पार्टीले बिर्सियो, झण्डै ३ वर्षदेखि एक कल फोन पनि आएको छैन– भरतमोहन [भिडियोसहित]

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ –नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीवार एकता हुँदैछ । नेपाली कम्युनिस्ट आन्दोलनका २ प्रमुख धारबीच एकता भएर सम्भवत: नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी बन्नेछ । नेपाली कम्युनिस्ट आन्दोलन टुटफुट र धेरै आरोह-अवरोहबाट गुज्रियो । ४० को दशकअघि कम्युनिस्ट राजनीति गर्नु सहज थिएन । धेरै नेताले जेलनेल भोगे । कतिपयले बलिदानी दिए । त्यसैको बलमा नेपाली कम्युनिस्ट आन्दोलन अहिलेको अवस्थामा आइपुगेको छ ।

एमाले-माओवादी एकताको तयारी तीव्र भएपछि हामी पहिलो कम्युनिस्ट सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीलाई भेट्न सोमबार उनको निवास सानेपा पुग्यौं । अस्वस्थ अवस्थामा रहेका तत्कालीन प्रभावशाली कम्युनिस्ट नेता अधिकारीले कुराकानीका क्रममा पार्टीले आफूलाई बेवास्ता गर्दा अहिले एक्लो महसुस हुन थालेको गुनासो गरे ।

‘मैले आफैंले ५० वर्षको राजनीतिक यात्रापछि पद छाड्ने निर्णय गरेको थिएँ । पार्टीका लागि दशकौं खर्च गरेँ, पार्टीका लागि काम गरेँ । अहिले दुई अढाइ वर्षदेखि एमाले पार्टी कार्यालयले मलाई एक कल फोन पनि गरेको छैन । भरतमोहन एमाले थियो भन्ने कुरा नै बिर्सिसके कि जस्तो छ । बुढो सबै हुन्छन्, राजनीतिबाट निष्क्रिय सबै हुनु नै पर्छ । म त केही छैन बेहोर्छु । अरुलाई पनि पर्छ नि यस्तो त । अग्रजलाई सम्मान गर्ने प्रवृत्ति बसाउनुपर्छ । यो हाम्रो संस्कृति पनि हो,’ अधिकारीले लोकान्तरसँग भने ।

पार्टीको कुनै पदमा भए पनि राजनीति गर्न भने नछाडेको अधिकारी बताउँछन्, ‘यी हेर्नुस्, तपाईहरूसँग कुरा गर्नु पनि राजनीति नै हो नि !’ 

आफूलाई कुनै पद नचाहिएको तर पार्टीतिरै कतै इन्गेज हुने व्यवस्था भए आफ्नो बुढ्यौली बिताउन सजिलो हुने अधिकारी बताउँछन् ।

झण्डै ५ दशक राजनीतिमा होमिएका अधिकारी जीवनलाई एक मिसन ठान्छन् । ‘जीवन एउटा मिसन हो, जीवनमा कुनै खास उद्देश्य लिनुपर्छ, तर त्यो मिसनका बीचमा जे आउँछ त्यो सबै गरिरहने हो । जीवनको भरपूर उपयोग गर्नुपर्छ । हामीले समाज देश राष्ट्रको लागि गर्नुपर्छ,’ उनी भन्छन् ।

समाज बदल्न राजनीति गरेँ

किशोरावस्थामा राजनीतिमा होमिएका अधिकारी अहिलेको कम्युनिस्ट राजनीतिक प्रवृत्ति देखेर छक्क पर्छन् । ‘हामीले राजनीति शुरु गर्दा कम्युनिस्ट पार्टीको नेता भएर हिँड्नु ज्यान जोखिममा थियो । एकछिनपछि के हुन्छ केही थाहा हुदैनथ्यो । अहिलेको अवस्था आउला भन्ने त कल्पना पनि थिएन । बहुदल आउला, लोकतन्त्र आउला, यसरी खुलेर राजनीतिमा आउन पाइएला, सांसद हुन पाइएला भन्ने त कल्पना नै थिएन । हामी त समाज बदल्न राजनीतिमा आएको,’ उनी भन्छन् ।

उति बेलाको सोचाइ र अहिलेको सोचाइमा निकै फरक देख्छन् उनी । ‘हामी केही गर्छौं भन्दा भन्दै अवसर पाउन सफल भयौं र अहिलेसम्म खुशी छौं, तर अहिले केही बन्छौं भनेर आउँछन् र अवसर पाउँदैनन् जहिले पनि दुःखी मात्रै भइरहन्छन् ।’

आफूले पसिना बगाएको पार्टी विकृतिमा फसेकोमा चिन्ता व्यक्त गर्दै अधिकारी भन्छन्, ‘अहिलेका साथीहरूलाई राम्रो मौका छ, तर हानाथाप बढी छ । एमाल ेभित्रैका साथीहरू व्यक्तिगत स्वार्थमा अल्झिए । पार्टीभित्रै चरम गुटबन्दी छ, आर्थिक हिनामिना छ ।  योग्यताको मूल्याङ्कन भएन । यो कुरा सच्याउनुपर्छ । एमाले ठूलो पार्टी हो, राम्रो गर्दैछ, देशको नेतृत्व लिएको छ यो हाम्रो खुशीको कुरा हो । तर एमालेभित्र चरम विकृतिहरू देखा पर्न थालेका छन्, यी विकृतिलाई सच्याउनैपर्छ ।’

पारिवारिक मामलामा भाग्यमानी अधिकारी

राजनीति र पारिवारिक माहोल मिलेकोमा अधिकारी आफूलाई भाग्यमानी ठान्छन् ।  ‘म भाग्यमानी हुँ । १६  वर्षमा कम्युनिस्ट पार्टीमा लागेँ, झण्डै ३४ वर्ष पुग्दा विवाह गरेँ । विवाह गर्ने व्यक्ति पनि राजनीतिक पृष्ठभूमिकै भेट्टाए । उनी त्यतिबेला नै अनेरास्ववियुको कोषाध्यक्षमा बसेकी महिलासँग विवाह गर्ने अवसर पाएं । म लुके पनि छिपे पनि परिवारले सहजै स्वीकार्ने अवस्था रहँदा मलाई सहज भयो ।’

कुराकानीका क्रममा अधिकारीले आफूलाई राजनीति गर्दा फाइदैफाइदा भएको बताए । उनले भने, ‘म सँगैका कति सार्थीहरू मारिए, बेपत्ता भएं । मैले त संघर्ष गरेँ । सांसद भएँ, पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्री भएँ, लोकप्रिय बनेँ । म त भाग्मानी हो ।’

छोरीहरूलाई अरुले नै पढाइदिँदा झनै धेरै भाग्मानी सम्झिने गरेको अधिकारी सुनाउँछन्, ‘मेरा तीनजना छोरी छन् । तर छोरीहरुको पढाइमा मैले दुःख गर्नु परेन । साथीभाइको न्यानो सहयोग पाएँ । जेठी छोरीलाई बंगालको कम्युनिस्ट पार्टीको नेता ज्योति बसुले डाक्टर पढाइदिए । माइली छोरीलाई चीनले पढाइदियो । कान्छीलई भारतले पढाइदियो ।’ 

नैतिक दबाबमा आएको त्यो बजेट

वि.सं. २०५१ को अनुभव यसरी सुनाउँछन्, अधिकारी – ‘म अर्थमन्त्री हुँदा अवस्था अर्कै थियो । मध्यावधी चुनाव भएको थियो, काँग्रेसको बहुमत थियो । अचानक हामी ठूलो पार्टी बन्यौं, त्यो हामीलाई चिठ्ठा परेजस्तो भयो । त्यही सरकारमा अचानक अर्थमन्त्री भएँ । हामीसँग सरकार सञ्चालन गर्ने कुनै पनि योजना थिएन । हामीसँग अधिकारका लागि लड्ने कुराका मात्रै योजना थिए । मनमोहनजी मंसिर १४ गते प्रधानमन्त्री हुनुभयो, १५ गते केपी ओली गृहमन्त्री, म अर्थमन्त्री भएँ ।’

त्यतिबेला लोकप्रिय बजेटबारे उनी यसरी भन्छन्, ‘त्यो बेला बजेट बनाउने कुरा आयो । समस्या के भयो भने, बजेट आउने असारमा हामी छौं मंसिरमा, असारसम्म सरकार टिक्ने टुंगो छैन । पहिलो कम्युनिस्ट सरकारले केही न केही त गर्नैपर्छ । बन्ने सोचका साथ हामीले हतारमा बजेट ल्यायौँ । त्यो बजेटका केही कार्यक्रम लोकप्रिय पनि बने । त्यो खास स्थिति थियो । आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम ल्यायौँ । वृद्ध भत्ताका कार्यक्रम ल्यायौँ, जुन लोकप्रिय भए ।’

‘अहिले त सरकारसँग पर्याप्त पैसा छ, समय छ, पूरा अनुभव छ । हामी मन्त्री भइसकेका मान्छे छौं । त्यो बेला अल्पमतमा थियौंं, अहिले पाँच वर्षका लागि ढुक्क छ, जनता पूरा सहयोगी छन् । परिस्थति अनुकूल छ । यी कुराले नै अहिलेसम्म एमाले लोकप्रिय छ । त्यो संक्रमणमा हामीले गरेका कामले नै एमाले अहिलेसम्म लोकप्रिय रहनुको एक प्रमुख कारण हो ।’

आफ्नो पालाको सरकारको लोकप्रियताले नै एमाले अहिलेसम्म लोकप्रिय रहे पनि पुराना सहपाठीलाई नसम्झिएकोमा दुःख व्यक्त गर्दै अधिकारी भन्छन्, ‘त्यतिबेला केही थिएन तर पनि हामीले लोकप्रियता कमायौँ । अहिलेका अर्थमन्त्री भाग्यमानी हुन् । हामीलाई केही जानकारी थिएन । पैसा थिएन । २६ दिनमा बजेट पेश गर्‍यौं । अहिले धेरै अनुकूल छ ।  अहिले संघीयताले धेरै चूनौती दिएको छ सँगै कयौँ अवसर पनि छन् ।’

हेर्नुहोस्, भिडियो :

जेठ ३, २०७५ मा प्रकाशित

मनीषा अवस्थी

मनीषा अवस्थी लोकान्तर डट् कमका लागि आर्थिक विषयमा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस