आईपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन : खेल हेरेपछि प्रचण्डले भने- 'नेपालीको शीर ठाडो भयाे'

काठमाडौं, ३० वैशाख– पहिलो नेपाली क्रिकेटरका रुपमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यू गरेका सन्दीप लामिछानेले पहिलो खेलबाटै सबैलाई प्रभावित पार्न सफल भएका छन् । शनिबारको उनको प्रदर्शनको चौतर्फी प्रशंसा भएको छ । 

खेल हेरेपछि ट्वीट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई बधाई दिएका छन् । उनले बधाई दिँदै सन्दीपले नेपालीको शीर ठाडो पार्ने काम गरेको बताए । 

यसले नेपाली क्रिकेटमा उर्जा थपेको प्रचण्डको भनाइ छ । प्रचण्डले ट्वीट गर्दै भनेका छन्, ‘ नेपाली क्रिकेट टीमका युवा खेलाडी सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिगको हिजोको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा हार्दिक बधाई दिन चाहान्छु । आफ्नो पहिलो खेलमा नै महत्वपूर्ण विकेटसहित उनले गरेको कुशल प्रदर्शनले संसारभरीका नेपालीको शीर ठाडो भएको छ ।’

उनले अगाडी लेखेका छन्, ‘यसबाट नेपाली क्रिकेटको विकासका लागि समेत ठूलो उर्जा प्रदान गरेको छ । हामी सबै नेपालीलाई बधाई र नेपाली क्रिकेटको उज्ज्वल भविष्यको शुभकामना। ’

दिल्ली डेयरभिल्सका स्पिनर सन्दीपले रोयल च्यालेन्ज बेंग्लोरविरुद्ध डेब्यू गरेका हुन् । उनी शनिबार नै पहिलो पटक मैदानमा उत्रिएका थिए । सन्दीपले आफ्नो पहिलो खेलमै पुरै स्पेल बलिङ गर्न सफल भए । उनले डेब्यू खेलमै पहिलो विकेट लिए ।

दिल्लीको बलिङ इनिङको २.४ ओभरमै सन्दिपले बेंग्लोरका ओपनर पार्थिव पटेललाई ६ रनमा एलबीडब्लू धरापमा पार्दै आईपीएलकै पहिलो विकेट हात पारे । सन्दीपले ४ ओभरमा २५ रन खर्चे ।

यसअघि शनिबार काठमाडौंमा भएको कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सन्दीपको नाम लिँदै खेलले दुई देशलाई जोडेको बताएका थिए ।

बैशाख ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस