मोतियाविन्दुको शल्यक्रियापछि राखिने लेन्स उत्पादनका लागि  तिलगंगालाई लाई १० करोड अनुदान

बैशाख २५, २०७५

काठमाडौँ, २५ वैशाख–  सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई १० करोड अनुदान उपलब्ध गराएको छ । 
‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतियाविन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्न सरकारले अनुदान उपलब्ध गराएको हो । उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख प्राडा सन्दुक रुइतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्त्री यादवले मोतियाविन्दुको शल्यक्रियापछि राखिने लेन्स उत्पादन गरी विश्वका विभिन्न मुलुकमा निर्यात गरी व्यापार घाटालाई कम गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । सरकारका तर्फबाट प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाउँदै उनले निर्यात प्रवद्र्धन गर्ने सबै प्रकारका उद्योगलाई सरकारले सहयोग गर्ने बताए । 
मन्त्रालयका वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले लेन्स उत्पादन गरी निर्यात गर्ने क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग गरेको जानकारी  दिए ।

प्रतिष्ठानका प्रमुख रुइतले मन्त्रालयबाट प्राप्त सहयोगले प्रतिष्ठानको उत्पादन क्षमता अभिवृद्धि गर्ने र निर्यातलाई बढाउने विश्वास दिलाउँदै आगामी दिनमा सरकारबाट सहयोग प्राप्त भइरहने अपेक्षा गरे ।  प्रतिष्ठानबाट उत्पादन भएका चार प्रकारका लेन्स चार लाखदेखि पाँच लाखसम्म उत्पादन हुँदै आएको छ । उत्पादित लेन्सलाई विश्वको ३५ देशमा निर्यात गर्दै आएको छ भने सबैभन्दा बढी चीन, थाइल्याण्ड र पाकिस्तानबाट माग हुने गरेको छ ।
 

बैशाख २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस