रुसी महिलालाई कसरी फसाउने भनी सिकाउने म्यानुअल अर्जेन्टिनाले फिर्ता लियो

काठमाडौं, ३ जेठ – अर्जेन्टिना फूटबल एसोसिएसनका प्रमुखले विश्वकप म्यानुअलको प्रकाशनका लागि क्षमा मागेका छन् । म्यानुअलमा रुसी महिलाहरूलाई कसरी प्रेममा फसाउने भनी लेखिएको थियो । 

विश्वकपका सन्दर्भमा भाषा र रुसी संस्कृति शीर्षकको कोर्समा रहेको उक्त म्यानुअललाई लिंगभेदी भनी निन्दा गरिएको थियो । त्यसमा दिइएका टिप्स यस्ता थिए ः सफा हुनू, नकारात्मक नहुनू र महिलालाई वस्तु जस्तो व्यवहार नगर्नू ।
‘रुसी महिला अत्यन्तै सुन्दर हुन्छन् र उनीहरूसँग सुतिहाल्न मन लाग्छ । तर त्यसमा हतार गर्नुुहुँदैन,’ यस्तो पनि म्यानुअलमा लेखिएको थियो ।

‘एक आन्तरिक अनुसन्धानले उक्त सामग्री भूलवश छापिएको निष्कर्ष निकाल्यो । यसले अर्जेन्टिना फूटबल एसोसिएसनको सोचलाई प्रतिबिम्बित गर्दैन,’ एसोसिएसनले एक वक्तव्य जारी गर्दै भन्यो । 

एसोसिएसन अध्यक्ष क्लाउडियो तापियाले राजधानी बुएनोस एयर्सस्थित रसिया हाउसमा बुधवार पुगेर यो गल्तीका लागि माफी मागे ।

यो सूचना खेलाडीहरू, एसोसिएसनका कर्मचारी र सञ्चारकर्मीहरूलाई केही दिनअघि उपलब्ध गराइएको थियो । विश्वकपका लागि कसरी तयारी गर्ने भनी आयोजित एक विशेष मञ्चमा यो सामग्री बाँडिएको थियो । 

चालीस हजार अर्जेन्टिनीहरूले विश्वकप हेर्नका लागि टिकट काटेका छन् । विश्वकप जेठ ३१ गतेबाट मस्कोमा शुरु हुँदैछ । 

दुईचोटिको विश्वविजेता अर्जेन्टिनाले लीग चरणमा आइसल्यान्ड, नाइजेरिया र क्रोएसियाविरुद्ध खेल्ने भएको छ ।

एजेन्सी
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस