कर्नाटकमा सरकार बनाउने खेल, आफ्ना सांसदलाई भाजपाले प्रलोभन दिएको कांग्रेसको आरोप

जेठ २, २०७५

काठमाडौं, २ जेठ – भारतको कर्नाटक राज्यमा भएको विधानसभा चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि सरकार बनाउनका लागि खेलहरू भइरहेका छन् । 

भाजपा १०४ सीट ल्याएर सबभन्दा ठूलो पार्टी बनेको भएपनि बहुमतभन्दा आठ सीट वरै रह्यो । कांग्रेस र जनता दल सेक्युलर मिलेर सरकार बनाउन खोजिरहेका छन् । 

यसैबीच आफ्ना विधायकहरूलाई भाजपाले सम्पर्क गरेको कांग्रेसले आरोप लगाएको छ । भाजपाबाट आफ्ना विधायकहरूलाई बचाउनका लागि कांग्रेसले प्लान पनि तयार गरेको छ । अनि कांग्रेसले पार्टीमा कुनै पनि गुटबन्दी नरहेको बताएको छ । 

अब गभर्नर वजुभाई भालाले कुन दललाई बहुमत सिद्ध गर्नका लागि अवसर दिन्छन् भनी सबै उत्सुक छन् ।

कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादले बुधवार भने, ‘सबभन्दा ठूलो दलसँग पर्याप्त संख्या छैन । उससँग १०४ विधायक छन् भने हामी (कांग्रेस र जेडीएस) सँग ११७ सीट छन् । गभर्नरले भाजपाको पक्ष लिन मिल्दैन । संविधानलाई
बचाउने भनी शपथ खाएको व्यक्तिले संविधानमाथि चोट पु–याउन हुँदैन । गभर्नरको सम्बन्ध भाजपा वा आरएसएससँग भएपनि उनले त्यसलाई बिर्सनुपर्छ ।’

कांग्रेसका नेता रामालिंगा रेड्डीले भने, ‘भाजपा हाम्रा विायकहरूसम्म पुग्ने कोशिश गरिरहेको छ । उक्त दल लोकतन्त्रमा विश्वास गर्दैन, खाली सत्ता पाउन चाहन्छ । हाम्रो सबै विधायक खुशी छन्, कोही असन्तुष्ट छैन ।’

भाजपाले ११२ सीटसहितको बहुमत कसरी पु–याउला भनी सबैजना उत्सुक छन् । भाजपा नेता बसवराज बोमईले भने, ‘राजनीतिक तस्वीर दुईतीन दिनमा प्रस्ट हुन्छ । राजनीतिक पार्टीहरूको फैसलामा यो निर्भर रहन्छ । अहिले त
हामी कसैसँग पनि सम्पर्क गरिरहेका छैनौं तर राजनीतिमा सबै सम्भावना खुला हुन्छन् ।’

एजेन्सी
 

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस