमा नेताहरूको भूमिका छ कि छैन, त्यो भने हेर्न बाँकी छ ।

पक्कै पनि यो परिमाणको अपराध राजनीतिक संरक्षणविना सम्भव छैन । विगतका दिनहरूमा समेत सुन तस्करी गर्नमा नेताका गाडीहरू प्रयोग गरिएको र ती गाडीहरू सस्तो मूल्यमा भन्सार छुट गरेर मगाइएको चर्चा चलेको थियो । त्यो चर्चा अहिलेसम्म सेलाएको छैन । माओवादीका केही लडाकूहरू र एमालेका मन्त्रीसम्मका मान्छेले सुन तस्करी गरे । जसले जे जति गरे, प्रहरीकै सहयोग र संलग्नताविना पक्कै गरेनन् । 

बैशाख २३, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस