नीति निर्माण तहमा पुगेकाहरूको नियत ठीक नहुँदा  व्यापारीहरूले दुख पाए : मुख्यमन्त्री

जेठ २, २०७५

काठमाडौँ, २ जेठ - प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नीति निर्माण तहमा पुगेका व्यक्तिहरूको नियत ठीक नभएका कारण व्यापारीहरूले सोचे जस्तो आर्थिक उन्नति हासिल गर्न नसकेको बताउनुभएको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आज आयोजना गरेको निर्यात प्रबद्र्धन तथा आयात प्रतिस्थापनमा आभूषण क्षेत्रको योगदान, संभावना तथा उपाय विषयको राष्टिय सम्मेलनमा मुख्यमन्त्री राउतले बाउबाजेको श्रीसम्पत्तिबाट सुनचाँदी तथा आभूषण र रत्नको कारोबार गर्दै आएका व्यवसायीले लाखाँै मानिसलाई रोजगारी प्रदान गर्दै आएको बताउनुभयो । मुख्यमन्त्री राउतले थप्नुभयो, “राजनीतिक संरक्षण पाएका सुन तस्करहरू मालामाल छन् । तर बाउबाजेको श्रीसम्पत्ति लगानी गरी व्यवसाय सञ्चालन गर्दै आएका सुन व्यवसायी दुःखी जीवन बिताउँदै छन् ।” 


ADVERTISEMENT

उहाँले भन्नभयो, “देश विकास गर्ने हो भने व्यवसायी तथा उद्यमीलाई व्यवसाय गर्ने अवसर दिनुपर्छ । आर्थिक समृद्धिको नारा छाट्दैमा समृद्ध देश बन्दैन ।” 

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले वर्तमान सरकार नयाँ सोच र चिन्तनका साथ अघि बढिसकेकाले देश समृद्ध हुने र देशभित्र लगानी बढ्दै जाने बताउनुभयो । 

विगतका दिनमा पहुँचका आधारमा काम हुने तर पद्धतिका आधारमा काम नभएकाले देश पछाडि परेको उहाँको टिप्पणी थियो । 

प्रदेश नंं १ का मख्यमन्त्री शेरधन राईले नयाँ जगमा देश उभिसकेकाले अब विकासको कामले गति पाउने र जनताको आकाँंक्षा छिट्टै पूरा हुने बताउनुभयो । 

नेपालमा भएका रत्न तथा पत्थर खानीको अन्वेषण गर्नुपर्ने उहाँको सुझाव थियो । 

नेपाल राष्ट बैँकका डेपुटी गर्भनर चिन्तामुनि शिवाकोटीले आभूषण व्यवसायीले व्यावसायिक ढंगले गहना उत्पादन गरी विदेशमा निर्यात गरे राष्ट्र बैंकले जति पनि सुन उपलब्ध गराउने वचन दिनुभयो । 

जेठ २, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस