सन्दीपले पाए आर्इपीएलमा बलिङ गर्ने मौका

काठमाडौं, २९ वैशाख– नेपाली लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेबिल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल)मा बलिङ गर्ने मौका पाएका छन् । 

सन्दीपले दिल्लीको १२ औं खेलमा बिराट कोहलीको टीम रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्न पाएका हुन् ।  

बैंग्लोरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । 

दिल्लीले अक्सनबाट २० लाख भारतीय रुपैयाँमा सन्दीपलाई अनुबन्ध गरेको थियो । तर, यसअघिका ११ खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतारेको थिएन । 

११ खेलमा ८ खेलमा पराजय भोगेर अंक तालिकाको पुछारमा रहेको दिल्लीको अघिल्लो चरण (प्लेअफ)मा जाने संभावना लगभग समाप्त भइसकेको छ । 

यद्यपि उसले आजको सहित अब बाँकी ३ खेल खेल्न पाउने छ । यी खेलमा दिल्लीका लागि क्षमता प्रदर्शन गर्ने मौका छ । 

संयाेगवस नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अाजै सन्दीपकाे चर्चा गरेका थिए । 

काठमाडौं महानगरद्वारा मोदीलाई नागरिक अभिनन्दन गर्न राष्ट्रिय सभागृहमा शनिबार आयोजित कार्यक्रममा मोदीले सन्दीप लामिछानेको चर्चा गरेका थिए ।

'भारतमा अहिले आईपीएल चलिरहेको छ, नेपाल पनि आईपीएलमा जोडिएको छ, सन्दीप लामिछानेले आईपीएलमा भाग लिइरहेका छन्,' मोदीले भनेका थिए, 'आउने समयमा क्रिकेटबाट मात्र होइन, अन्य खेलको माध्यमबाट पनि दुई देशबीच र जनता-जनताबीचको सम्बन्ध मजबुत हुनेछ ।'

बैशाख २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस