चौतारीको पाँच लाख बढी कित्ता शेयर बिक्री हुँदै

बैशाख २५, २०७५

काठमाडौँ, २५ वैशाख– चौतारी लघुवित्त वित्तीय संस्थाले रु पाँच लाख ४० हजार कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । रु एक सय मूल्य अंकित दरको रु पाँच करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि एनआइबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको सो संस्थाले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । 

संस्थाको अधिकृत पूँजी रु ३० करोड, जारी पूँजी रु १८ करोड र चुक्तापूँजी रु १२ करोड ६० लाख रहेको छ । शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआइबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । 

बुटवलमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्थाले छोटो अवधिमै रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र ३४ वटा शाखा कार्यालय स्थापना गरेको छ । ती कार्यालयबाट २२ हजार ९०८ विपन्न महिलालाई समूहमा आबद्घ गरी रु १७ करोड ६४ लाख ५२ हजार बचत संकलन गरेको छ । 

यस्तै रु ६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह  गरेको सो संस्थाले गत आर्थिक वर्षमा रु ५७ लाख खूद मुनाफा आर्जन गरेको थियो । संस्थाले चालुु आवको तेस्रो त्रैमासिकसम्ममा रु ६५ लाख ४२ हजार खुद मुुनाफा हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । 

बैशाख २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस