तेस्रो वर्षमा लोकान्तर : तथ्यको खोजी पहिलो प्राथमिकता

बैशाख २४, २०७५

आदरणीय पाठकहरू, लोकान्तर डट्कमले स्थापनाको आज दुई वर्ष पूरा गरेको छ । भोलिदेखि हामी तेस्रो वर्ष प्रवेश गर्दैछौं । यो अवसरमा हामी सबैभन्दा पहिले तपाईं तमाम पाठक/दर्शकप्रति आभार प्रकट गर्न चाहन्छौं किनभने लोकान्तर डट्कम नियमित हेर्ने/पढ्ने सम्पूर्ण पाठकलाई हामीले प्रेरणाको प्रमुख स्रोत ठानेका छौं । विज्ञापनदाता, शुभेच्छुक र शुभचिन्तकप्रति हामी उत्तिकै आभारी छौं ।

समाचारमा विश्वसनीयता नेपालमा ठूलो चुनौतीका रूपमा देखापरेको छ । हामीले समाचारमा विश्वसनीयता, यथार्थपरकता र सन्तुलनलाई मूलमन्त्र बनायौं र बनाइरहनेछौं । लोकान्तर डट्कमका सामग्रीमा विश्वसनीयता हुने भएकै कारण पाठकले हामीलाई विश्वास गर्नुभएको हो । पाठकको त्यो विश्वासलाई हामी सधैं उच्च महत्त्व दिनेछौं ।


ADVERTISEMENT

अघिल्लो वर्ष हामीले पाठकसमक्ष वाचा गरेका थियौं – लोकान्तर डट्कममा भिडियो अन्तर्वार्ता शुरु गर्नेछौं भनेर । केही समय अघिदेखि हामीले आफ्नै स्टुडियोबाट भिडियो अन्तर्वार्ता शुरु गरेका छौं जसलाई आगामी दिनमा थप परिष्कृत गर्दै लैजानेछौं ।

यो वर्ष हामी पाठकसमक्ष अर्को एउटा वाचा गर्छाैं – भ्याएसम्म धेरैभन्दा धेरै पाठकको घर दैलोमा पुग्ने प्रयास हामी गर्नेछौं । यसको मतलब हामी धेरै पाठकसामु पुग्ने अभियानमा केन्द्रित हुनेछौं ।

तपाईंहरूको रचनात्मक सुझाव, खबरदारी र प्रतिक्रिया हामीलाई सधैं आवश्यक छ । यिनले नै हामीलाई सही मार्गमा हिँड्न झक्झकाइरहनेछन् ।

बैशाख २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस