मोदीको आसन्न नेपाल भ्रमण : अरुण तेस्रो विधिवत रूपमै कब्जा गर्ने प्रयास !

स्वार्थअनुसार संविधान बनाउन दबाब दिँदै भुइँचालोले थिलथिलिएका नेपाली जनतालाई भोकभोकै मार्न 'भारतीय विस्तारवाद'ले २ वर्षअघि लगाएको नाकाबन्दीलाई चटक्कै बिर्सेर खड्गप्रसाद ओलीको सरकारले भारतमै 'हिन्दू अतिवादी' सरकार प्रमुखका नामले बदनाम र घृणाको पात्र बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको कार्यक्रमलाई जुन शैली र स्वरूपमा तर्जुमा गरेको छ, यसप्रति चौतर्फीरूपमा प्रश्न उठेको छ ।

प्रधानमन्त्री हुनेवित्तीकै मोदीको दर्शनभेट गर्न दिल्ली पुगेका ओलीको मोदीसितको एकघण्टे गोप्य भेटघाटबारे अनेक प्रश्न उठिरहेको सन्दर्भमा मोदीप्रति अचम्म किसिमले देखाउन खोजिएको भक्तिभावले राष्ट्रिय स्वाधीनताप्रति चिन्तित नेपाली जनतालाई गम्भीर बनाउनु स्वाभाविक छ ।

अहिले पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा मोदीको नेपाल भ्रमण र ओलीको भक्तिभावलाई लिएर थरीथरीका टिप्पणीहरूका साथै चिन्ता र आक्रोस व्यक्त भएको पाइन्छ । सामान्य नागरिकदेखि लिएर राजनीतिक सचेतकहरू सबैले खबरदारीमा औंला ठड्याएका छन् । सामाजिक सञ्जालहरूमा 'क्रिमिनल्स आर नट वेलकम इन नेपाल' भनेर लेखिएको पाइन्छ । जनकपुरदेखि मुक्तिनाथसम्म अर्थात् चिनियाँ सीमामा भारतीय सेनाके मार्चपास गराउन थालिएको छ र समग्र सुरक्षा तजबिज उसैको हातमा सुम्पने काम भएको छ । हातहतियारसहितको भारतीय सेनाको कमाण्डो फोर्सले काठमाडौंमा क्याम्प खडा गरिसकेको छ ।

चिनियाँ भूमि तिब्बतसँग जोडिएको किमाथान्का नजिकरहेको अरूण तेस्रो परियोजना हातमा लिएर भारत त्यस क्षेत्रमा लामो उपस्थिति कायम गर्न चाहन्छ ।

१५ दिन अगाडिदेखि भारतीय खुफिया एजेन्सीका सदस्यहरू जनकपुर, काठमाडौं र पोखरामा तैनाथ छन् र एकएक बहाना बनाएर पूर्व राजदूतहरूले समग्र राजनीतिको ‘रेकी’ गरिरहेका छन् । समाचार माध्यमहरूले जनकपुरमा गृहमन्त्रीलाई ब्रिफिङ गर्ने पात्र नै सन्दिग्ध्न भनेर समाचार प्रकाशित गरेका छन् । जनकपुरको भौतिक संरचनागत स्थिति र विकासको हालत के छ भन्ने कुरा सबैलाई थाहा छ ।

आर्थिकरूपमा जर्जर मुलुक मोदीको स्वागतका लागि १ करोड २६ लाखको स्वागतमञ्च बनाउन बाध्य छ । पञ्चायती कालमा राजाको स्वागतभन्दा बढी तामझाम मोदीको स्वागतका लागि भइरहेको छ र अझ मोदीको अभिनन्दनका लागि तयार पारिएको ‘अभिनन्दन पत्र' पढ्दा हरेक स्वाभिमानी नेपालीलाई आत्मग्लानी र लज्जाबोध हुन्छ । टाउको निहुराउनुपर्ने स्थिति उत्पन्न भएको छ । पोस्टरमा उल्लेखित भाषाले झन् लाजमर्दो स्थिति उत्पन्न गराउँछ । सरकारले दलालीको हद पार गरेको देखिन्छ ।

२ नम्बर प्रदेश त्यसमा पनि जनकपुर भारतको कुनै प्रान्त झैं बनाउन लागिएको छ । आफ्नै मुलुकको कुनै प्रान्तमा जाँदा सदैब जनताबाट तिरष्कृत हुने मोदीका लागि २ नम्बर प्रदेशका मोदी भक्तहरूद्वारा प्रदर्शित भक्तिगाथाले राष्ट्रिय स्वाधीनता र स्वाभिमानले भरिएका छातीहरूलाई मर्माहत बनाउनु स्वाभाविकै हो । ‘मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन’ भनेर पत्रपत्रिकाले समाचार दिएका छन् र जनकपुर, काठमाडौं र मुक्तिनाथमा उनको नागरिक अभिनन्दन गरिने भनेर सरकारी माध्यमहरूले फुकिरहेका छन् ।

व्यङ्ग्य गर्दै अनलाइनहरूले, ‘मुक्तिनाथमा मोदीलाई ‘नागरिक अभिनन्दन’ सर्वसाधारणलाई चाहिँ नाकाबन्दी’ शीर्षकमा समाचार बनाएका छन् र ‘जनताको प्रश्न–‘नाकाबन्दी बेहोरेका हामी मोदीको अभिनन्दन कसरी सहभागी हुने’जस्ता टिप्पणीहरू लेखिएका छन् । मोदीले चाहेभन्दा पनि अघि बढेर देखाइएको यो दलाली चरित्र, मालिक भक्तिको यो स्वरूप साँच्चिकै अचम्म लाग्दो छ । यसले भारतीय विस्तारवादको नव-औपनिवेशिक प्रवृत्तिलाई मलजल पुगेको छ र ओली र ओली मार्काका मान्छेहरू राष्ट्रवादी हुनुको अभिनय गर्दै कसरी वैदेशिक शक्तिको दलाली गर्दा रहेछन् भन्ने यथार्थलाई पनि उजागर गरेको छ ।

भारतीय राजदूतावासले बेलाबेलामा चारो हालेकाहरू, भारतीय दूतावासको सिफासिरमा बहुराष्ट्रिय कम्पनीका विज्ञापनमा बाँचेका पत्रपत्रिका र दूतावासका कर्मचारीहरूसित सुमधुर सम्बन्ध भएका राजनीतिक टिप्पणीकारहरू बाहेक थुप्रै अनलाइन माध्यम र राजनीतिक टिप्पणीकारहरूले ओलीले ‘महाकाली सन्धी’ को पुनरावृत्ति गर्ने त होइनन् भनेर चिन्ता जाहेर गर्दै ओली सरकारको व्यवहारप्रति खबरदारीको भाषा बोलिरहेका छन् । माफी नमागेसम्म मोदीलाई नागरिक अभिनन्दन नगर्न राष्ट्रिय मुद्दाप्रति सरोकार राख्ने बुद्धिजीवीहरूले ध्यानाकर्षण गराएका छन् ।

आम जनताले दश वर्षअघि कोसीमा आएको बाढीको नाममा भारतले राखेको विराटनगरको काउन्सलर कार्यालय हटाउन बारम्बार आवाज उठाएका छन् र वामपन्थी पार्टीहरूले यसको विरोधमा कार्यक्रम पनि गरिरहेका छन् । जनआवाजको कदर गर्नुसट्टा विरोध गर्नेहरूलाई थुनेर र मुद्दा लगाएर ओली सरकारले मालिकभक्ति देखाउने काम मात्र गरिरहेको छ । नेपालको पूर्व मेचीदेखि महाकालीसम्म ७० ठाउँमा भारतीय विस्तारवादले नेपाली भूमि कब्जा गरेको छ । सिमानामा पक्की सडक बनाएर हेपाहा प्रवृत्ति देखाइरहेको छ । एकतर्फी किसिमले सिमानामा बनाइका बाँधहरूले नेपाली भूमि र गाउँहरू डुबानमा परेका छन् ।

लिपुलेकको घाउ पुरानै हो र आफ्नो भूमिलाई आफ्नो भनेवापत गत साल गोविन्द गौतमको हत्या भएको घटना नसेलाउँदै भर्खरै पनि कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा सोही प्रकृतिको घटना घटेको छ । नेपालभित्र लगाएको तारबार भारतीय प्रहरीले फालेको छ र नेपाली नागरिकलाई कुटपिट गरेको छ । ओली सरकार भने केही बोल्दैन, अभिनन्दनकालागि शब्द चयनमै मस्त छ । भारतीय राजदूतलाई नेपालमा राजनीति गर्न छुट दिने क्रममा ओली सरकारले ५ करोड बोकेर राजदूतलाई नेपालको जुनसुकै कुनामा जान छुट दिएको छ । यो भन्दा बिडम्बनाको स्थिति अरू के हुन सक्छ ?

नेपाल भारतकै प्रान्त हो र यहाँ आफूले चाहेअनुसार नै चल्छ र नेपाली जनता मेरो विरोधमा होइन, जयजयकारमा छन् भनेर मोदीले देखाउन खोजेको जस्तो लागे पनि मोदीको सुरक्षामा देखाइएको तामझामले आफ्ना कुकृत्यका कारण मोदी छिमेकी जनताबीच एकदमै अप्रिय छन् र उनी हरक्षण आफ्नो सुरक्षाप्रति बेचैन छन् भन्ने कुरा नै प्रस्ट भएको छ । अहिलेको सुरक्षा आतङ्ले यसै कुराको पुष्टि गर्छ । सत्य के हो भने केन्द्र तथा प्रदेशका सरकारले मोदीसामु घुँटा टेके पनि नेपाली जनताले भने भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध सदैव औला ठड्याइरहेका छन् र ठड्याइरहने छन् ।

हिजोका दिनदेखि नै भारतले यहाँको प्राकृतिक स्रोतसाधन र पानीमा आँखा गाडेको हो । अपर कर्णालीपछि कोशी उच्च बाँध अनि अरूण कब्जा गर्ने उसको उद्देश्य हो । ‘मधेस एक प्रदेश’ को नारा त्यसै उसले अघि सारेको थिएन । अपर कर्णाली प्रचण्ड-ओलीले जिम्मा लगाएपछि कोशी उच्च बाँध र अरूणतर्फ उसले पाइला चाल्नु स्वाभाविक थियो । अहिले नयाँ आवरणमा ‘जलसन्धी’ का कुरासमेत आएका छन् । ओलीको दिल्ली भ्रमणमा कारणबस रोकिएको अरूण तेस्रो कब्जा गर्ने भारतीय योजनालाई अब सरकारले नै सफल बनाइदिने भएको छ । भारतले निकै लामो समयदेखि गरेको प्रयास यसपल्ट सफल हुने भएको छ ।

अरूण भारतलाई सुम्पने राष्ट्रघाती निर्णयको चौतर्फी विरोध हुनु स्वाभाविक छ । मोदी जनकपुरलाई आधार बनाएर नेपालको तराई, मूलतः मधेस भनेर चिनिने २ नम्बर प्रदेश र भारतको बिहारको राजनीतिमा पकड कायम गर्न चाहन्छन् र जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथको यात्रामार्फत नेपालमा हिन्दूवादी अतिवादका लागि दिगो प्लेटफर्म तयार पार्न खोजिरहेका छन् । 

ओलीको दिल्ली भ्रमणमा कारणबस रोकिएको अरूण तेस्रो कब्जा गर्ने भारतीय योजनालाई अब सरकारले नै सफल बनाइदिने भएको छ ।

यो भन्दा पनि डरलाग्दो कुरो चिनियाँ भूमि तिब्बतसँग जोडिएको किमाथान्काको नजिकरहेको अरूण तेस्रो परियोजना हातमा लिएर भारत त्यस क्षेत्रमा लामो उपस्थिति कायम गर्न चाहन्छ । गाँठी कुरा यही नै हो । अरूणमार्फत नेपालको पानी र बिजुलीमा हैकम कायम गर्ने योजनाका साथ सामारिक उद्देश्य पूरा गर्ने भारतीय नियत रहेको कुरा दिनको घामजत्तिकै प्रस्ट छ ।

यस यथार्थलाई देशभक्त र राष्ट्रिय स्वाधीनताप्रति सचेत नेपाली नागरिकहरू, राजनीतिक विश्लेषकहरू तथा क्रान्तिकारी पार्टीहरूले बुझेका छन् र अरूण तेस्रो योजना भारतलाई सुम्पने सरकारी निर्णयको विरुद्धमा सडकमा पनि निस्केका छन् । सामाजिक सञ्जालमार्फत निरन्तर खबरदारी जारी राखेका छन् ।

भ्रमणको कार्यतालिका हेर्दा यस्तो प्रतीत हुन्छ, ‘भारतीय प्रम मोदी नेपाल भ्रमण गर्न समय लिएर होइन, उनको कुनै प्रान्तीय सरकारलाई निर्देशन गरेझैं आफैंले समय घोषणा गरेर आफ्नै सवारीसाधन र सुरक्षाफौज लिएर आउने भएका छन् । उनी नेपाल आउनुको यसपटकको एक मात्र कारण अरुण ३ कब्जा गर्नु हो।’

दुई देशका प्रधानमन्त्रीहरूबीच द्विपक्षीय भ्रमण सामान्य मानिए पनि मोदीको सुरक्षाका नाममा भारतीयहरूले सामरिक क्षेत्रमै गरेको हस्तक्षेप र ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादी व्यवहार बढी गम्भीर र चुनौतीपूर्ण छ । यसले नेपालको राजनीतिको खतरनाक यात्रातर्फको दिशालाई सङ्केत गर्छ । राष्ट्रिय स्वाधीनताको लडाइँ लडिरहेकाहरूका लागि यो थप चुनौतीको विषय हो ।

०००००००००००००००००००००

बैशाख २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस