देउवा गुटका गिरीले पाए धनुषा कांग्रेसको नेतृत्व, निर्वाचनमा धाँधली गरेको साहको आरोप

जनकपुरधाम, २ जेठ– नेपाली कांग्रेस धनुषाको नेतृत्वमा महेश शंकर गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

उपसभापतिमा सन्तोष यादव, सचिबमा विशेश्वर यादव र कोषाध्यक्षमा राजलाल महतो सर्र्वसम्मतिले निर्वाचित भएको भन्दै निर्वाचन आयुक्त ज्ञानेन्द्र रावलले मंगलबार राति प्रमाणपत्र दिएका छन् । प्रमाणपत्र पाएको लगत्तै बुधबार उनीहरूले पदभार समेत ग्रहण गरेका छन् ।

शेरबहादुर देउबाले नेतृत्व गरेको नेपाल बिद्यार्थी संघ (नेविसंघ)मा कार्यसमिति सदस्य थिए, गिरी । त्यसपछि बिमलेन्द्र निधिले नेतृत्व गरेको नेविसंघमा उनी कोषाध्यक्ष थिए । देउवा पार्टीको सभापति हुंदै पटक पटक देशका प्रधानमन्त्री भईसके । निधि पनि पटक पटक मन्त्री हुंदै अहिले पार्टीमा उपसभापति समेत भएका छन् । तर, उनकै कार्यकालका विद्यार्थी नेताले भने बल्ल आएर कांग्रेस धनुषाको नेतृत्व गर्ने अवसर पाएका छन् । 

‘कांग्रेसमा कार्यकर्ताको मुल्यांकन हुँदो रहेछ, ढिलाई भए पनि मलाई अबसर प्रदान गरिएको छ,’ गिरीले लोकान्तरसंग भने, ‘निर्वाचन नगराएर सर्वसम्मत ढंगले नेतृत्व चयन गरेर धनुषा कांग्रेसमा गुट उपगुटको राजनीति अन्त्य भएको संदेश दिइएको छ ।’ कुनै पनि कार्यकर्तासंग गुट उपगुटको आधारमा अब भेदभाव मैले गर्ने छैन, कांग्रेस धनुषाका नव निर्वाचित सभापति गिरीले भने ।

भएन निर्वाचन, सर्वसम्मतीबाट नेतृत्व चयन

धनुषा कांग्रेसमा अहिले दुईवटा गुट प्रष्ट देखिन्छ । एउटा गुटको नेतृत्व निधि आफैंले गर्दै आएका छन् भने अर्को गुटको नेतृत्व लीला कोइरालाले गर्दै आएकी छन् । स्वाभाविक रूपले बिभिन्न पदमा दुवै गुटबाट उम्मेदवारी परेको थियो । सभापतिमा गिरीलाई निधिले उठाएका थिए भने उनकै खेमाका रामपल्टन साहले समेत बागी उम्मेदवारी दिएका थिए ।

त्यसै गरी पौडेल गुटबाट सभापतिमा सन्तोष यादवलाई केन्द्रिय सदस्य रामकृष्ण यादवले उठाएका थिए भने विशेश्वर यादवलाई पूर्व राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र पूर्वसांसद दिनेश पर्सैला यादवले उठाएका थिए । त्यसै गरी सचिब र कोषाध्यक्ष पदका लागी समेत दुबै गुटबाट पाँच पाँच जनाले उम्मेदवारी दिएका थिए । 

तर, उपसभापतिमा मनोनयन भए पछि कांग्रेस धनुषामा मतदान नगराई सर्बसम्मत ढंगले नेतृत्व चयन गर्ने कामका लागि गृहकार्य भने लामो अम देखि गर्दै आएका थिए । त्यसका लागि निधिले काठमाण्डौमै अर्को खेमाका नेताहरू लीला कोइराला, चन्द्रमोहन यादव,रामकृष्ण यादव र आनन्द ढुंगाना लगायत संग र पूर्ब राष्ट्रपति रामबरण यादव संग समेत घर घरमै पुगेर भेट बार्ता र छलफल गरेका थिए ।

पार्टीमा बिभिन्न गुटहरू रहेकाले सम्पन्न भएको तीन वटै तहका निर्बाचनमा घात अन्तर्घात समेतका कारण पार्टीले पराजय भोग्नुपरेको कारण यस पटक सर्बसम्मत ढंगले नेतृत्व चुन्नु पर्ने कुरामा निधि दृढ संकल्पित थिए, नेपाली कांग्रेसका निबर्तमान धनुषा सभापति रामसरोज यादवले भने,‘उपसभापति निधिले कांग्रेस धनुषामा सर्बसम्मत ढंगले नेतृत्व चयन गर्नुका साथै समाबेशी तरिकाले सबैको चित्त बुझ्ने गरी नेतृत्व चुन्नु भएको छ ।’ धनुषाबाट पार्टी एक ढिक्का भएको देशव्यापी संदेश दिन खोजिएको हो, उनले भने । 

यसरी भयो सहमति

उपसभापति निधि, केन्द्रिय सदस्यहरू आनन्द ढुंगाना,रामकृष्ण यादव,महेन्द्र यादव,मिनाक्षी झा, बर्तमान र पूर्व सांसदहरू एक ठाउमा बसेर सर्बसम्मत नेतृत्व चयन गर्ने जनादेश पाए । पौडेल खेमाबाट सभापतिमा उम्मेद्वारी दिएका सन्तोष यादवलाई उपसभापतिमा र विशेश्वर यादवलाई सचिवमा र राजलाल महतोलाई कोषाध्यक्षमा चयन गरेर निर्बाचन आयुक्तलाई दिइएको थियो ।

साढे दुई बर्ष ढिलो अधिवेशन

अहिले सम्पन्न भएको जिल्ला अधिवेशन साढे दुई बर्ष अघि नै भईसक्नु पर्ने थियो । तर, बिगतका बिभिन्न चुनावहरू, पार्टीको आन्तरिक राजनीतिक कारण, बिभिन्न गुट उपगुट आदिका कारणले जिल्ला अधिवेशन साढे २ बर्ष ढिलो गरेर सम्पन्न भएको छ ।पटक पटक अधिवेशनका लागि मिति निर्धारण गरी पनि अधिवेशन भने गराउन सकिएको थिएन ।

निर्वाचनमा धाँधली गरिएको सभापतिका प्रत्यासी रामपल्टनको आरोप 

केन्द्रिय उपसभापति निधि र अन्य केन्द्रीय नेताहरूले एकलौटी ढंगले धाँधली गर्दै जबर्जस्ति सर्बसम्मत ढंगले निर्बाचन परिणाम घोषणा गरेको सभापतिका प्रत्यासी रामपल्टन साहले आरोप लगाएका छन् । एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केन्द्रीय नेताहरूले सर्बसम्मतिका लागि दबाब दिएपछि जो जुन पदमा उम्मेदवारी दिएका छन् त्यही पदमा मात्र सहमती गर्ने भनेर सबै उम्मेदवारको हस्ताक्षर गराईयो  । यतिसम्म भनियो की यो हस्ताक्षर उम्मेद्वारी फिर्ता भएको मानिंदैन  । तर केन्द्रीय नेताहरूले जबर्जस्ती गरेर सर्बसम्मति भएको घोषणा गरे  । तर, सभापति पदका अर्का प्रत्यासी सन्तोष यादवलाई उपसभापति, अर्का प्रत्यासी विशेश्वर यादवलाई सचिब र रासलाल महतोलाई कोषाध्यक्ष पदमा सहमति गरेर बलजबर्जस्ती नतीजा घोषणा गरियो  । ’ 

उपसभापतिको मनोनयन सभापति सहितको निर्बाचित कार्यसमितिबाट मनोनयन हुनुपर्नेमा निर्बाचन अधिकृतले अबैधानिक तरीकाले उपसभापतिमा सन्तोष यादबलाई निर्बाचित गरेको छ  । आफ्नो उम्मेदवार पराजय हुने सुनिश्चित देखेपछि केन्द्रीय नेताहरूले लोकतान्त्रिक विधिलाई चीर हरण गरेर चरम अधिनायकबादी शैली प्रस्त’त गरेको उनले आरोप लगाएका छन्  । 
 

जेठ २, २०७५ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस