नार्कलाई विश्वविद्यालयको रूपमा विकास गर्ने सरकारको घोषणा, सहकारीको अनुगमनमा कडाइ

बैशाख २३, २०७५

काठमाडौं, २३ बैशाख- कृषि, पशुपंछी, भूमी व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले ५८ बुँदे अगामी कार्ययोजना सहित रूपान्तरण मार्गचित्र प्रस्तुत गरेका छन् । मार्गचित्रले  कृषि, पशुपंछी, भूमी व्यवस्था र सहकारी क्षेत्रको नीति तथा कानुनी सुधार गर्नुपर्ने कुरालाई प्राथमिकता दिएको छ । कृषि, पशुपंछी, भूमि व्यवस्था र सहकारी क्षेत्रमा कार्यान्वयनमा रहेका सफल नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिइने मार्गचित्रमा उल्लेख गरिएको छ । 

यसैगरी, अनुसन्धान, प्रविधि विकास र प्रसारका लागि गुणस्तरीय अध्ययन तथा अनुसन्धानलाई टेवा दिन कृषि अनुसन्धान परिषद (नार्क) लाई मानित विश्वविद्यालयको रूपमा विकास गरिने कुरालाई मन्त्री खनालले प्राथमिकतामा राखेका छन् । उत्पादन बृद्धि र बजारीकरणका लागि कृषि उत्पादन सामग्रीको आपूर्ति व्यवस्थालाई सहज र सुलभ बनाई गुणस्तरीय रासायनिक मल समयमै उपलव्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा निजी क्षेत्र र सहकारी क्षेत्र समेतको सहभागितामा सातवटै प्रदेशमा बफर स्टकको लागि कम्तीमा २५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरू स्थापना गरिनेछन् । स्थानीय तहमा विशेष कृषि कार्यक्रम अन्तर्गत एक क्षेत्र, एक बाली, एक जात अवधारणा अन्तर्गत कृषि उत्पादन कार्यक्रमहरू सञ्चालन गरिनेछ ।


ADVERTISEMENT

मार्गचित्रले सहकारी क्षेत्रमा सम्पत्ति शुद्दिकरण सम्वन्धि विषयलाई लागु र नियमन गर्न सम्पत्ति शुद्दिकरण निर्देशन, २०७४ को प्रभावकारी कार्यान्वयन गरिनेछ । साथै रू. ५० करोड भन्दा बढी बचत परिचालन गर्ने सहकारी संस्थाहरूको सघन अनुगमन तथा वित्तीय विश्लेषण गर्न विशेष संयन्त्रको निर्माण गरिने समेत भनेको छ । 

 

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस