चार नम्बर प्रदेशमा वृद्ध भत्ताको लफडा : नदिने भनेको छैन–प्रवक्ता

बैशाख २३, २०७५

काठमाडौं, २३ वैशाख– प्रदेश नम्बर चारको सरकारले वृद्धभत्ता वितरणमा रोक लगाउने समाचारहरु सार्वजनिक भएपछि उक्त क्षेत्रका जेष्ठ नागरिक क्रुद्ध बने । 

समाचारका विषयमा सामाजिक सञ्जालहरु ताते । तर प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने प्रदेश सरकारमा वृद्धभत्ता नदिने विषयमा कुनै छलफल नभएको बताएका छन् । 

‘प्रदेशसरकारले केन्द्रको निर्देशन नआइकन सामाजिक सुरक्षासम्बन्धि कुनै निर्णय गर्न सक्दैन’ लोकान्तरसँगको कुराकानीमा बस्नेतले भने अहिले हामीले वृद्धभत्ताको बारेमा कुनै निर्णय गरेका छैनौं ।’ 

‘वामगठबन्धनको चुनावी घोषणापत्रमा वृद्धभत्ता पाँच हजार पुर्याउने उल्लेख छ नी !’ भन्ने प्रश्नमा उनले त्यो केन्द्र सरकारको काम भएको जिकिर गरे । 

एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गत वैशाख २१ गते संसदमा वृद्धभत्ता बाँडेर देशलाई समृद्ध बनाउन नसकिने जवाफ दिएका थिए ।‘वृद्धभत्ता खानेले १ पैसा पनि राज्यकोषमा जम्मा नगर्ने अनि वृद्धभत्ता मागेर हुन्छ ?’ उनको प्रश्न थियो ।

सरकारका प्रवक्ता बस्नेतले यो कुरा मन्त्री गुरुङको व्यक्तिगत धारणा भएको भन्दै यसबारेमा टिप्पणी नगर्ने बताए । संसदमा धेरै कुरा उठ्न सक्छ, तर सरकारले आधिकारिक निर्णय नगर्दै मिडियाले हल्ला गर्नु गतल भएको उनले बताए ।
 

बैशाख २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस