ओली-प्रचण्ड पुगे निर्वाचन आयोग– पार्टी दर्ता हुन केही दिन लाग्ने !

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ–नयाँ पार्टी दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग पुगेका छन् । 

दुबै नेता पार्टी विघटन र कम्युनिस्ट पार्टीको घोषणा गरेपछि केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आयोग पुगेका हुन् । 

यसअघि एकीकृत दलको बैठकले सुवास नेम्वाङ र देव गुरुङलाई पार्टी एकताको सवै प्रकृया पुरा नर्गे अधिकार दिएको थियो । 

नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बन्ने नयाँ दल दर्ता हुन अझै केहि दिन लाग्ने निर्वाचन आयोगले बताएको छ।

आज दल दर्ताको लागि आएको निवेदनमात्र दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

पार्टी दर्ताका लागि पार्टीको नाम, चुनाव चिह्न, झन्डा, केन्द्रीय सदस्य संख्या लगायतको जानकारी आयोगमा बुझाएपछि प्रकृया शुरु हुने आयोगले जनाएको छ । आयोगले सबै कागजातको अध्यनपछि कानुन र प्रमाणको आधारमा मात्र नयाँ दल दर्ता गर्ने छ ।

दुवै दलले एकता पछि बनेको दलको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेका छन् । तर, नेपाल कम्युनिष्ट पार्टीको नाममा दल निर्वाचन आयोगमा दर्ता छ । ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टी आफ्नो नाममा दर्ता रहेको र कुनै पनि हालतमा नदिने बताउँदै आएका छन् ।
 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस