विवादपछि द्रुतमार्गको खोकना ‘जिरो किलो’ फेरिँदै, तेस्रो विकल्पमा सहमति

जेठ ११, २०७५

–नारायण न्यौपाने /रासस 

खोकना, ललितपुर, ११ जेठ- राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुत राजमार्गको खोकनास्थित यसअघि प्रस्तावित प्रस्थानविन्दु फेरिने संकेत देखिएको छ । 

स्थानीयवासीबाट सम्बोधन नै गर्न नसकिने मुआब्जा माग, तीव्र राजनीतीकरण र पुरातात्विक सम्पदाका कारण प्रस्थानविन्दुबारे लामो विवाद भएपछि तेस्रो विकल्पमा सहमति भएको हो । 

एशियाली विकास बैंकले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा राजमार्गका लागि रेखांकन गरिएको क्षेत्रमा सिकाली मन्दिर र कुदेशजस्ता पुरातात्विक सम्पदा परेपछि स्थानीय जनताबाट विरोध भएको थियो । विरोधपछि दोस्रो विकल्पका रुपमा नेपाली सेनाले सिकाली र कुदेश क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा राजमार्गका लागि पुनःरेखाङ्कन गरी मन्दिर र कुदेशलाई संरक्षण गर्ने विकल्प प्रस्तुत गरे पनि मुआब्जा विवाद भने कायमै थियो । 

स्थानीय जनताको मुआब्जासम्बन्धी विवाद नसुल्झेपछि सेनाले तेस्रो विकल्पका रुपमा खोकनाबाट झण्डै पाँच किमी दक्षिणपूर्व बुङ्मतीको फर्सीडोलमा प्रस्थानविन्दुको अध्ययन ग¥यो । त्यहाँ दु्रतमार्गको ‘जिरो’ विन्दु बनाउन स्थानीय जनता, जनप्रतिनिधि र आयोजना कार्यान्वयनको जिम्मेवारीमा रहेको नेपाली सेनाबीच प्रारम्भिक सहमति भएको छ । सरकारले भने त्यसलाई अनुमोदन गर्न बाँकी छ । फर्सीडोल ललितपुर महानगरपालिकाको २२ नं वडामा पर्छ । फर्सीडोलमा प्रस्थानविन्दु बनाउँदा बस्तीहरु कम पर्ने र राजमार्गको लम्बाइसमेत छोटो हुने देखिएको छ । 

नेकपाकी नेत्री पम्फा भुसालले ऐतिहासिक गाउँबस्ती पर्ने भएकाले खोकनाबाट नभई फर्सीडोलमा नै दु्रतमार्गको प्रस्थानविन्दु बनाउँदा वैज्ञानिक हुनेमा स्थानीयवासी र जनप्रतिनिधिबीच सहमति भएको जानकारी दिइन्  । 


सरकारले गत साउनमा मुलुकको आर्थिक विकासका लागि मेरुदण्डका रुपमा हेरिएको ७६ किमीको दु्रत राजमार्ग चार वर्षभित्र पूरा गर्ने गरी नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको थियो । उक्त राजमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउन बाँकी रहे पनि करीब रु एक खर्ब १६ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

रक्षामन्त्री ईश्वर पोखरेलले खोकना र बुङ्मती क्षेत्रको आज स्थलगत भ्रमण गरी जनतासँग छलफल गरेर दु्रतमार्ग प्रस्थानविन्दु र रेखाङ्कनबारे प्रतिनिधिमूलक सुझाव दिन आग्रह गरे  । 


सो अवसरमा केही खोकनावासीले भने औचित्यपूर्ण मुआब्जाको मागलाई सम्बोधन गर्न तथा अधिकांशले मुआब्जा लिएकाले दु्रतमार्गको रेखाङ्कन नफेर्न आग्रह गरे । 

आयोजना प्रमुख उपरथी योगेन्द्र खाँडले खोकनामा दु्रतमार्गको अतिरिक्त बाहिरी चक्रपथ, १३२ केभी प्रसारण लाइनजस्ता आयोजनाले आफूहरु प्रभावित र विस्थापित हुन्छौँ भन्ने स्थानीय जनताको भनाइका कारण विकल्प खोज्ने क्रममा फर्सीडोलको सम्भाव्य अध्ययन भएको बताए  । 

जेठ ११, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस