कर्णाली प्रिमियर लिग सुर्खेतमा : राष्ट्रिय खेलाडी कप्तान रहेका टिमबीच रोमाञ्चक भिडन्त

बैशाख २७, २०७५

सुर्खेत, २७ वैशाख– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिग हुने भएको छ । प्रदेशमा आयोजित प्रतियोगिता मध्येको अहिलेसम्मकै सर्वाधिक राशी पुरस्कार भएको कर्णाली प्रिमियर लिगमा भाग लिन राष्ट्रिय किक्रेट टोलीमा सहभागि खेलाडीहरू आउने भएका छन् । 

राष्ट्रिय किक्रेट टोलीका खेलाडीको कप्तानीमा रहेका टिम सुर्खेत आउन लागेको हो । टि–२० प्रतियोगितामा सहभागी हुने टिम र कप्तानको घोषणा गरिएको लिगका प्रचारप्रसार संयोजक मानबहादुर खड्काले लोकान्तरलाइ बताए । प्रतियोगितामा देशभरका विभिन्न १० टिम सहभागि हुनेछन् ।

बन्धु विकास सहकारी संस्थाले आयोजना गर्न लागेको टि–२० प्रतियोगिता जेठ २ गतेदेखि  सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा हुने छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू सोही मैदानमा खेलिने छ ।

खड्काका अनुसार प्रतियोगितामा मदन भन्डारी स्पोर्ट्स एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही ११, महाकाली क्रिकेट क्लब, भेरिगगां स्पोर्ट्स क्लब, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, एबीसी क्लब तथा धनगढी क्रिकेट एकेडमीले सहभागिता जनाउने छन् ।

प्रतियोगीतामा मदन भन्डारी स्पोर्ट्स एकेडमीको कप्तानमा रुपेस श्रीवास्तव, रोयल राइजिङ क्रिकेट क्लबको कप्तानमा विवस गिरी, मध्यपश्चिम क्रिकेट क्लबको कप्तानमा सुबेन्दु पाण्डे, त्रिभुवन आर्मी क्लबको कप्तानमा विनोद भन्डारी, रुपन्देही ११ को कप्तानमा शक्ति गौचन, महाकाली क्रिकेट क्लबको कप्तानमा प्रदीप एरी, भेरिगङ्गा स्पोर्ट्स क्लबको कप्तानमा लोकेन्द्र विक, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको कप्तानमा सन्जय बस्नेत, एबीसी क्लबको कप्तानमा रविन्द्र साही तथा धनगढी क्रिकेट एकेडमीको कप्तानमा भुवन कार्की रहने छन् ।

आयोजक बन्धु विकास सहकारी संस्थाले कर्णाली प्रदेशमा क्रिकेट गतिविधि शुन्य अवस्थामा रहेको र यस क्षेत्रमा क्षमतावान खेलाडीहरूको पहिचान होस् भन्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । 

रुस्लानले मुख्य प्रायोजन गर्ने प्रतियोगिताको विजेताले रु ३ लाख, उपविजेताले रु १ लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले रु २ हजार ५०० प्राप्त गर्ने छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु २५ हजार र उत्कृष्ट बलर तथा ब्याट्सम्यानले रु १० हजार प्राप्त गर्ने घोषणा गरिएको छ । 

यस्तै प्रत्येक दिन खेल हेर्ने दर्शक मध्ये भाग्यमानी १ जनालाई १ हजार रुपैयाँ समेत प्रदान गरिनेछ ।

बैशाख २७, २०७५ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस