बाह्य शक्तिको ‘डिजाइन’मा एकीकरणलाई संस्थागत हुन नदिने खेल, घेराबन्दीमा ओली–प्रचण्ड !

जेठ ९, २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टीगत एकीकरण करीब भाँडियो, ट¥यो भन्ने चर्चा परिचर्चा भइरहेको अवस्थामा जेठ ३ गते यी दुई पार्टीबीच अप्रत्याशित रूपमा एकीकरण भएको छ । अहिले यो एकीकरणको पक्ष र विपक्षमा प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन् । 

यस विषयमा बाह्य प्रतिक्रिया मात्र होइन, पुनर्गठित पार्टीभित्रबाट पनि अस्वाभाविक प्रतिक्रियाहरू आइरहेका छन् । यो एकीकरण अन्तर्विरोधको चपेटामा पर्ने संकेतहरू देखिन थालेका छन् । यो एकताले नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र होइन, सिङ्गो राष्ट्रिय राजनीतिमा नै तरङ्ग फैलिँदैछ । राष्ट्रिय राजनीतिक समीकरण र शक्ति सन्तुलनमा यो एकीकरणबाट आएको परिवर्तनले मुलुकको भावी राजनीतिक दिशा र गतिमा प्रत्यक्ष प्रभाव पार्ने प्रबल सम्भावना बढेको छ । 


ADVERTISEMENT

यस सन्दर्भमा दुई पार्टीबीच एकीकरण कसरी सम्भव भयो, एकीकरण कति दिगो, टिकाउ र प्रभावकारी होला आदि प्रश्नका विषयमा राजनीतिक वृत्तदेखि आम जनतासम्म चर्चा परिचर्चा भइरहेको छ । 

यी दुई पार्टीबीचको एकीकरणको शुरुवात स्थानीय निकायको निर्वाचनपछि भएको हो । यसभन्दा अघि निहित स्वार्थविहिन तल्लो तहका यी दुई पार्टीका कार्यकर्ता, शुभचिन्तक र आम जनता पार्टी एकीकरणको पक्षमा रहेपनि नेतृत्व पङ्क्ति एकीकरणको पक्षमा थिएनन् । स्थानीय तहको निर्वाचनले नेतृत्व पङ्क्तिलाई पनि एकता र एकीकरणको पक्षमा सोच्न बाध्य पारेको थियो । 

तत्कालीन अवस्थामा सत्तासीन रहेको नेपाली काँग्रेस माओवादी केन्द्रलाई एमालेको विरुद्ध प्रयोग गरेर खस्किँदो आफ्नो शक्तिलाई बचाउने रणनीतिमा थियो । माओवादीको नेतृत्व पङ्क्तिले पनि एमालेको भन्दा कांग्रेससँगको सहकार्यमा बढी राजनीतिक लाभ देखेको थियो । एमालेसँगको गठबन्धन टुटाएर कांग्रेससँग सहकार्य गरी माओवादी के्रन्द्र सरकारमा जानुको कारण पनि यही नै थियो । 

स्थानीय तहको निर्वाचनको परिणामले सबभन्दा लोकप्रिय पार्टी एमालेलाई नै बनाएपनि आमनिर्वाचनमा (संघीय र प्रदेश) यो पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने स्पष्ट संकेत गरेको थियो । आफ्नो राजनीतिक जीवनको. उत्तरार्धमा पुगेका एमाले नेता केपी ओली पुनः प्रधानमन्त्री बनेर केही उल्लेखनीय कार्य गरी इतिहासमा आफ्नो विशिष्ट स्थान बनाउन हतारिएका थिए । आमनिर्वाचनमा बहुमत ल्याउनका लागि माओवादीसँग चुनावी गठबन्धन गर्नुदेखि बाहेक अर्को विकल्प नरहेको चतुर राजनीतिक खेलाडी ओलीले राम्ररी बुझेका थिए । 

उता विभाजनपछि विभाजनको शिकार भएको माओवादी केन्द्र दिनप्रतिदिन ओरालो लाग्दै गएको थियो । स्थानीय तहको निवार्चनमा झैं प्रदेश र संघको आमनिर्वाचनमा कांग्रेससँग चुनावी गठबन्धन गर्दा कम्युनिस्ट जनमत गुमाउनुपर्ने मात्र होइन, पार्टी विघटनको शिकार हुने भावी तस्वीर प्रचण्डजस्ता चलाख र परिस्थितिअनुकूल खतरा मोल्न तयार हुने माओवादी नेताले राम्ररी बुझेका थिए । 

यिनै घटनाक्रम र परिस्थितिले एक अर्कालाई प्रतिस्पर्धी मात्र होइन, दुश्मनकै रूपमा हेर्ने यी दुई पार्टीको नेतृत्व पङ्क्तिलाई आमनिर्वाचनमा चुनावी गठबन्धन गर्न बाध्य बनाएको थियो । दुई पार्टीको नेतृत्वपङ्क्ति एक अर्कालाई अविश्वास गर्दै आमनिर्वाचनमा होमिएपनि दुवै पार्टीका तल्लो तहका कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूबीच एकताको लहर र प्रभाव अस्वाभाविक रूपमा चलेको थियो । 

आमनिर्वाचनमा एमाले–माओवादी गठबन्धनलाई केन्द्रीय संसदमा झण्डै दुईतिहाइ र ६ वटा प्रदेशमा बहुमत प्राप्त भएबाट यी दुई पार्टीबीच एकीकरण हुने बलियो आधार तयार भएको थियो । दुवै पार्टीको नेतृत्वपङ्क्ति भने निर्वाचनपछि पनि पार्टी एकीकरण गर्न त परै जाओस्, गठबन्धनलाई निरन्तरता दिने विषयमा पनि दोधारको मनस्थिति थियो । माओवादी–काँग्रेसबीच र एमाले–मधेसवादी पार्टीबीच सहकार्य गर्ने पर्दापछाडि अभ्यास नभएको होइन । दुई पार्टीबीच सहकार्यका लागि मात्र होइन, पार्टीगत एकीकरणकै लागि परिस्थितिको चर्को दबाबमा ओली नेतृत्वमा एमाले–माओवादीको संयुक्त सरकार बनेको हो । 

संयुक्त सरकार बनेपछि पार्टीगत एकीकरणको सम्भावना अप्रत्याशित रूपमा बढेर गयो । यो स्थितिबाट अत्तालिएका भित्री र बाहिरी एकताविरोधी शक्तिहरूले त्यसपछि दुई पार्टीबीच एकीकरण हुन नदिन सक्रियता बढाएका हुन् । यो एकता प्रक्रियालाई भाँड्न तीन प्रकारका पात्र र प्रवृत्तिहरूले कम कसरत गरेनन् । राजनीति देश र जनताको लागि भन्दा व्यक्तिगत निहित स्वार्थपूर्ति गर्ने हत्कण्डाको रूपमा बुझ्ने दुवै पार्टीका केही नेताहरूले एकीकरणबाट आफ्नो पद र प्रतिष्ठा गुम्ला भन्ने भयबाट अभिप्रेरित भई एकताविरोधी भूमिका खेलिरहेका थिए ।

पार्टीको नेतासँग अनुचित सम्बन्ध राखी पार्टीको नाम भजाएर अकुत सम्पत्ति आर्जन गरिरहेका दुवै पार्टीका भ्रष्ट र समाजविरोधी तत्त्वहरू पनि एकीकरणपछि आफ्नो गाँस खोसिने भयबाट एकीकरण प्रक्रियामा अवरोध खडा गर्न कम्मर कसेर लागिपरेका थिए । यी पहिलो र दोस्रो पात्र र प्रवृत्तिभन्दा एकता असफल बनाउन सबभन्दा खतरनाक खेल अस्थिरता र वितण्डतावादी बाह्य शक्तिहरू र उनीहरूका लागि कार्य गरिरहेका दुई पार्टीका नेताहरूले भूमिका खेलेका  थिए । 

दुवै पार्टीभित्र राम्ररी चलखेल गर्न सक्ने बाह्य अस्थिरतावादी शक्तिहरू जुनसुकै हत्कण्डा प्रयोग गरेर भएपनि पार्टीगत एकता हुन नदिने कसरत गरिरहेका थिए । दुई पार्टीबीच एकीकरण हुँदा राजनीतिक स्थिरता हुने जुन परिस्थितिमा आफ्नो चलखेल प्रभावकारी नहुने मूल्याङ्कनका साथ उनीहरू क्रियाशील थिए । तर यी तीनवटै पात्र र प्रवृत्तिका दुष्प्रयासहरू सफल हुन नसक्नुको प्रमुख कारण राष्ट्रिय परिस्थिति र दुवै पार्टीका इमान्दार कार्यकर्ता, शुभचिन्तक, समर्थक र आम जनता एकताको पक्षमा दृढतापूर्वक उभिनु नै थियो । एकताको पक्षमा सशक्त दबाब भएपनि ओली र प्रचण्ड तयार नहुँदा यो एकता सम्भव थिएन । परिस्थितिको पदचापलाई बुझेर यी दुई नेताले एकताको पक्षमा गरेको निर्णय ऐतिहासिक नै भयो । 

असन्तुष्टिको सम्बोधन

यी दुई पार्टीबीच एकीकरण हुँदा एकताविरोधीको पराजय र एकता पक्षपातीको विजय भएपनि एकतालाई संस्थागत गर्ने प्रक्रियामा गम्भीर चुनौतीहरू देखापरेका छन् । दुवै पार्टीका केही नेताहरू एकीकरण प्रक्रिया त्रुटिपूर्ण र स्वेच्छाचारी भएको तर्कलाई अघि सारेर विरोध गरिरहेका छन् ।

यो नवगठित पार्टीको केन्द्रीय नेतृत्वमा पुग्न दुवै पार्टीका नेताहरूले गरेको अस्वस्थ प्रतिस्पर्धाबाट पद प्राप्त हुँदा चुप लागेर बस्ने, नपाउँदा चर्को विरोध गर्ने सम्भावना देखिन्छन् । दुवै पार्टीका नेताहरूको चित्त बुझाउन र व्यवस्थित गर्न निकै कठिनाइ हुँदै गएको छ । चार सय ४१ जनाको केन्द्रीय समिति बनाउँदा पनि भाग नपुग्नु यसको ज्वलन्त उदाहरण हो । यसरी भुसको आगोझैं भित्रभित्रै सल्किरहेको असन्तुष्टिले पार्टी एकीकरणको गति र प्रभावमा प्रतिकूल असर पर्ने सम्भावना बढेको छ । 

सबभन्दा बढी चुनौती बाह्य शक्ति

यो पुनर्गठित पार्टीका लागि सबभन्दा बढी चुनौती बाह्य अस्थिरतावादी शक्ति बन्ने परिदृश्यहरू देखिन थालेका छन् । बाह्य अस्थिरतावादी शक्तिहरूद्वारा परिचालित नेताहरू दुवै पार्टीमा उल्लेखनीय संख्यामा छन् । जातीयवादी, क्षेत्रीयवादी र क्रान्तिकारी आवरणमा बाह्य शक्तिको डिजाइन र निर्देशनअनुसार क्रियाशील केही नेताहरू पार्टीगत एकीकरणलाई संस्थागत हुन नदिन लागिपरेका संकेतहरू देखिनथालेका छन् । प्रमुख नेतृत्व (ओली र प्रचण्ड) लाई घेराबन्दी गरेर बसेका यिनीहरू कम प्रभावशाली छैनन् । उनीहरूको सञ्जाल केन्द्रीय तहदेखि तल्लो तहसम्म छ । यस्ता केही जातिवादी नेताहरू पार्टी एकीकरण प्रक्रियाको खुल्ला विरोध गर्दै अलग पार्टी बनाई बाहिरबाट प्रहार गर्न लागि परेका छन् भने केही जातिवादी नेताहरू पार्टीभित्रै रहेर अन्तर्ध्वंस गर्ने दुष्प्रयास गरिरहेका छन् । बाह्य शक्तिको चलखेल पार्टी एकीकरणलाई संस्थागत गर्न निकै चुनौतीपूर्ण हुने देखिन्छ । 

साना कम्युनिस्ट नै असन्तुष्ट

यी दुई पार्टी (एमाले–माओवादी) बीचको एकताप्रति अन्य कम्युनिस्ट पार्टीहरूको प्रतिक्रिया नकारात्मक रहेको छ । यो पुनर्गठित पार्टीबाट आफ्नो राजनीतिक भविष्य समाप्त हुने भयबाट उनीहरू त्रसित हुँदै गएका छन् । यस क्रममा माओवादी पार्टी विभाजन भई बनेका मोहन वैद्य र विप्लव नेतृत्वका पार्टीहरू बढी आक्रामक देखिएका छन् ।

पुनर्गठित पार्टीविरुद्ध संगठित रूपमा अभियान चलाउने अभिव्यक्ति उनीहरूले दिइरहेका छन् । यसबाट पुनर्गठित कम्युनिस्ट पार्टी र अन्य कम्युनिस्ट पार्टीबीचको अन्तर्विरोध बढ्ने, त्यो अन्तर्विरोधलाई देशी, विदेशी कम्युनिस्टविरोधी शक्तिले प्रयोग गर्ने सम्भावना पनि बढ्दै गएको छ । पुनर्गठित पार्टी नेतृत्वलाई अन्य कम्युनिस्ट पार्टीसँगको अन्तर्विरोध हल गर्न त्यति सहज छैन । 

चुनौतीहरूको सामना

दुई पार्टीबीचको एकीकरणलाई संस्थागत गर्ने प्रक्रियामा यस्ता गम्भीर चुनौतीहरू छन् । ती चुनौतीहरूको सामना गर्दै एकतालाई दिगो, टिकाउ र प्रभावकारी बनाउन एकता पक्षधर नेता कार्यकर्ताले व्यक्तिलाई स्वार्थ र गुटगत स्वार्थबाट माथि उठाउनु आवश्यक हुन्छ । व्यक्तिगत स्वार्थ र गुटगत स्वार्थमा लामो समयदेखि अभ्यसरत नेता कार्यकर्ताले सहज रूपमा आफूलाई परिवर्तन गर्न निकै गाह्रो छ ।

पार्टी एकीकरणको प्रक्रियामा र एकीकरण भइसकेपछि आफूलाई एकता पक्षधर भन्नेहरूले नै गुटगत स्वार्थलाई बढी प्राथमिकता दिएको घटनाक्रमबाट पनि यही कुराको पुष्टि हुन्छ । तर आम कार्यकर्ता, शुभचिन्तक र समर्थक मात्र होइन, आम जनता पनि एकताको पक्षमा उभिएको स्थितिमा चुनौती र प्रतिकूलतालाई चिर्दै एकीकरणलाई संस्थागत गर्न सकिने पर्याप्त आधारहरू छन् ।

(लेखक वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ ।)
 

जेठ ९, २०७५ मा प्रकाशित

बोर्णबहादुर कार्की

कार्की वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस